कलाकार संघको स्थापना दिवसमा परिसंवाद

समयसँगै आउने परिवर्तनलाई स्वीकार गर्नुपर्छ : राजेश हमाल



नेपाल चलचित्र कलाकार संघले विभिन्न कार्यक्रम आयोजना गरी ३७औँ स्थापना दिवस मनाएको छ।
स्थापना दिवसको दोस्रो दिन आइतबार राजधानीको चावहिल सरस्वतीनगरस्थित चलचित्र विकास बोर्डको सभाहलमा अन्तरक्रिया तथा परिसंवाद कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित अभिनेता राजेश हमालले आफ्नो ३६ वर्ष लामो अभिनय यात्राको अनुभव सेयर गर्दै दर्शकको सोच र समयस“गै आउने परिवर्तनलाई स्वीकार गर्नुपर्नेमा जोड दिए। उनले हरेक दशकमा दर्शकको मनोवृत्तिमा आएको रूपान्तरणबारे चर्चा गर्दै अहिलेको विश्वव्यापी प्रविधिक क्रान्तिले फिल्म उद्योगमा नयाँ चुनौतीसँगै अवसर पनि ल्याएको बताए।


चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डका हालका योजना र कार्यसमीक्षा प्रस्तुत गर्दै नेपाली फिल्मलाई जोगाउन र रोजगारी सिर्जनामा हमालको योगदानको प्रशंसा गरे। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा कलाकार मोहन निरौला सहजकर्ता रहेको कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले कलाकारको बोली र व्यवहारले दर्शकमा पार्ने प्रभावबारे सचेत गराए।

निर्देशक डा. घनश्याम खतिवडाले फिल्ममा भाषाको महत्वबारे प्रकाश पारे। संघका अध्यक्ष निरौलाले फिल्म क्षेत्रमा लैङ्गिक समानता, पारिश्रमिक विभेद, हिंसा, फिल्ममा विदेशी लगानी, नेपाली फिल्मको अन्तर्राष्ट्रिय बिस्तार,केही फिल्मले शो नपाएकालगायत नेपाली फिल्म र पेशाकर्मीको हिजो, आज र भोलिको अवस्थाबारे वक्ताहरूलाई जिज्ञासा राखेका थिए।

नायिका अन्जना बराईलीले आफूले फिल्म क्षेत्रमा प्रवेश गर्दा कुनै प्रकारको ह्यारेस्मेन्ट नभोगेको अनुभव सुनाउ“दै नया“ महिला कलाकारलाई डराउनुपर्ने कारण नभएकाले आत्मविश्वासका साथ अघि बढ्न सुझाइन्। गोपाल ढकालले सञ्चालन गरेको कार्यक्रम सबिन श्रेष्ठको संयोजन र निर्देशक देवेन्द्र पाण्डेको सक्रियतामा सम्पन्न भएको थियो।

संघका अध्यक्ष निरौलाले संघ सधैं फिल्म क्षेत्रको विकासका लागि सहकार्य गर्न तत्पर रहेको बताए।
यसअघि, पहिलो दिन राजधानीको भण्डारखालमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको थियो। त्यसै गरी स्थापना दिवसको तेस्रो दिन सोमबार शिवहरि बैरागी नेपालको संयोजकत्वमा जीवन विज्ञान प्रतिष्ठानमा योग र ध्यान कार्यक्रम सम्पन्न गरिएको थियो।