नेकपा एमालेको दोस्रो विधान महाधिवेशन: प्रतिवेदन सर्वसहमतिले पारित, ओली नेतृत्वमा पार्टी सुदृढ हुने


ललितपुर।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ शुरू भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशन विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । पार्टीको संगठन, विधान र नीति–प्रतिवेदनलाई समीक्षा गरी नयाँ रणनीति तय गर्ने मुख्य उद्देश्य रहेको महाधिवेशनको अन्तिम दिनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वलाई केन्द्रमा राख्दै पार्टीको संगठन सुदृढ पार्ने विषयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष ओलीले प्रतिवेदनमा पार्टीको हालको राजनीतिक अवस्थाप्रति विस्तृत समीक्षा गर्दै पार्टीलाई राष्ट्रिय स्तरमा निर्णायक शक्ति बनाउने महत्वाकांक्षा र आगामी निर्वाचन तथा राजनीतिक रणनीतिका विषयमा विस्तृत योजना प्रस्तुत गर्नुभएको थियो ।
महाधिवेशनमा पूर्व राष्ट्रपति विद्या भण्डारीको विषयले समेत प्रवेश पाएको थियो । महाधिवेशनले राष्ट्रपति र उपराष्ट्रपति भएका व्यक्तिलाई पार्टीको महत्वपूर्ण पदमा उठ्न नपाउने निर्णय गरेको छ ।

महाधिवेशनको अन्तिम दिनमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उहाँले विधानमा आवश्यक परिवर्तन र समयसापेक्ष संशोधनको प्रस्ताव गर्दै पार्टीको भित्री प्रक्रियालाई थप पारदर्शी र समावेशी बनाउने पक्षमा विचार राख्नुभयो ।

महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीको जिल्ला, प्रदेश र स्थानीय तहमा संगठनको मजबुत बनावट, सदस्यता वृद्धि तथा समितिको कार्यगत प्रगतिको तथ्यांक पेस गर्नुभएको थियो । उहाँले विशेष गरी ७ प्रदेशमा संगठन विस्तारको काम सफलतापूर्वक भइरहेको जानकारी दिनुभयो ।
केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदनमा पार्टीको दीर्घकालीन रणनीति, पार्टीभित्रको नीति–निर्माण प्रक्रिया र नेतृत्व प्रशिक्षणका कार्यक्रमहरू समेटिएका थिए ।

यस्तै, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्रस्तुत गरेका प्रतिवेदन पनि सर्वसहमतिले पारित भएका छन् । यसबाट पार्टीको आन्तरिक अनुशासन, वित्तीय पारदर्शिता र निर्वाचन व्यवस्थापन प्रणाली अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।

महाधिवेशनमा प्रतिनिधिलाई १० समूहमा विभाजन गरी समूहगत छलफलका माध्यमबाट सुझाव संकलन गरिएको थियो । आइतबार समूहगत छलफलबाट आएका सुझावहरू प्रमुख नेताहरूलाई प्रस्तुत गरिएको थियो । प्रमुख सुझावमा सदस्यता विस्तार, स्थानीय तहमा संगठन बलियो बनाउने, महिला तथा युवा सदस्यको सक्रिय सहभागिता सुनिश्चित गर्ने र राजनीतिक अभियानलाई थप व्यवस्थित बनाउने विषय समेटिएका छन् ।
महाधिवेशनमा देशभरिबाट २ हजार २६ जना प्रतिनिधि सहभागी भएका थिए भने आयोजकको हैसियतमा थप ३१५ जना सहभागी भएर कूल २ हजार ३ सय ४१ जनाले महाधिवेशनको कामलाई सफल बनाउन योगदान पु¥याएका थिए ।

महाधिवेशनको निष्कर्ष ओली नेतृत्वमा एमालेको संगठनात्मक र वैचारिक मजबुतीका रूपमा व्याख्या गरेका छन् । राजनीतिक प्रतिवेदन, संगठनात्मक सुधार र विधान संशोधन सर्वसहमतिले पारित भएपछि पार्टीमा एकता र दृढता देखिएको दाबी गरिएको छ ।

महाधिवेशनले एमालेलाई आगामी राष्ट्रिय तथा स्थानीय निर्वाचनमा निर्णायक शक्ति बनाउने रणनीति तय गरेको छ । पार्टीको आन्तरिक संरचना, अनुशासन, महिला तथा युवा सहभागिता, आर्थिक व्यवस्थापन र निर्वाचन तयारीजस्ता क्षेत्रहरूमा स्पष्ट कार्ययोजना प्रस्तुत भएको छ । महाधिवेशनलाई नेतृत्व र संगठन सुदृढीकरणको महत्वपूर्ण मोडका रूपमा मूल्यांकन गरिएको छ । पार्टीले आगामी दिनमा राजनीतिक प्रतिस्पर्धा, गठबन्धन र राष्ट्रिय नीति निर्माणमा अझ सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

यसरी, नेकपा एमालेको दोस्रो विधान महाधिवेशनले पार्टीको नेतृत्व, संगठन र विधानलाई नयाँ ढाँचामा प्रस्तुत गर्दै आगामी राजनीतिक चुनौतीका लागि आफ्नो तयारीलाई पूर्ण रूपमै मजबुत बनाएको नेतृत्व पंतिmले दाबी गरेको छ ।

नेकपा एमालेको विधान महाधिवेशनले समसामयिक र संगठनगत विषयमा आधारित २९ वटा प्रस्ताव पारित गरेको छ । यी प्रस्तावमा पार्टीको आन्तरिक संरचना, संगठन सुदृढीकरण, सदस्यता विस्तार र आगामी राजनीतिक रणनीति समावेश छन् ।

महाधिवेशनमा प्रस्तुत प्रस्तावहरू सर्वसम्मतिले पारित भएका हुन् । प्रतिनिधिहरूले समूहगत छलफल र सुझावहरूको आधारमा यी प्रस्तावहरूलाई अनुमोदन गरेका थिए ।

पारित प्रस्तावले एमालेलाई आगामी राष्ट्रिय तथा स्थानीय निर्वाचनका लागि सुदृढ संगठनात्मक तयारी गर्न सहयोग पु¥याउने र पार्टीभित्रको अनुशासन, पारदर्शिता र सहभागितालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।