
सात वर्षअघि २०७५ सालमा चीनको ल्हासा भ्रमण गर्ने अवसर मिलेको थियो । १० जना पत्रकार थियौँ हामी । त्यो बेला ल्हासाको खुला थिएटरमा एउटा ऐतिहासिक नाटक हेर्ने अवसर जु¥यो । तिब्बती शासक स्रङचङ गम्पोसँग सम्बन्धी नाटक थियो त्यो, जहाँ नेपाली चेली ‘भृकुटी’ पनि जोडिएकी छन् ।
त्यो नाटक हेर्दा मैले प्राचीन दोलखा शहरमा विजया दशमी टीकाको भोलिपल्ट प्रदर्शन गरिने ‘खड्गेजात्रा’लाई सम्झिएको थिएँ । ‘खड्गेजात्रा’ दोलखा राज्यको कथा हो । ल्हासामा हेरिएको नाटक तिब्बत शासकको कथा हो । दुवै ऐतिहासिक तथ्यमा आधारित रोचक कथाको प्रस्तुति हो । यी दुवै कथाले नयाँ पुस्तालाई पौराणिक तथ्यको खोजीमा सहयोग पु¥याउने हुन्छ । त्यसैले यी दुवै महत्वपूर्ण छन् ।
अहिले हामी (नेपाली) चीनसँगको मित्रवत् कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरिरहेका छौँ । नेपालको लागि चिनियाँ दूतावासले केही समयअघि कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा ‘रङ्गीन चीन’ नाम दिएर नेपाल र चीनबीचका सांस्कृतिक सम्बन्धहरुको विषयमा सांस्कृतिक प्रदर्शन गरेको थियो । यस्ता सांस्कृतिक प्रदर्शन, बहस र छलफल विभिन्न तहमा भइरहेका छन् । यसले नेपाल–चीन सम्बन्धलाई राजनीतिको आँखाले हेर्ने विषय मात्र बनेको छैन, सांस्कृतिक आत्मीयताको निकटताले समेत अनुभूत गरिरहेको छ ।
नेपाल–चीनबीच विकसित सम्बन्धका सांस्कृतिक आयामहरुमा म अहिले प्राचीन दोलखा शहरसँगको तथ्यगत किंवदन्तिहरु पहिल्याउने कोशिश गरिरहेको छु, जसले नेपाल–चीन सम्बन्धलाई जनस्तरबाटै आत्मीयताको धरोमा उधिनेको छ ।
यो सम्बन्धको धरो प्राचीन दोलखा शहर हुँदै तिब्बततिर तन्किएको ‘सिल्क रोड’ (रेशम मार्ग) बाट बनेको देखिन्छ । ऐतिहासिक तथ्यलाई अध्ययन गर्दा लिच्छवि शासन कालमा प्राचीन दोलखा शहर केन्द्र भएर पाटनतिरबाट र भारतीय वस्तु सिन्धुलीबाट तिब्बत (भोट) मा व्यापार हुने गरेको थियो । त्यसैले प्राचीन दोलखा शहर केन्द्र भएर ‘सिल्क रोड’ तिब्बततिर तन्किएको तथ्यलाई हामीले नजरअन्दाज गर्न सक्दैनौँ ।
‘सिल्क रोड’ प्राचीन दोलखा शहर केन्द्र हुँदै अघि बढेको कुरालाई पुष्टि गर्ने आधार प्रसिद्ध भीमेश्वर मन्दिर पनि हो । ऐतिहासिक किंवदन्तिमा केही भरियाहरुले खाना पकाउँदा भीमेश्वरको शिलासँगै अर्को दुई ढुङ्गा राखेर त्रिकोणाकार चुल्हो बनाएको र भीमेश्वरको शिला भएको पट्टि हरेकपटक खाना पोखिने भएपछि ती भरियाहरुमध्येका एकले रिसको झोकमा उक्त शिलामा पन्युले प्रहार गर्दा रगत आएको भनिएको छ । अहिले त्यही शिला, भीमेश्वर एक शिला सहस्र अवतारको रुपमा विश्वप्रसिद्ध बनेको छ ।
यो किंवदन्तिलाई विश्लेषण गर्दा भरियाहरु प्राचीन दोलखा शहरको बाटो हुँदै कता हिँडेका थिए ? भन्ने प्रश्न उठ्छ । यसको जवाफ तिब्बततिर व्यापारको लागि हिँडेको भन्ने नै हुन्छ । त्यसैले प्राचीन दोलखा शहर केन्द्र भएर ‘सिल्क रोड’ तिब्बतसम्म तन्किएको कुरामा कुनै द्विविधा हुनुपर्ने अवस्था छैन ।
प्राचीन शहर दोलखा–तिब्बत सम्बन्ध ‘सिल्क रोड’को प्रवेश नाकासँग मात्र सम्बन्धित छैन । यो त धार्मिक, सांस्कृतिक र पारिवारिक तहसम्म विस्तार भएको ऐतिहासिक तथ्यहरुले सङ्केत गरेका छन् ।
प्राचीन दोलखा शहरका एकजना अग्रज हुनुहुन्छ शान्तकृष्ण श्रेष्ठ । नाताले उहाँ मेरो मीत मामा पर्नुहुन्छ । इतिहासका अध्यता शान्तकृष्ण श्रेष्ठले प्राचीन शहर दोलखा–तिब्बत सम्बन्धको विषयमा धेरै कोणबाट अध्ययन गर्नुभएको छ ।
उहाँको अध्ययनमा प्राचीन दोलखा शहरको नामाकरण नै तिब्बती भाषाबाट भएको हो । तिब्बती भाषाको ‘दोल्हाखा’ (दोलखिउ) बाट ‘दाल्खा’ हुँदै ‘दोलखा’ भएको ऐतिहासिक तथ्यहरुले देखाउने शान्तकृष्ण श्रेष्ठको भनाइ छ । तिब्बती भाषामा ‘दो’को अर्थ ढुङ्गा र ‘ल्हाखा’को अर्थ देवता वा देवस्थान भन्ने हुन्छ । यसरी हेर्दा ढुङ्गा अर्थात् शिलाको देवता (भीमेश्वर) रहेको स्थानकै कारण तिब्बतीहरुले दोल्हाखा (दाल्खा–दोलखा) नामाकरण गरिदिएका हुन् ।
इतिहासका अध्येता दोलखाका अग्रज स्थानीय शान्तकृष्ण श्रेष्ठको भनाइमा चोभारको डाँडा काटेर काठमाडौँमा बस्ती बसाल्ने श्रेय पाएका मञ्जुश्री तिब्बतबाट प्राचीन दोलखा शहर हुँदै काठमाडौँ उपत्यका प्रवेश गरेका हुन् । यो क्रममा मञ्जुश्रीले प्राचीन दोलखा शहरमा बस्ती बसालेको शान्तकृष्ण मामाको दाबी छ । त्यसैले काठमाडौँभन्दा पुरानो शहर दोलखा हो ।
उहाँको अध्ययनमा मञ्जुश्रीसँग ‘ङापार’ जातका मानिस पनि आएका थिए । मञ्जुश्रीसँग आएका ‘ङापार’ जाति नै पछि ‘नेवार’ भएको हो ।
प्राचीन शहर दोलखा–तिब्बत सम्बन्धलाई अझ गहिरोसँग विश्लेषण गर्ने आधार तिब्बती शासक स्रङचङ गम्पोकी रानी नेपाली चेली भृकुटी पनि हुन् । शान्तकृष्ण मामाको अध्ययनमा भृकुटी पनि तिब्बती शासक स्रङचङ गम्पोसँग विवाह गरेर प्राचीन दोलखा शहर हुँदै तिब्बत पुगेकी हुन् । केही ऐतिहासिक तथ्यमा भृकुटी कोदारी राजमार्ग (हालको अरनिको राजमार्ग) हुँदै तिब्बत पुगेकी हुन् भन्ने पनि छ ।
लिच्छवि कालीन राजकुमारी भृकुटीलाई अंशुवर्माकी पुत्रीको रुपमा व्याख्या गरिन्छ । केहीले नरेन्द्रदेवको पुत्रीका रुपमा समेत व्याख्या गरेको पाइन्छ । शान्तकृष्ण मामाले प्रश्न उठाउनुभएको छ– प्राचीन शहर दोलखा–तिब्बतको पारिवारिक, सांस्कृतिक सामीप्यता र भृकुटी कसकी पुत्री हुन् भन्ने बहस भइरहँदा कतै भृकुटी दोलखाली पुत्री त हैनन् ? उहाँको यो प्रश्नमा थप अध्ययन आवश्यक छ ।
यदि भृकुटी दोलखाली पुत्री हुन् भने मैले ल्हासामा हेरेको नाटक र प्राचीन दोलखा शहरमा बडादशैँ टीकाको भोलिपल्ट प्रदर्शन गरिने ‘खड्गे जात्रा’ बीच कुनै न कुनै सामाजिक–सांस्कृतिक सामीप्यता वा सहकार्य हुनुपर्छ । त्यसो नभए पनि प्राचीन दोलखा शहरको नामाकरण नै तिब्बती भाषाबाट भएको, व्यापारको सिलसिलामा दोलखा हुँदै (सिल्क रोडको प्रयोगबाट) तिब्बतीहरुसमेत विभिन्न स्थानमा आउजाउ गरेको तथ्यले पनि ल्हासामा हेरेको नाटक र प्राचीन दोलखा शहरमा देखाइने ‘खड्गे जात्रा’ बीचको सम्बन्ध केलाउनु उपयुक्त देखिन्छ ।
शान्तकृष्ण मामाले अर्को एउटा प्रसंग पनि सुनाउनुभयो । काठमाडौँका नेवारहरुले व्यापारको सिलसिलामा तिब्बत पुग्दा ल्हासामा भीमसेनको मन्दिर स्थापना गरेका छन्, जसलाई तिब्बती भाषामा ‘नेचुङ’ भनिन्छ । यो भीमसेन नै हो भन्ने तथ्यगत प्रमाण नभेटिए पनि नेवार समुदायले भीमसेनलाई इष्ट देवताको रुपमा पूजा गर्ने र उनीहरु पुगेका हरेक ठाउँमा भीमसेन मन्दिरको स्थापना गर्ने भएकाले तिब्बतको ‘नेचुङ’ मन्दिर भीमसेन नै हो भन्ने भनाइ सान्दर्भिक लाग्छ ।
यो तथ्यले पनि प्राचीन शहर दोलखा–तिब्बतबीचको सम्बन्धलाई थप आत्मीय बनाएको पाइन्छ । तर नेपाल–चीनबीच कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भइसक्दा पनि प्राचीन दोलखा शहर र चीन (तिब्बत) सँगका सांस्कृतिक, सामाजिक र व्यापारिक सम्बन्धको चर्चा भने भएको सुनिदैन । यो दुःखद विषय हो ।
नेपाल सरकार र चीनसँग सम्बन्धित संघ–संस्थाले अहिलेसम्म प्राचीन शहर दोलखा–चीन (तिब्बत) सम्बन्ध पहिल्याउने तदारुकता देखाएको पाइएको छैन । र, चीनले पनि प्राचीन शहर दोलखा–तिब्बतबीचको सामाजिक, सांस्कृतिक तथा जनस्तरको आत्मीय सम्बन्ध पहिल्याउने कोशिश गरेको पाइँदैन ।
नेपालसँगको कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा चीन सरकारले दुई देशबीचको सामाजिक–सांस्कृतिक सम्बन्ध र जनस्तरको आत्मीय निकटतालाई मुखरीत गर्न ‘रङ्गीन चीन’को नामबाट सांस्कृतिक प्रदर्शन गरिरहेको छ । नेपाल–चीनबीचका राजनीतिक, सामाजिक, सांस्कृतिक सम्बन्धहरुको विषयमा बहस र छलफलहरु गरिरहेको छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक भ्रमणहरु गराइरहेको छ । यस्ता गतिविधिहरुले नेपाल–चीनबीचको सम्बन्धलाई थप निकट, घनिष्ट र आत्मीय बनाउँछ ।
तर यसमा दोलखा च्याप्टर छुटेको छ । चीनको ‘हान वंश’को समयमा विकास भएको ‘सिल्क रोड’ (रेशमी मार्ग) को एउटा महत्वपूर्ण गन्तव्य प्राचीन दोलखा शहर र चीन (तिब्बत) बीचको सम्बन्ध त्यति बेलैबाट अघि बढेको हो । त्यसैले नेपाल–चीनबीचको कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भए पनि जनस्तरको सम्बन्ध भने सदियौँ पुरानो छ, जसको एउटा जग प्राचीन दोलखा शहर पनि हो । अर्थात् सांस्कृतिक ‘रङ्गीन चीन’को परिकल्पनामा महत्वपूर्ण रङ्ग भर्ने प्राचीन दोलखा शहर पनि हो । यो तथ्यलाई कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा बहसको मुख्य विषय बनाएर सांस्कृतिक सामीप्यतालाई अझ कसिलो बनाउन प्रयत्न गर्ने पो हो कि !











प्रतिक्रिया