जेनेरेसन जेड (जेनजी) ले आयोजना गरेको शान्तिपूर्ण ¥यालीमा उत्रिएका विद्यार्थीमाथि दमन गरेपछि देशभर हिंसात्मक घटना भयो । मुलुकभर निषेधाज्ञा जारी भएको छ । त्यसको असर देशभरका विद्यालयदेखि विश्वविद्यालयसम्म परेका छन् । मुलुकका सबै शिक्षालय बन्द भएका छन् । पाँच दिनदेखि देशैभरका शिक्षालय बन्द भएपछि विद्यार्थीको पठनपाठन ठप्प छ । दोस्रो त्रैमासिक परीक्षा आउनै लाग्दा पठनपाठन ठप्प भएपछि विद्यालय सञ्चालक बिलखबन्धमा छन् । पठनपाठन कहिलेबाट सञ्चालन गर्ने ? भन्ने विषयमा छलफल गरिरहेका छन् तर शिक्षालय खोल्न सक्ने वातावरण छैन ।
तथ्याङ्कअनुसार विद्यालयदेखि विश्वविद्यालयसम्म देशभरमा करिब ४० हजार शिक्षालय छन् । ती शिक्षालयमा करिब ८० लाख विद्यार्थी अध्ययनरत छन् । सोमबारको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्दा ३० जनाको मृत्यु भएको छ । तीमध्ये अधिकांश प्लस टु र क्याम्पस लेभलका विद्यार्थी छन् । आन्दोलनको क्रममा १ हजार बढी घाइते भएका छन् । जेनजी–आन्दोलन थेग्न नसकेपछि मंगलबारबाट मुलुकमा सेना परिचालन भएका छन् । शुरुका दिनमा निषेधाज्ञाको कारण देश पूरै ठप्प थियो । अब अवस्था बिस्तारै सामान्यीकरण भइरहेको छ तर अझै पठनपाठन सुचारु गराउन सक्ने अवस्था भने छैन ।
बन्दले सबैभन्दा बढी प्रभाव विद्यार्थीमा परेको छ । शिक्षा मन्त्रालय कहिलेबाट विद्यालय खोल्ने भन्ने अन्योलमा छ । उता त्रिभुवन विश्वविद्यालयले छठसम्म बिदा दिएको छ । अन्य विश्वविद्यालय पनि बिदा दिने तयारीमा छन् । राष्ट्रिय परीक्षा बोर्डले २८ गतेबाट शुरु हुने कक्षा १२ को पूरक परीक्षा स्थथित गरेको अवस्था छ । गएको सोमबार त्रिविले शुरु गरेको बीबीएसको परीक्षासमेत स्थगित गरिसकेको छ । विश्वविद्यालयमा त खासै समस्या नहोला तर विद्यालय तहको पठनपाठन ठप्प हँुदा विद्यार्थीलाई मानसिक असर पर्न सक्छ । निषेधाज्ञालाई बिस्तारै खुकुलो पारेर कम समय भए पनि विद्यालय खोल्नुपर्छ । परीक्षा सञ्चालन गर्नकै लागि भए पनि विद्यालय खोल्नु उपयुक्त हुन्छ । प्याब्सन, एन प्याब्सन, हिसान, अभिभावक महासंघलगायत संघसंस्थाले विद्यालय खुला गर्न पहल गर्नुपर्ने बताएका छन् । अधिकांस विद्यालय सञ्चालकले समेत विद्यालय खोल्ने विषयमा शिक्षा मन्त्रालयले पहल गर्नुपर्ने बताएका छन् ।
स्थानीय तहले आफ्नो क्षेत्रको अवस्था हरेर विद्यालय खुला गर्ने वातावरण बनाउनुपर्छ । यदि चाँडो खुला गरिएन भने नेपालीहरुको महान् चाड दशैँमा झन्डै १५ दिन विद्यालय बन्द हुन्छ । अधिकांश निजी विद्यालयले दशैँ, तिहार र छठ पर्वसम्म लामो बिदा दिने गरेका छन् । त्यसैले पनि दशैँअगाडि तुरुन्तै विद्यालय खुलाउनु जरुरी छ । जेनजी आन्दोलनकारीले शिक्षा क्षेत्रमा खासै क्षति गरेका छैनन् । एकाधबाहेक अधिकांश विद्यालयमा भौतिक सम्पत्तिका क्षति भएको छैन । यस्तो अवस्थामा सुरक्षा निकायसँग समन्वय गरी दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्न र लामो बिदामा गृहकार्य दिनकै लागि पनि विद्यालय खोल्नु जरुरी छ । हुन त केही विद्यालयले आइतबारबाट विद्यालय खोलेर २ गतेबाट परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । त्यसको लागि सम्बन्धित निकायले ठोस पहल गर्नु आवश्यक छ । अन्यथा लामो समयसम्म विद्यालय बन्द हँुदा सरकार र निजी क्षेत्रलाई ठूलो असर पर्नेछ ।











प्रतिक्रिया