शीर्ष नेतालाई पद जोगाउन हम्मे

0
Shares

धेरै वर्षअगाडिदेखि तत्–तत् राजनीतिक दलका शीर्षस्थान (सभापति, अध्यक्ष) ओगट्दै र अरू कसैलाई पनि ढिम्किन नदिएर एकलौटी साम्राज्यको हैकम चलाउँदै आएका शीर्ष नेताहरूलाई आजका दिनमा त्यो उच्च आसनको पद जोगाउन र पहिलेको जस्तै निष्कण्टक बनाउन हम्मे–हम्मे पर्न थालेको छ । हिजोका दिनमा आ–आफ्ना राजनीतिक दलका अराऊ–पठाऊ गर्ने हली–गोठालाजस्ता लाग्ने, उनीहरुले जाबो भुसुना ठह¥याएकाहरूले आज त्यो उच्च आसनमा विराजमान सिंहराजलाई चुनौती दिँदै गर्दा घरी ती शीर्षस्थहरूको आत्मा रोएर अलापविलाप गर्न थाल्छ त घरी आक्रोशले मुर्मुरिन्छ । पराईले त चुनौती दिएकै थियो, अटेर भएर पनि काम चलेकै थियो । तर अहिले त हिजो आफैँले भ्रष्टाचार यसरी गर्नुपर्छ, मान्छे तस्करी यसरी गरेर असीमित सम्पत्ति थुपार्न जान्नुपर्छ, यस्ता काममा अवरोध सिर्जना गर्नेलाई हदैसम्मको सजाय दिएरै भए पनि कमाउने काममा पछि पर्नुहुँदैन भनेर सिकाएका भुसुनाले पनि चुनौती खडा गरेर भगवान् इन्द्रको आसन डग्मगाए जसरी आसन नै डग्मगाउने खेल खेलेपछि रिस नउठ्ने कुरो पनि त भएन नि ! यस्तै आक्रोशमा छन् एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली ।

आफूविनाको एमाले राजनीतिक दल हुनै सक्दैन भन्ने लागेको छ उनलाई । उनको अध्यक्ष पद डग्मगाउनको लागि पूर्वराष्ट्रपति विद्या भण्डारी नेकपा एमाले पार्टीभित्रै रहेर सक्रिय राजनीतिमा लाग्नको लागि मैदानमा ओर्लने मात्र होइन कि सक्रियतापूर्वक देश दौडाहामा लाग्ने घोषणा गर्दै अभियान थालेकी छन् । कमरेड केपी ओलीले हेर्दाहेर्दै उनको तुलनामा विद्याको राजनीतिक उचाइ बढेर जाँदै छ । यो भन्नुको अर्थ ओली हालका शासक हुन् भने उनको पो लोकप्रियता बढेर उचाइ हासिल गर्नुपर्ने थियो त भन्ने ओलीको बुझाइ हुन सक्छ । ओलीको बुझाइ र सोचाइको ठीक विपरीत वातावरण बनेर विद्याको लोकप्रियता बढ्नु त ओलीका लागि असह्य मानसिक पीडाबोध हुने अवस्था हो । यो अवस्था सिर्जना गर्ने काम पूर्वराष्ट्रपति विद्या भण्डारीका तर्फबाट भएकोले विद्यादेखि ओली रिसाएर मुर्मुरिनु स्वाभाविकै पनि हो ।

हुन त विद्याको सक्रिय राजनीतिक आगमनअगावै भीम रावलजस्ता कान्छा नेताहरूले ओलीको अध्यक्षताको विरोध नगरेका होइनन् । परन्तु उनलाई एक्लो बृहस्पति झुटो बनाएर पार्टीबाटै निष्कासन गरियो । अब अहिले आएर विद्या भण्डारीलाई त्यसो गर्न सक्ने अवस्था पनि छैन । विद्याको सक्रिय राजनीतिक आवागमनको अग्रिम सुइँको पाउँदै ओलीले अझै २०–२२ वर्ष पर्खन भनेकै थिए । आफ्नो जीवन रहुन्जेल एमाले पार्टीको अध्यक्षको पद अरु ऐरेखैरे कसैलाई नदिएर आफ्नै कब्जामा हुनुपर्छ भन्ने व्यक्तिवादी र साँघुरो विचारका राजनीतिक नेता ओलीलाई आफ्नो अध्यक्ष पद कसरी जोगाउने भन्ने चिन्ता छ । अनि बाँचुन्जेल निष्कण्टक कसरी बनाउने भन्ने पीडाग्रस्त मानसिकतामा डुबेका छन् उनी ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली आफ्नो विरुद्धमा चुनौती खडा भएको र त्यसको सामना कसरी गर्ने भन्ने मानसिकताले ग्रस्त भएर अनेक थरीका विकल्प खोज्दै गरेको अवस्थामा छन् । सकेसम्म विद्या भण्डारीलाई अनेक षड्यन्त्र गरेर भए पनि बाहेक गर्ने धुनमा उनी रहेजस्तै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को कुर्सी पनि उनकै राजनीतिक दलका जनार्दन शर्माले चुनौती खडा गरेर आच्छु–आच्छु बनाएका छन् । यसरी हायलकायल बनाउँदा प्रचण्ड पनि अधिक मात्रामा जनार्दन शर्मालाई हटाएर कसरी एक्लौटी अध्यक्षको पदलाई निष्कण्टक बनाउने भन्ने सोचाइको गहिराइमा डुब्न थालेका छन् । त्यही डबाइको पीडाबोध प्रकट गर्दै बेला–बेलामा जनार्दनलाई कटाक्ष गर्दै थरी–थरीका अभिव्यक्ति ओकल्दै गरेका पाइन्छन् ।

आफू माओवादीको अध्यक्ष पदमा नरहे त आकाशै खस्ने हो कि भन्नेजस्ता हास्यास्पद अभिव्यक्ति ओकल्दै गर्दा उनको आफ्नो राजनीतिक उचाइ घट्दै गएको अनि उनीभित्रको पदलोलुपताको मानसिकता कतिसम्म गहिरो रहेछ भन्ने कुरा पनि सहजै जान्न सकिन्छ । पटक–पटक देशकै कार्यकारी प्रमुखको पद ओगटेर बस्दा पनि देश र जनताको लागि माखो मार्न नसक्ने बिचरा दुवै कमरेडहरूको हिजोआज भर्खरैका आक्रोशका अभिव्यक्ति सुन्दै गर्दा स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको पदलोलुपताको मानसिकता अनि त्यसमा अवरोध गर्ने तत्वमाथि पोखिएका आक्रोशका बचनहरूको याद दिलाउँछ । जब मातृकाप्रसाद कोइराला नेपाल अधिराज्यका प्रधानमन्त्री बनेका थिए अनि नेपाली काङ्ग्रेस पार्टीका सभापति पनि उनी नै थिए, त्यो बेला बीपीले पनि हालका प्रचण्ड, ओली, देउवा प्रवृत्तिको जस्तै आक्रोश पोखेर मातृकालाई अपशब्द ओकल्न भ्याएका थिए । शायद बीपीले त्यति नगरेर सहयोगी भूमिका खेलेका थिए भने ०७ सालबाट १७ साल आउने र एकदलीय निरड्कुश शासन लादिने अवस्था सिर्जना हुने थिएन कि भनेर विश्लेषण गर्दा फरक नपर्ला ।

नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेतालाई जसरी भर्खरै आँखै अगाडि चुनौती खडा भएर नसताए पनि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई सोही पार्टीका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायतकाले अप्रत्यक्ष भए पनि चुनौती खडा गर्न थालेका छन् । मलाई भोट दिएर जिताउँछन् त म के गरुँ ? भन्ने अभिव्यक्ति दिने शेरबहादुर देउवालाई कोइराला परिवारतिरबाट पनि चुनौती खडा भइरहेको छ । तर उनी केपी ओली, कमरेड प्रचण्डका जसरी आक्रोश ओकल्दै हिँडेका भने छैनन् । यति भएर पनि ओली र प्रचण्डलाई जस्तै नेपाली काङ्ग्रेसको सभापतिको पद जोगाउन र निष्कण्टक बनाउनको लागि देउवालाई पनि हम्मे–हम्मे नै परेको बुझिन्छ । अर्कोतिर पाँचौँ पटकसम्म नेपालको कार्यकारी प्रधानमन्त्री बनिसकेका देउवालाई ज्योतिषीले सातौँ पटकसम्म प्रधानमन्त्री बन्नेछौ भनेर भविष्यवाणी गरिदिएका कारण पुनः दुईपटक प्रधानमन्त्री बन्न पाइहालिन्छ कि भन्ने झीनो आशा उनको मानसबाट हटेको छैन । यदि कुनै बलियो अवरोधले उनको सभापतिको कुर्सी खोस्न भ्याएको खण्डमा सभापति त भइएन–भइएन, बाँकी दुईपटक प्रधानमन्त्री बन्ने मौका पनि गुम्ने खतरा यथावत् रहेकोले प्रचण्ड, ओलीको तुलनामा अवरोधले त देउवालाई अधिक हानि पुग्ने कुरा विश्लेषण गर्न सकिन्छ ।

अहिलेका तीन राजनीतिक दलका शीर्ष नेताहरूमाथि विभिन्न काण्डमा अनियमितता गरेको आरोप लाग्दै आएको भए तापनि ती सानातिना आरोपलाई उनीहरूले ह्याकुलाले मिच्दै र थिच्दै सत्ताको दौडमा लागेका छन् । ती तीन पार्टीका शीर्ष नेताले सत्ता छोडेको थोरै समयपछि नै उनीहरूलाई ती धेरै थरीका मुद्दाहरूको सामना गर्नुपर्ने हुन्छ । सामना मात्र होइन कि प्रमाणित भएमा जेल सजायसमेत हुन सक्ने भएकोले भालुको कम्पट बनाएरै भए पनि सत्ता नछोडेरै टार्ने पक्षमा सत्तारुढ पार्टी रहेको पाइन्छ ।

२०८४ सालको चुनाव जित्न सके पनि अब सत्तामा रहेर त्यसको पूर्णरुपले बागडोर सम्हाल्न सक्ने जिम्मेवारीलाई पूरा गर्नको लागि विगतको तुलनामा केही न केही परिमार्जन भएरै अगाडि बढाउनुपर्ने हुन्छ । पुराना नेताबाट त्यस्ता खालका रचनात्मक क्रियाकलाप खासमा केही हुनेवाला छैन । केवल भ्रमको खेती गरेर आम जनता छक्याउने खालको राजनीतिक अभ्यासले गर्दा हाम्रो देशको राजनीतिले खासै प्रभाव पार्ने खालको वातावरण सिर्जना गर्न सकेको अवस्था देखिँदैन । केवल जनताका आँखामा छारो हाल्ने कामले कहिल्यै पनि हाम्रो राजनीतिले नवीनतम विषयवस्तु समातेर अगाडि बढाउन र सबैका सामु प्रस्तुत हुन नसकेको अवस्था हो यो । आफ्नो सत्ता जोगाउने हेतुले शीर्ष नेताहरू अन्टसन्ट कुरा गरेर जनता नै भेडा हुन्, हामी नेता त भेट्टाई नसक्नुका महान् मानव हौँ भन्ने आत्मरतिमा दौडँदै गरेको महसुस गर्न सकिन्छ । हाम्रा नेताको भरोसायोग्य कर्म गराइ नभएपछि पखालेर फालौँ भन्ने अवस्था आउन बेर छैन । पुराना र दृष्टिकोणबेगरका नेताबाट देशको लागि कति पनि योगदान दिन सक्ने एक थोपो पनि अपेक्षा नराखे हुन्छ । त्यसको सट्टामा नयाँ र भरोसायोग्य नेताको खोजमा आम जनताको ध्यान जान थालेको छ ।

वास्तविकतालाई मध्यनजर गर्दा, नेतात्रयले आफूहरुको हातबाट आउँदो चुनावसम्मका लागि सत्ता फुत्कन दिने अवस्था छैन । यदि फुत्केको खण्डमा उनीहरूत्रयका २० वर्षअगाडिदेखिका पोल खोलिनेछन् । उनीहरूले न्यायको कठघरामा उभिन बाध्य बन्नुपर्नेछ । यसै बाध्यताका कारण यताबाट उताका सँग गठबन्धन गर्दा पो हुन्छ कि, उताका बाट यताका सँग गर्दा पो हुन्छ कि भन्ने सोचाइको दोधारबाट यिनको दिनचर्या गुज्रिरहेको छ । यिनीहरु नैतिक वा अनैतिकताका कुरा हेर्ने र सुन्नेवाला छैनन् । अब कुन र कस्तो षड्यन्त्र गरेर हुन्छ आफ्नो शीर्ष पदलाई यथावत् राख्न सफल हुनु यिनको पहिलो र महान् पुरुषार्थ गरेको ठहरिनेवाला छ । यिनले आफू मात्र जोगिएर भएकै छैन । आफन्त, श्रीमतीसमेतलाई चोख्याएर शुद्ध बनाउन सफल हुने खालको खेल खेल्नुपर्ने भएको छ । तर उक्त खेल खेल्नको लागि भरपर्दो साथ नपाउनु मात्र होइन कि त्यसको उछितो काढिने गरी विरुद्धमा लाग्नेहरूको सड्ख्या दैनिक बढेर गएको छ । उनीहरू भीरमा अड्केको लौकाको अवस्थाबाट गुज्रिरहेका छन् । तथापि यस विषयमा हार्ने भन्ने कुरो त उनीहरूको शब्दकोशमा नभएको शब्द हुन्छ ।

जति लामो जीवन बाँचिन्छ त्यतिन्जेलसम्मको सत्ताको बागडोर मैमा परोस् भन्ने लालसाले भरिएको उनीहरूको मानसिकता रहेको छ । तर कर्मको आधारमा यिनको वर्गीकरण गर्ने हो भने, देश र नेपाली जनताको पक्षमा शुद्ध मानसले गर्ने कर्म शायद केही पनि छैन होला । गरिहाल्न खोजे पनि केवल चुनावकेन्द्रित भएर गरिने हुनाले केवल देखावटीले भरिएको हुनाले प्रतिफल पाउने गरी कर्म गरेका हुँदैनन् । यो रोग यिनका नयाँ पुस्ताले पनि च्यापेरै राजनीतिक नेतृत्वको स्तरसम्म पुगेको खण्डमा त्यस्ताहरुले पनि देश बर्बाद पारी लुटेर खाने बाटोको खोजी गर्ने प्रयास गर्नेछन् । अनि तिनै मान्छेले गर्ने हुन् भ्रष्टाचार । शीर्ष नेतालाई परेको पद जोगाउने यो सकसको विषयलाई कसरी निमिट्यान्न पार्ने हुन् भन्ने कुरा भने हेर्नै बाँकी हुनेछ ।