नेपालले विगत केही दशकमा धेरै राजनीतिक आन्दोलन र सत्ता परिवर्तनको अनुभव गरिसकेको छ । तर पछिल्लोपटक उदाएको जेन्जी पुस्ताको आन्दोलनले मुलुकको राजनीतिक, सामाजिक र संस्थागत संरचनालाई जस्तो गरी हल्लाइरहेको छ, त्यसले नेपाल मात्र होइन विश्वभरका सत्ताधारी वर्गलाई गम्भीर सन्देश दिएको छ । जेन्जी पुस्ता भन्नेबित्तिकै सामाजिक सञ्जाल, प्रविधि र विश्वव्यापी चेतनासँग जोडिएको एक पुस्ता हाम्रो आँखासामु आउँछ । उनीहरू केवल दर्शक मात्र होइनन्, बरु प्रश्न गर्ने, चुनौती दिने र परिवर्तन माग्ने पुस्ता हुन् । तर यिनै युवापुस्तालाई सत्ताले बेवास्ता ग¥यो । उनीहरूको मागलाई उपेक्षा मात्र गरिएन, उल्टै हिंसात्मकरुपमा दमन गरियो । यही दमनकै परिणामस्वरूप आन्दोलन उग्र बन्दै गयो र अन्ततः सत्तालाई नै उलटपुलट पार्ने अवस्थामा पुग्यो ।
सत्ताको उन्मादले गर्दा सरकार र राजनीतिक दलहरूले आफ्नो नैतिकता, जिम्मेवारी र संवेदनशीलता सबै गुमाए । सोमबार र मंगलबारको घटनाले यसलाई प्रस्ट पारेको छ । सरकारले आन्दोलनलाई शान्तिपूर्ण ढंगले सम्बोधन गर्न सक्थ्यो, वार्ता र संवादको बाटो खोल्न सक्थ्यो । तर गरिने काम उल्टो भयो, प्रदर्शनकारीमाथि गोली चलाइयो, निर्घात कुटपिट गरियो, दर्जनौंको ज्यान गयो । अब यो आन्दोलन केवल शहरकेन्द्रित छैन । गाउँ–गाउँमा असन्तुष्टि फैलिएको छ । जेन्जी पुस्ताको नेतृत्वले सडकमा ल्याएको ऊर्जा, चाहे त्यो संगठित होस् वा स्वतस्फूर्त, यसले ग्रामीण तहसम्म सन्देश पु¥याएको छ, अब मौन रहनुहुँदैन । यसको दीर्घकालीन प्रभाव के हुनेछ भन्नेबारे पूर्वानुमान गर्न कठिन छैन । राजनीतिक दल र राज्यका संस्थाहरूप्रति भरोसा हराउँदै गएको सन्देश गाउँको चोकदेखि राजधानीसम्म प्रस्टै सुनिएको छ ।
तर प्रश्न उठ्छ, अब के ? सत्ताले त आफ्नो हैसियत गुमाइसकेको छ । प्रहरी, प्रशासन र यहाँसम्म कि सेनासमेत निष्क्रिय देखिन थालेका छन् । आन्दोलनकारी जेन्जी पुस्ताले पनि संयमता गुमाए भने मुलुक अर्को भयावह दुर्घटनातर्फ धकेलिने निश्चित छ । संरचना ध्वस्त पार्ने, नेताहरूलाई कुटपिट गर्ने, सरकारी सम्पत्ति जलाउनेजस्ता घटनाले आन्दोलनको नैतिकता कमजोर बनाउने खतरा छ । जेन्जी पुस्ताले देखाएको विद्रोह केवल नेपालमा मात्र सीमित छैन । विश्वभरका शक्ति केन्द्रहरूले यसलाई चासोका साथ नियालेका छन् । किनभने यो पुस्ता भोलिको नेतृत्व पुस्ता हो । जसले उनीहरूको आवाजलाई बेवास्ता गर्छ, जसले उनीहरूको अधिकार र भविष्यलाई उपेक्षा गर्छ, उसको दुर्गति निश्चित छ । नेपालमा भएको यो आन्दोलनले संसारलाई यही पाठ सिकाएको छ । राजनीतिक दलहरूले बुझ्नै पर्ने कुरा के हो भने, जेन्जी पुस्ता केवल नाराबाजी गर्ने समूह होइन । उनीहरू शिक्षित छन्, सचेत छन् र प्रविधिबाट पोख्त छन् । उनीहरूको आवाजलाई दमनले दबाउन सकिँदैन । बरु संवाद, समावेशिता र सहभागिताबाट मात्र व्यवस्थालाई टिकाउन सकिन्छ ।
युवाहरूलाई निराश बनाउने, उनीहरूको भविष्यप्रति खेलबाड गर्ने परिपाटीले मुलुकलाई बारम्बार संकटतिर धकेलेको छ । अहिले पनि अवस्था त्यही हो । तर यो संकटलाई अवसरमा बदल्ने जिम्मा पनि यही पुस्तामाथि छ । यदि जेन्जी पुस्ताले संयमता देखाएर आफ्नो आन्दोलनलाई सकारात्मक रूपतर्फ मोड्न सके भने यो मुलुकमा दीर्घकालीन परिवर्तनको जग बस्न सक्छ । अन्ततः जेन्जी पुस्ताले उठाएको आवाजलाई सम्बोधन गर्नु समयको आवश्यकता हो । यो आन्दोलनले नेपाललाई मात्र होइन, संसारलाई नै पाठ सिकाएको छ । युवा पुस्तालाई बेवास्ता गर्ने व्यवस्था कहिल्यै दीर्घकालीन हुँदैन । यो कुरा सबैले बुझ्नुपर्छ ।











प्रतिक्रिया