काठमाडौं।
जेन–जी आन्दोलनसँगै शुरू भएको देशव्यापी अशान्ति र हिंसात्मक घटनाबीच देशभरका जेलहरू आक्रमणमा परेपछि कैदीहरू ठूलो संख्यामा फरार भएका छन् ।
प्रारम्भिक विवरणअनुसार मुलुकका विभिन्न २३ जिल्लामा भएका जेल ब्रेकका घटनामा दर्जनौंको कैदीको मृत्यु भएको छ भने १३० भन्दा बढी कैदी घाइते भएका छन् । सोही क्रममा करिब ५ हजार कैदी फरार भएको अनुमान गरिएको छ ।
मंगलवार र बुधबार एकपछि अर्को जेलमा भएको आक्रमणका कारण मुलुकको कानुन र सुरक्षा संयन्त्रमा गम्भीर संकट आएको छ । फरार भएका कैदीमध्ये कति जना संगठित अपराधमा संलग्न छन्, कति जना सामान्य मुद्दाका कैदी हुन् भन्ने विषय अझै पुष्टि हुन सकेको छैन ।
तर, सुरक्षा निकायलाई बुझाइएका विवरणअनुसार करिब ४० प्रतिशत कैदी गम्भीर आपराधिक अभियोगमा जेल सजाय भोगिरहेका थिए । उनीहरूको पुनः समाजमा फरार हुनु आम नागरिकको सुरक्षा र शान्तिसँग जोडिएको ठूलो चुनौती बनेको छ ।
उपत्यकामा डिल्लीबजार, नक्खु र भक्तपुर कारागारमा जेल ब्रेक भएको छ । तीमध्ये डिल्लीबजार जेलमा सुरक्षाकर्मीको गोली लागेर केही कैदीको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । नक्खुमा ५ जना मारिएका र ११ जना घाइते भएका छन् । भक्तपुरमा भने दर्जनौँ कैदी फरार भए पनि मृत्यु भएको समाचार आएको छैन ।
जनकपुर कारागारमा भीड नियन्त्रणका क्रममा सेनाले गोली चलाउँदा ५ कैदीको मृत्यु भएको छ भने ३५ भन्दा बढी घाइते भएका छन् । सिरहा कारागारमा ५ कैदीको मृत्यु भएको र २० जना घाइते भएको पुष्टि भएको छ ।
तराईका जेलहरूमा आन्दोलनकारी भीड र कैदीबीचको मिलेमतोका कारण ठूलो संख्यामा कैदी फरार भएका छन् । पश्चिम नवलपरासीको परासी कारागारबाट मात्र ५ सयभन्दा बढी कैदी फरार भएका छन् । रूपन्देहीमा करिब ३ सय ५०, सर्लाहीमा २ सय ८०, महोत्तरीमा २ सय ६० र धनुषामा ३ सय कैदी फरार भएको प्रारम्भिक जानकारी छ ।
पहाडी जिल्लाका जेल पनि सुरक्षित रहन सकेनन् । गोरखा, धादिङ, लमजुङ, मकवानपुर र चितवनमा जेल ब्रेक प्रयास भएका छन् । चितवनको भरतपुर कारागारमा भीड नियन्त्रण गर्ने क्रममा ६ कैदीको मृत्यु भएको छ । मकवानपुरमा ३ र धादिङमा २ कैदी मारिएको खबर आएको छ ।
जेल ब्रेकको योजनाबद्ध प्रकृतिले सुरक्षा निकायभित्रकै संलग्नता वा कमजोरीको आशंका बलियो बनाएको छ । कतिपय स्थानमा प्रहरी र जेल प्रशासन आक्रमणको बेला तुरुन्तै पराजित भएको देखिएको छ ।
फरार कैदीको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई व्यापक रूपमा परिचालन गरिएको छ । सीमावर्ती नाका बन्द गर्ने तयारी गरेको छ भने भारत र चीनलाई औपचारिक जानकारी दिइएको छ ।
तर, आन्दोलनकै उथलपुथलबीच फरार कैदी पत्ता लगाउने चुनौती निकै गाह्रो हुने सुरक्षाविद्हरूको भनाइ छ । सामान्य अपराधीमात्र नभई, ठूला अपराधमा संलग्न अपराधी पनि जेलबाट भागेका छन् । यो परिस्थिति नियन्त्रण बाहिर जान सक्ने सुरक्षा अधिकारीहरूले अनुमान गरेका छन् ।
कैदी फरार भएपछि मुलुकभर असुरक्षाको वातावरण बढेको छ । व्यापारी, व्यवसायी र सर्वसाधारणले राति सडकमा निस्कन डराउन थालेका छन् । काठमाडौंलगायतका प्रमुख सहरमा पसलहरू बेलुका ६ बजेदेखि नै बन्द हुन थालेका छन् ।
नागरिक समाज र कानुनविद्हरूले मुलुकमा विद्यमान कानुनी शासनको अस्तित्वमै प्रश्न उठ्ने अवस्था आएको टिप्पणी गरेका छन् । वरिष्ठ कानुनविद् केशवराज बरालले भन्नुभयो– ‘जेल ब्रेकजस्ता घटनाले राज्यको क्षमता र दण्डहीनताको संस्कृतिलाई झल्काउँछ । यसको दीर्घकालीन असर निकै खतरनाक हुन्छ ।’
जेल ब्रेकसँगै जेनजी आन्दोलनले ल्याएको संकट अझ गहिरिँदै गएको छ । मुलुकमा नयाँ सरकार गठन गर्ने प्रक्रियासमेत अवरुद्ध छ । दलहरूबीच सहमति हुन नसकेपछि राष्ट्रपति र सुरक्षासंस्थाको भूमिकाबारे बहस शुरू भएको छ । राजनीतिक अस्थिरतासँगै सुरक्षा संकट थपिँदा मुलुक ‘द्वन्द्व र अराजकता’तर्फ धकेलिने खतरा देखिएको छ ।
जेल ब्रेकको शृंखला सामान्य घटना नभई योजनाबद्ध षड्यन्त्रका रूपमा हेर्नुपर्ने आवाज बलियो बन्दै गएको छ । मुलुकमा तत्काल कानुनको शासन पुनःस्थापना गर्न नसकिए आन्दोलनको लहर र कैदीको फरार दुवै मिलेर अझ ठूलो राष्ट्रिय संकट निम्त्याउन सक्ने विश्लेषकहरूको चेतावनी दिएका छन् ।











प्रतिक्रिया