धनविनाको जीवन कष्टकर हुन्छ । सुविधा सम्पन्न जीवन यापनमा धनको महत्व नभएको होइन, छ । तर एउटा मानिस वा परिवारलाई कति सम्पत्तिको आवश्यकता पर्दछ भन्ने कुनै सिलिङ छैन । लोभी मनको सीमा हुँदैन भनिन्छ । पैसा भनेपछि महादेवका पनि तीन नेत्र भन्ने लोकोक्तिले पनि पैसाको महत्वलाई दर्शाउँछ । पैसाले मनलाई लोभ्याउँछ । पैसाको पछाडिको ऐश, आराम र भौतिक सुविधाले हरेक मानिसलाई आकर्षण गर्नु स्वाभाविक नै ठानिन्छ । तथापि आज मानिसले पैसाको अगाडि नातागोता, इष्टमित्र, साथीभाइ, बन्धुबान्धव, आमाबुबा, दिदीबहिनी, छरछिमेकीलगायत मानव मूल्यलाई समेत त्यागेको छ । समाजमा धन भएपछि सबै कुरा प्राप्त हुन्छ भन्ने मनको विकास भएको पाइन्छ । यस्तो मानसिक चिन्तन अर्थशास्त्रीय दृष्टिकोणमा अनुचित नभए तापनि मानवीय पक्षबाट हेर्दा व्यावहारिक देखिँदैन । धन नै सबै थोक हो भन्ने निष्कर्ष सत्य होइन ।
मानव विकासको सभ्यतामा ढुङ्गे युगदेखि आजको विज्ञान र प्रविधिको युगसम्म आइपुग्दा धेरै परिवर्तन भएको छ । आधुनिक समाजको निर्माणसँगै मानिसका आवश्यकता र चाहनाहरु बढेका छन् । विज्ञान र प्रविधिको विकासले मानिसको जीवनशैली बदलिएको छ । भौतिक सुविधाको म्याराथुनमा समाज गतिशील छ । मानिस धन आर्जन गर्न लालायित छ । जसरी भए पनि धन आर्जन गरी सुविधा सम्पन्न जीवन व्यतीत गर्ने चाहनाले मानिसलाई दौडाएको छ । आधुनिक जीवन शैलीसँग जोडिएका आवश्यकताहरुको उपयोग गर्ने लक्ष्यमा धन आर्जनमा दौडिएको छ । आजको मानिस एकातिर भौतिक सुविधाको उपयोग खातिर धन आर्जनका बाटाहरुको खोजीमा लागेको देखिन्छ भने अर्कोतिर ‘मै खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरुँ’ को सोच र अभ्यासमा मानिसहरु अभ्यस्त भएको देखिन्छ ।
लोभ, लोभ, लोभ ! पैसाको लोभकै कारण मानिसले भ्रष्टाचार गरेको छ । बिचौलिया बनेको छ । तस्करी गरेको छ । दलाल बनेको छ । अरुलाई ठगेको छ । ढाँटेको छ । आत्मसम्मान गुमाएको छ । चेलीबेटी बेचबिखन, सुन तस्करी, मुद्दामामिला आदि गरेको छ । धन आर्जनकै लागि समाजले बर्जित गरेका काम गर्न पनि अगाडि सरेको छ । पैसाकै लागि मुग्लान पसेको छ । अरुको देशमा काम गर्न बसेको छ । रसियामा आर्मी बन्न होस् कि कुवेतमा भाँडा माझ्न होस् । मानिसले पैसाकै लागि घरपरिवार छाडेर परदेशिएको छ । पैसा कमाउनकै लागि दूधमा पानी मिसाएको छ मानिसले । खाद्यान्न उत्पादन गर्दा विषादी हालेको छ । दाल–चामलमा ढुङ्गा मिसाएको छ । घिउमा पिँडालु मिसाएको छ । आफन्तसँग रिसाएको छ । पैसा कमाएपछि मनको तृष्णा मेटिन्छ भन्ने असत्यको मार्गमा आजको मानिस लागिपरेको देखिन्छ । पैसा कमाएपछि जीवनमा सफलता भेटिन्छ, जीवन सुखी हुन्छ भन्ने मनको खेलमा लाग्दा जीवनका अन्य कमाइहरु गुमाएको मानिसले थाहा नै पाउन छाडेको छ ।
कमाइको सम्बन्ध केवल धन कमाउनु मात्र होइन, समाजमा इज्जत, प्रतिष्ठा, संस्कार सुनाम, प्रेम अनि सम्बन्ध पनि कमाउनु हो भन्ने कुरा बिर्सनुहुँदैन । आज समाजमा साधुसन्तहरुको कुरा सुन्ने कोही छैन । अर्ति, उपदेशहरु लिने र अनुशरण गर्नेहरु भेटिँदैनन् । इमानदार मानिसहरु पछाडि परेका छन् । समाजसेवीहरुको कमी हुँदै गएको छ । व्यापारी, बिचौलिया, ठेकेदार र भ्रष्टहरु समाजमा निर्देशक भएका छन् । नेतृत्वकर्ता भएका छन् । राजनीतिकर्मी होस् कि डाक्टर, इन्जियर होस् कि निर्माण व्यवसायी, शासक होस् की प्रशासक, हरेक क्षेत्रमा धन कमाउने मन र बदलिँदो जीवन शैलीको मोह देखिन्छ । मानिसले पैसाकै लागि देह व्यापार गरेको छ । देह व्यापार गराएको छ । पैसाकै कारण सम्बन्ध विच्छेदका प्रकरणहरु यत्रतत्र भेटिन्छन् । किन समाज पैसाको पछाडि अन्धभक्त भएको होला ? किन धनमा मन चोबलेको होला ? के पैसाको लागि गरिने अनेक प्रकारका कर्म र कुकर्महरुले सम्बन्धित व्यक्तिको मन शान्त छ होला त ? अवश्य छैन । मानिसले सबैलाई ढाँटे तापनि आफ्नो मनलाई ढाँट्न सक्दैन भन्ने गरिन्छ । मनलाई ढाट्नेले शान्ति पाउँदैन ।
गौतम बुद्धले मूर्ख आपूmले पनि जान्दैन, अरुलाई पनि मान्दैन, तर्क, शंका, उपहास गरी आफ्नो हात माथि पार्छ, मूर्खको मुर्खता देखेर जब विद्वान् चुप लाग्छ, तब मूर्खले आफूलाई सफल अनि महान् ठान्छ भनेका छन् । अहिले नेपाली समाजमा धन आर्जनको लागि जालसाजी गर्ने मनहरुको अवस्था हेर्दा विवेकले भन्दा मुख्र्याइँ र धुत्र्याइँले काम गरेको पाइन्छ । धन आर्जनका जस्तासुकै बाटाहरु अवलम्बन गर्नेहरुलाई गौतम बुद्घको भाषामा मूर्ख भन्न मिल्छ जस्तो लाग्छ । पैसा मेहनतबाट पनि कमाउन सकिन्छ । पसिना बगाएर पनि आर्जन गर्न सकिन्छ । पैसा कमाउनको लागि असल काम र मेहनत गर्नेहरु महान् हुन् । कर्मयोगी हुन् । तर पैसा आर्जनको लागि जस्तोसुकै कर्म गर्न पनि पछाडि नपर्नेहरु लोभी हुन्, फटाहा हुन् । सोझा, सीधाहरु ठगिएका छन् । मिटर ब्याजमा ऋण दिएर अरुको सम्पत्ति हडप्नेहरुदेखि सहकारीको बेथिति वा मानव तस्करलगायतका कुकर्म गर्नेहरु लोभबाट निर्देशित मान्छे हुन् । विवेकलाई कैद गरेका विवेकहीनहरु हुन् ।
अहिले समाजमा निःस्वार्थ भई जनहितमा काम गर्ने मानिसहरुको हराउँदै गएको अग्रजहरुको गुनासो छ । आफ्नो स्वार्थ सिद्घ गर्नेहरुको बिगबिगी छ ।
समाजका विभिन्न तह र तप्कामा काम गर्ने व्यक्ति वा व्यक्तित्वहरुले पैसाका लागि मात्र काम गरेको हो कि जस्तो लाग्छ । राजनीति, प्रशासन, व्यवसायलगायतका क्षेत्रहरु भ्रष्टाचार र बेथितिको आहालमा डुबेका छन् । पैसाको अगाडि बदनाम हुन पनि पछि नपर्ने व्यक्ति, समाज र देशका निकायहरुको बिगबीगी हुनु भनेको समाज भ्रष्टपथमा जानु हो । हो, धन चाहिन्छ । पैसा कमाउनुपर्दछ । आदर्शले मात्र जीवन चल्दैन । तर धनका लागि सबै जीवनका अन्य महत्वपूर्ण कुराहरु त्याग्नुहुँदैन । जीवनमा धनभन्दा ठूलो सुनाम हो । इज्जत हो । प्रतिष्ठा हो । परिवारजन, इष्टमित्रसँगको सम्बन्ध हो भन्ने कुरा बुझ्नुपर्दछ ।
अध्यात्मिक चिन्तनबाट मनन गर्दा मानिसले अरुबाट लिनुमा भन्दा दिनुमा आनन्द हुन्छ भन्ने छ । तर अहिलेको समाजमा धनका अगाडि आध्यात्मिक चेतनाले काम गरेको छैन । मानिसले सबैभन्दा ठूलो धन सम्झेको छ, धनका लागि मरिहत्ते गरेको छ । वास्तवमा धनले सुविधा दिन त सक्ला तर शान्ति दिन सक्दैन । पैसाले राम्रो बिस्तारा त किन्न सकिएला तर निद्रा किन्न सकिंँदैन । त्यसैले धनका पछाडि कुदाउने मनलाई नियन्त्रण गरौँ । ‘लोभले लाभ लाभले विलाप’ भन्ने लोकोक्तिको भाव बुझौँ । भ्रष्टाचार, दलाली, ठगी, तस्करी, मानव बेचबिखनजस्ता कुकर्ममा नलागौं । अपराध कर्मबाट आर्जित धन बेइज्जतको कडी बन्छ । त्यसैले साधारण जीवन उच्च विचारको अदर्शलाई अनुशरण गरौं ।
अन्त्यमा मानिसमा सम्पत्ति कमाउने इच्छा हुनु अस्वाभाविक होइन, स्वभाविक हो । मीठो खान, राम्रो लगाउन, राम्रो घरमा बस्न, सुखसयलमा रमाउन हरेक मानिसलाई इच्छा हुन्छ । यसमा दुईमत छैन । तर धनका लागि जस्तोसुकै कर्म पनि गर्नुहुँदैन भन्ने कुराबाट समाज प्रशिक्षित हुनुपर्ने बेला आएजस्तो लाग्छ । । मेहनत गरेर कमाउने धनको इज्जत बेग्लै छ । पसिना बगाएर कमाउने धनले शान्ति, सुख तथा प्रतिष्ठा दिन्छ, खुसी दिन्छ, आत्मसम्मान मिल्छ । त्यसैले धन, मन र जीवनको मूल्य बुझौं । इमानदारिता, इज्जत र प्रतिष्ठा कमाऔं । यही मानिसको दिगो सम्पत्ति हो ।











प्रतिक्रिया