जिल्लाकै पहिलो लामा हुन सफल

0
Shares

रसुवा ।

गोसाइँकुण्ड गाउँपालिका–५, ठूलो भार्खुका प्रमुख लामा सिंगी नुर्पु थोक्राका कान्छा सुपुत्र तेन्प यिशी लामाले बौद्व शिक्षाअनुसार तेस्रोपटकको लोसुमदासुम अर्थात् करिब एघार वर्षको कठिन ध्यान, तपस्या र साधना गुफा सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । महाबौद्व ज्ञान सिद्धि प्राप्ति भएर यही भदौ २२ गते काठमाडौंको फर्पिङस्थित बेन्चेन गुम्बामा पूजापाठ तथा लामा गुरुहरूको विधिअनुसार उहाँ औपचारिक सभामार्फत बाहिर निस्किनुभएको छ । उहाँलगायत सम्पूर्ण लामा गुरुहरूलाई लामा तथा विभिन्न महानुभावले खादा लगाएर विशेष स्वागत तथा दर्शन गरेका थिए । सो कार्यक्रम लोपेन तेन्प यिशी लामाका महागुरु क्याप्चे साङ्गे ङेम्बा रिम्बार्छेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

बौद्वधर्मका अनुसार तीनपटक यो लोसुमदासुम सम्पन्न भएका लामालाई मात्रै लोपेन उपाधि दिइन्छ । हालसम्म रसुवा जिल्लाकै इतिहासमा लामा विद्यामा तीनपटक लोसुमदासुम ध्यान–साधना सम्पन्न गर्ने पहिलो व्यक्ति हुनुभएको छ, लोपेन तेन्पा यिशी लामा । यो लोसुमदासुम विद्या बौद्ध धर्मअनुसार तीन वर्ष, तीन महिना, तीन हप्ता, तीन दिन र तीन घण्टा बस्ने धार्मिक विधि हुन्छ ।

यो लोसुमदासुम सम्पन्न गर्न धेरै समय र कडा मेहनत आवश्यकता पर्ने भएकाले ठूलो चुनौती हो । अझ लगातार तीनपटक अर्थात् करिब ११ वर्ष तपस्या तथा ध्यान–साधना गर्नु आफैँमा एक असाधारण विषय हो । त्यसैले बौद्ध धर्मअनुसार यो लामो, कठिन ध्यान, तपस्या र साधना गर्ने कार्य अत्यन्त दुर्लभ मानिन्छ । जुन लोपेन तेन्पा यिशी लामाबाट सफलतापूर्वक सम्पन्न भएको छ ।

उहाकाँ गुरु टुल्कु रिम्बोर्छे अर्थात् सुप्रसिद्ध टुल्कु क्याप्चे साङ्गे ङेन्बा रिम्बोर्छे हुनुहुन्छ । बौद्ध धर्मावलम्बीहरूका माझ उहाँ अत्यन्तै महत्वपूर्ण मानिनुहुन्छ । लोपेन तेन्पा यिशी लामाले अबउप्रान्त बौद्ध धर्मअनुसार यस धर्तीका प्राणीहरूका सुख–शान्तिका लागि पूजापाठ तथा मानवसेवामा आफ्नो जीवन समर्पित रहने बताउनुभएको छ ।

लोपेनका पिता भन्नुहुन्छ, ‘लोपेन २–३ वर्षको उमेरदेखि नै गाउँका आफ्नो उमेरका साथीभाइलाई बोलाएर लामा गुरु भई, पूजापाठ गरी खेल्दै म ठूलो लामा बन्छु भन्थे ।’ उहाँ थप्नुहुन्छ, ‘बालकको मनोविज्ञानलाई बुझी ८ बर्षकै उमेरमा गाउँबाट काठमाडौं ल्याएर लामा पढ्नका लागि गुम्बामा भर्ना गरिएको हो । आफू भविष्यमा के हुने भनी बाल्यकालमै केही लक्षणहरू उनले देखाएका थिए ।’

‘कुनै पनि अभिभावकले बालकको मनोविज्ञान बुझेर सोही क्षेत्रमा लगाउँदा सफल भइन्छ, समयको बर्बादी हुँदैन र कुनै पनि बुबाआमाले पश्चाताप हुनुपर्दैन’, प्रमुख लामा सिंगी नुर्पु लामाले भन्नुभयो । लामा गुरुको यो कडा मेहनत र सफलताको सुखद समाचार सुनेर गाउँका साथीभाइ, आफन्तजनहरूले खुशी मान्दै बधाई तथा शुभकामना दिनुभएको छ ।