काठमाडौँ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित सामाजिक सञ्जाल चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न आम नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भीपीएन जस्ता माध्यमहरू असुरक्षित, अनधिकृत र जोखिमपूर्ण हुने भन्दै सचेत रहन अनुरोध गरेको छ।
यसअघि सरकारले दर्ता नभएका फेसबुक, युट्युब, एक्स लगायत २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूमा पहुँच रोक लगाएको थियो। तर, धेरै प्रयोगकर्ताले भीपीएनमार्फत यी प्लेटफर्महरूमा पहुँच गर्न खोज्दा मन्त्रालयले औपचारिक चेतावनी जारी गरेको हो।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारको निर्णयअनुसार सूचीमा नपरेका सामाजिक सञ्जाल प्लेटफर्महरू नेपालभित्र निष्क्रिय गरिसकिएको छ। तसर्थ, असुरक्षित भीपीएन प्रयोग नगर्न/नगराउन अनुरोध छ।”
सरकारले आफ्नो कदम सामाजिक सञ्जाल नियन्त्रण वा निषेध गर्ने उद्देश्यले नभई प्लेटफर्महरूलाई व्यवस्थित, मर्यादित र जवाफदेही बनाउन लिएको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ कि यो निर्णय सर्वोच्च अदालतको आदेश कार्यान्वयनकै लागि गरिएको हो र नागरिकको अभिव्यक्ति स्वतन्त्रता सीमित पार्ने उद्देश्य छैन।
यसैबीच, प्रतिबन्धपछि ‘हाम्रो पात्रो’ र ‘ग्लोबल डायरी’ ले दर्ता प्रक्रिया पूरा गरी शुक्रबारदेखि पुनः सञ्चालनमा आएका छन्। ट्विटर (एक्स) ले भने सूचीकरणका निम्ति विवरण माग गरेको विज्ञप्तिमा जनाईएको छ।











प्रतिक्रिया