स्वच्छ छवि भएका स्वचालित जेनजी समूहका युवाशक्तिलाई फोहोरी खेलमा समावेश नगरौँ । जेनजीहरुले पनि संयमित भएर मात्र कार्य गर्न आवश्यक देखिन्छ । ‘मियोविनाको दाइँ’ भनेझैँ नेतृत्वविनाको गन्तव्य आफैँमा घातक हुन्छ । यसको फाइदा तिनै स्वार्थी, लोभी, पापी र ऐस–आराममा लिप्त भएका ब्वाँसाहरुले लिनेछन् । त्यसैले सावधान ! निर्णय गर्दा संवेदनशील भएर मात्र अगाडि बढ्नुहोला । कुनै धर्म, वंश, राजनीतिक दल, सामाजिक, धार्मिक अभियन्ता कसैमा पनि विश्वास नगर्नुहोला । यी सबै फोहोरी खेलका स्वार्थी खेलाडी हुन् । स्वस्फूर्तरुपमा आह्वान गरौँ । को के कति कारणले योग्य छ÷छैन, छिटो छलफल गरौँ । सत्य, कर्तव्यनिष्ठ, इमानदार र स्वच्छ छवि भएका सबैलाई लिस्टिङ गरी, केही राष्ट्रियताका प्रश्नपत्र बनाएर लिखित परीक्षा लिई त्यसको आधारमा राष्ट्रपतिलगायत सबैको छनौट गरौँ । होइन भने यी सबै स्यालहरु भोलि शेर हुँ भन्ने सम्झेर तिमी हामी सबैलाई नजरबन्द गराई महिला र युवाले केही गर्न सक्दैनन् भन्नेछन् ।
शरीरबाट प्राण ननिस्कँदासम्म म नै कुर्सीमा रहनुपर्छ, म भइनँ भने मेरो शाखा सन्तानले मात्र राज गर्न पाउनुपर्छ भन्ने नीतिको निर्माण गरी हाम्रा सन्तानलाई दलित, अशक्त र अपांग बनाउनेछन् । कुनै पनि बन्धन जुन महिला, बालबालिका र युवालाई अयोग्य बनाउने र पोथीले बास्नुहुँदैन अर्थात् महिलाले नेतृत्व गर्नुहुँदैन, युवाहरुले जान्दैनौ भन्ने मानसिकताले गरिब र दलित बनाएर तिमीहरुले छुनुहुँदैन भनी पन्छाउने षड्यन्त्र गरेर वि.सं. २०३६ भन्दा पनि पछि धकेल्ने कार्यबाट सजगता अपनाउनुपर्छ । मलाई कसैप्रति पनि विश्वास छैन । म यो देशको एउटा नागरिक भएका कारण सत्यताको विजय, नेपाल धर्ती आमाको सुरक्षा र ती आमाका सबै सन्तानले पेटभरि खान, शरीरभरि ढाक्ने लुगा लगाउन, ज्ञान प्राप्तिका निम्ति शान्तिपूर्वक विद्या आजर्नको वातावरण अनि ओत लाग्नका निम्ति सबैलाई छानो र स्वस्थ जीवन जिउन स्वच्छ वातावरण बनोस् भन्ने चाहन्छु ।
हामी कुनै वर्ग, वंश, दलको आधिपत्यमा परेर दासी बन्नुहुँदैन । तथापि हामीले पनि स्वतन्त्रताको अपमान गरी छाडातन्त्र अवलम्बन गर्नुहुँदैन । सबैले कर्तव्य, जिम्मेवारी र अधिकारको वास्तविकतालाई बुझेर कार्यान्वयन गर्नुपर्छ । हामीसँग पर्याप्त अन्न छैन भने जे–जति छ सबैले बाँडेर खाऔँ । कोही पनि भोको, नाङ्गो नबस्ने समाजको परिकल्पना हामी सबैले अन्तरमनले गरौँ । सोही बमोजिम कार्यान्वयन गरौँ । त्यसपछि अवश्य पनि यी अराजकता र अनुशासनहीन कार्य कहिल्यै हुनेछैन । सत्तामा रहेकाहरु र सत्ता चलाउन सक्छु, म योग्य छु भन्नेहरुलाई मेरो पहिलो प्रश्न छ, ‘कुनै ऋण नलिएर, हामीसँग कुनै स्रोत–साधन नभएको बेला हजुरहरुले कसरी राज्यलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्नुहुन्छ ?’ गर्छु भनेर जानेलाई पनि ठूलो चुनौती छ । तथापि बुद्धि पु¥याएर गरियो भने चुनौतीलाई अवसरमा बदल्न सकिन्छ ।
अर्थशास्त्रको एउटा सिद्धान्तले भन्छ कि ‘हाइ रिस्क, हाइ गेन’ अर्थात् जसले अति संवेदनशील अवस्थामा उत्पन्न उच्च चुनौतीलाई स्वीकारेर संयमित भई सद्बुद्धिले निश्चित समयमा कार्यान्वयन सम्पन्न गर्छ, तत्पश्चात् चुनौती अवसरमा परिणत भई उच्च सफलता प्राप्ति हुन्छ । अर्थशास्त्रले अर्थतन्त्रको सुदृढीकरणको मार्गनिर्देश गरिरहेको हुन्छ । यद्यपि हामी हाम्रो यो बनेको समूहले आफ्नो काम, कर्तव्य र अधिकार बिर्सिएर निश्चित समयअगावै लोभ, मोह, ईष्र्या र अति महत्वाकांक्षाका कारण कर्म बिर्सिएर कसैले भड्काएको भरमा नै अस्थिरताका कारण म नै नेतृत्वकर्ता हुँ, मैले पाउनुपर्छ भनी अर्को समूह खोल्ने अनि विपरीत भई जाने प्रवृत्तिका कारण कार्यान्वयन रोकिएर गन्तव्यविनाको यात्री भई आजको हाम्रो देश, राष्ट्रको अवस्थाको सिर्जना हुन्छ । साथ दिन्छु भन्नेहरुको निःस्वार्थी भावना स्वार्थमा रुमलिँदा ‘हात्ती आयो हात्ती आयो, फुस्सा’ भन्ने उखानको यथार्थ चरितार्थ हुन्छ । त्यसैले म भन्छु, ‘अति संवेदनशील तर शीघ्र सही निर्णय क्षमता भएका र स्वच्छ छविका कोही हुनुहुन्छ र हजुरलाई सबैले स्वीकार्नुहुन्छ भने आफ्नो नाम आफैँले प्रस्ताव गर्नुस् ।
मेरो बुझाइमा जेनजी कहिल्यै कसैको दबाब, प्रलोभनमा आउनेछैन । यदि कसैको रणनीतिक योजनामा जेनजी समूह प¥यो वा पारियो भने हामीले आफ्नो खुट्टामा आफैँले बन्चरो हान्यौँ भन्दा हुन्छ । हामीलाई हाम्रै सन्तानले मारेर कालकोठरीमा निर्दोष भए पनि बन्धित हुनेछौँ र सूचनाको अधिकार त के, सबै अधिकारबाट वञ्चित भई शून्यता हुनेछौँ । निर्मला पन्तजस्ता थुप्रै आत्माहरु रुनेछन् । २०८२ भदौ २३ गते ओझेल परेका थुप्रै आत्माहरु उद्दण्डित हुनेछन् । अन्याय, अत्याचार, भोकमरी, खडेरीलगायत सबै कष्टले थिचेर ऋणको भारीले च्याप्नेछ ।
त्यसैले सबै सचेत भई यी सबैबाट मुक्त भएर अगाडि बढ्न स्वच्छ, स्वतन्त्र र अनुभवी छवि भएको जेनजी समूहको निगरानीमा रहिरहने नेतृत्व छनौटमा सबै लागौँ । कोही कसैको स्मरणमा त्यस्तो व्यक्तिको नाम आएमा सार्वजनिक मिडियामा नाम सार्वजनिक गरी सम्बन्धितसँग सम्पर्क गर्नुहोला । मेरो झुकाव कोही कसैसँग छैन । म माया गर्छु भन्नेहरुको भीडमा एक्लो यात्री हुँ । एक्लै हिँड्न डराउँदिनँ । सत्य मर्नुहुँदैन, अज्ञानले गरेको भूल स्वीकार्नुपर्छ र सत्य स्थापित हुनुपर्छ । मनमा स्थिरता र शान्ति स्थापना हुनुपर्छ । तेरो र मेरो भन्ने भाव मेटिनुपर्छ । अगाडि हजुर त भगवान् भन्ने अनि पछाडिबाट तीर चलाएर मार्ने संस्कारको अन्त्य हुनुपर्छ । दण्ड–सजाय दिने हजुर हामी कोही होइनौँ, परमात्मा स्वयंले सबैका खाता खोल्नुहुन्छ ।
त्यसैले पालोको पर्खाइमा बसौँ, सबैको पालो आउँछ । धैर्यधारण गरौँ, सकिन्छ भने कर्मयोगी बनौँ । सत्मार्ग, सत्कर्म, सद्भक्ति र सद्बुद्धिमा लागौँ । स्वार्थ त्यागेर कर्म गरौँ । कर्म गर्नेहरूलाई कर्म गर्ने वातावरण बनाइदिऔँ । सकिन्छ भने नेतृत्व गरौँ, सकिन्न भने गर्छु भनेर अगाडि बढेकालाई साथ–सहयोग गरौँ । अरुले बनाएको मादललाई ठोक्ने मात्रै होइन, आफैँले मादल बनाउने कला पनि सिक्दै गरौँ । आवश्यक पर्दा काम आउँछ । जेनजीको रगतको होली खेलेर सत्ता हडप्ने सपना कसैले पनि नदेखौँ । एउटी निर्दोष आमालाई सोध– अबोध बालकलाई जन्माउँदा आफू मरेको पीडा, सोध– बलात्कृत भई अकालमा ज्यान गुमाएकी एउटी अबोध बालिकाको आत्माको पीडा अनि ती आमाको चित्कार । जसलाई अभिभावक भनेर छनौट गरिन्छ, उसैले आत्मघात गरी तिमीहरुलाई नै बलात्कार गरी बन्दी बनाउला । त्यसैले सबैले होसियार र खबरदारी राख्न जरुरी छ ।











प्रतिक्रिया