
हेटौंडा ।
२०६८ सालमा सडक बालकका रुपमा हेटौंडाबाट पहिलोपटक उद्धार गरिएका २३ वर्षीय राजु अधिकारीलाई मामाघर नेपाल मकवानपुरले संरक्षण गर्दै आयो । लागूऔषध दुव्र्यसन, अनेक असामाजिक गतिविधिमा संलग्न, न संस्कार न त वर्तमान र भविष्यको चिन्ता । कवाडीको थुप्रोमा भाग्य र भविष्य खोजिरहेका राजुलाई सामान्य मानिसझैँ बनाउन अनेक गर्नुप¥यो । औपचारिक शिक्षाको प्रयास सफल नभएपछि विभिन्न सीप सिकाउने प्रयत्नसमेत गरियो । हकर, फ्रिज मर्मत, इलेक्ट्रिसियन, प्लम्बिङ, बारिस्टा अनेक सिकाइयो । खेलकुदमा लागेर हकीको राष्ट्रिय खेलसम्म खेल्न पुगे । जबसम्म आफ्नै घर हुँंदैन, आफ्नो परिचय नै हँुंदैन, त्यसैले आफ्नै घर बनाउनुपर्छ भनी सम्झाउँदै गर्दा विदेश जाने रहर पलायो राजुमा । अनि आफ्नो स्थायी ठेगाना र परिचय बनाउने लक्ष्य बोकेर कतार पुगे राजु ।
कतारमा अनेक दुःख भोगे तर आत्तिएनन् । हाल राजुको सपना पूरा भयो । हेटौंडा–११, डाङ्डुङेमा १० धुर जग्गामा बनेको ४ कोठे घरको लालपुर्जा राजुको नाममा छ । हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले विशेष कार्यक्रमसहित बुधबार राजुलाई गृहप्रवेश गराइन् ।
‘हेर्दा घर सानो होला तर हाम्रो लागि यो दरबारभन्दा कम छैन । राजुको घरपरिवार भेटेर पारिवारिक पुनस्र्थापना गराउन नसके पनि सामाजिक पुनस्र्थापना गराउन सफल भएको महसुस भएको छ । आफ्नै काखमा हुर्केको व्यक्तिले अनेक आरोह–अवरोह पार गर्दै प्राप्त गरेको यो उपलब्धि हाम्रा लागि चानचुने लाग्दैन’, मामाघरका संस्थापक अर्पण पराजुलीले भने– ‘राजुको गृहप्रवेश व्यक्तिको गृहप्रवेशमात्र नभई प्रवृत्तिको रुपान्तरण हो । हामीले उद्धार गरेका सबै बालबालिकालाई सक्षम बनाई यसै गरी पुनस्र्थापना गर्नुपर्ने छ ।’
पछिल्लो समय उनको मेहनतले हेटौंडामा घर किनिएको हो । घर किन्ने पैसामध्ये केही आफैंले कमाएका हुन् भने केही उनलाई सडकबाट उद्धार गरी ‘मामाघर’ पु¥याएका ‘मामा’ उपमा दिइने पराजुलीले दिएका हुन् । अधिकारी आफ्नो घरमा बुधबार बिहान पत्नी सिन्धुपाल्चोककी प्रमिला खड्कासहित गृहप्रवेश गरेका छन्।
राजु, जो २०६८ कात्तिक २६ गतेसम्म हेटौंडा–१० स्थित बसपार्कमा रहेको कवाडीको थुप्रोमा रुमल्लिरहेका देखिन्थे । सडकमा रहँदा उनी ‘कोब्रा ग्याङ’ का ‘डन’ थिए । मकवानपुरको सिस्नेरीका उनका बुबाआमा दुवैको मृत्यु भइसकेको छ । उनको औपचारिक शिक्षा ४ कक्षामा सीमित रह्यो । उनी हाल कतारमा व्यक्तिगत सुरक्षा गार्डका रुपमा कार्यरत छन् ।
अधिकारीको यो सफलता शुरु हुन्छ २०६८ ताकाबाट । एकदिन पाहुनालाई स्वागत गर्न हेटौंडा बसपार्क पुगेका पराजुलीले नजिक ठेलामा बेच्न राखिएको मम माग्दै गरेका बालकहरु देखे । तीमध्ये एक थिए अधिकारी । ग्राहकले मम खाइसकेपछि फ्याँकेका पात भुइँमा खस्न नपाउँदै अधिकारीले टिपेर चाटेको उनले देखे । हेटौंडा बसपार्कमा यस्तो दृश्य देखेपछि भावुक बनेका हेटौंडेली युवा पराजुलीले आफ्नो अनुसन्धानको विषय तिनै सडक बालकलाई बनाए । प्रारम्भमा उनीसँग बोल्न नमान्ने र पिटुँलाझैँ गर्ने सडक बालकहरु हिजोआज उनलाई ‘मामा’ भनी सम्बोधन गर्छन्, सँगै खान्छन् र सँगै सुत्छन् ।
४५ दिनसम्म सडक बालकहरुको दिनचर्या र उनीहरुको सर्वपक्षीय गतिविधि अध्ययनका लागि बोरा ओढेर पराजुलीले एक साता त रातभर बसपार्कमा बिताएका थिए । अनुसन्धानको क्रममा उनीहरुलाई नुहाइदिन राप्तीखोलामा लैजाँदा १४ जनाको शरीरबाट एक सय ९६ वटा जुम्रा भेटिएको पराजुलीले स्मरण गरे । उनले बसपार्कवरपर भेटिएका सडक बालकहरुको अध्ययन÷अनुसन्धान प्रतिवेदन तयार पारे । अनुसन्धानमा समेटिएका बालक १० देखि १७ वर्ष उमेरका थिए । तीमध्ये ८ जना मकवानपुरका थिए । भेटिएकामध्ये अधिकांश पारिवारिक कलह, शहरको रमझम र साथीको लहैलहैमा लागेर सडकमा आइपुगेका थिए ।
अनुसन्धानका क्रममा हेटौंडामा २३ जना सडक बालक भेटिएको जानकारी पराजुलीले दिए । हेटौंडामा भेटिने सडक बालकहरु ‘बिच्छु’, ‘कोब्रा’ र ‘भ्यान्टे’ गरी तीन ग्याङमा विभाजित थिए । अधिकारी ‘कोब्रा’ ग्याङका ‘डन’ थिए । अभिभावकबाट टाढा भएका उनीहरु आफ्नो समूहका नाइकेको निर्देशनमा चल्ने चलन थियो । सबैले मागेको र चोरेको कुरा सामूहिक उपभोग गर्थे । भोक लाग्दा डेन्ड्राइड सुँघ्ने बानी भएका उनीहरुले हाल ती सबै गलत कुरा भुलेका छन् । वाक्यैपिच्छे निस्कने अपशब्द उनीहरुको मुखबाट निस्कँदैन ।
उनीहरुलाई सुरक्षित आश्रयका लागि मामाघर नेपालले नयाँ सुविधासम्पन्न २१ कोठे भवन बनाएको छ । मामाघर नेपालको ‘एक व्यक्ति–एक इँटा’ अभियानअन्तर्गत हेटौंडा–११ मा समाजसेवी सिद्धिलाल श्रेष्ठले उपलब्ध गराएको ३ कठ्ठा २ धुर जग्गामा भवन निर्माण भएको छ । संरक्षक पराजुलीका अनुसार मामाघर नेपालको सञ्चालन र व्यवस्थापनमा स्थायी दाता कोही छैनन् । मकवानपुर तथा आसपासका व्यक्तिले जन्मदिन, विवाह उत्सवका दिन गरेको सहयोगले मामाघरका ‘भान्जा’हरुको जीवनयापन भइरहेको छ ।











प्रतिक्रिया