बझाङ । यो जीवनको केही भोगाइ र बूढापाकाबाट सुनेको सुनाइले जीवनमा केही सिक्ने र बुझ्ने अवसर मिल्दो रहेछ । ‘म कक्षा ७–८ मा पढ्दै गर्दा मेरा पूज्य हजुरबुबाले (बाजे) ले दिनुभएको अर्ति मलाई झलझली याद आउँछ । उहाँले ‘मान्छेले तवानीको रोटी कहिल्यै हेर्नुहुँदैन, भकारीको धान हेर्नुपर्छ’ भनेको अहिले पनि कानमा गुन्जिरहेको छ ।
म साथीहरूलाई भन्न चाहन्छु– हामी बझाङका १२ वटा पालिकाबाट आई पवित्र संगठन नेपाल पत्रकार महासंघ बझाङमा आबद्ध भइसकेपछि हामीले अहिले सानो स्वार्थमा रुमलियौँ भने भकारीको धान भकारीमै रहन्छ । बीउ छर्न पनि सकिँदैन । त्यसैले अझै पनि केही बिग्रेको छैन । आत्मालोचना गरौँ । काहाँनेर के बिग्रियो ? सबै बराबर भागवण्डा हालौँ । सुन्दर जीवन छ । किन छोटो र मीठो खोज्ने ? बरू नमीठो, तीतै खाऔँ र दीर्घकालीनरूपमा नयाँ आयामका साथ लागौँ । यहाँ एक विजेता भएर हुनेवाला केही छैन, सबै विजेता हुनुपर्ने अवस्था छ । बझाङ विजेता बनाउनु छ । त्यसैले गहिरो समीक्षा र सोच राख्न आवश्यक देखिन्छ ।
बझाङको पत्रकारिता अहिले एउटा निर्णायक मोडमा उभिएको महसुस भएको छ । तत्काल लोकप्रियता कमाउने समाचार र दीर्घकालीन प्रभाव पार्ने खोजमूलक पत्रकारिता गर्ने पत्रकारका बीचमा बारम्बार अल्झिएका भोगाइ दिनानुदिन देखिँदै छन् । हाम्रो विश्वास र भर बझाङ्गी जनमानसमा अझै पनि धेरै आत्मविश्वासको रूपमा रहेको छ । यसलाई बढावा दिई प्रमाणित गर्नु आवश्यक छ । ‘तवानीको रोटी हैन नि, भकारीमा बीउको लागि राखेको गहुँ हेर्नुपर्छ भनेर लागौँ’ भन्ने यो सन्देशमूलक पुख्र्याैली उखान आजको पत्रकारितामा अझै सान्दर्भिक देखिन्छ ।
अहिले स्थानीय सञ्चारमाध्यममा दैनिक कार्यक्रम, नेताका भाषण, फोटोसहितका गतिविधि प्राथमिकतामा देखिन्छन् । यस्तो समाचारले तुरुन्तै सामाजिक सञ्जालमा चर्चा कमाए पनि समाजमा दीर्घकालीन प्रभाव पार्न सकेको छैन । यसलाई ‘तवानीको रोटी’ सँग तुलना गरी, अर्कोतर्फ मानव सूचकाङ्कका मुख्य एजेन्डा– शिक्षा, स्वास्थ्य, सडक, विकास निर्माणमा ढिलाइ, बेरोजगारी, युवाको पलायनजस्ता मुद्दा भने जनताको जीवनसँग प्रत्यक्ष जोडिएका छन् ।
यी विषयमा गहिरो खोजी गरेर तथ्य प्रमाणसहित उजागर गर्नु नै पत्रकारिताको वास्तविक जिम्मेवारी हो । यो काम भनेको नै ‘भकारीमा बीउ’ जस्तै आत्मसम्मान पाउने हो ।हामी सबै बझाङ्गी सबै कुरामा सम्पन्न पनि छैनौँ । स्वास्थ्य सेवा अझै न्यूनस्तरमा छ । सडक–पुलको अवस्था कमजोर छ । बजेट दुरुपयोगका थुप्रै उदाहरण छन् । तर यी विषयमा गम्भीर खोज पत्रपत्रकारिता कम भएको गुनासो स्वयं जनताबाट उठ्ने गरेको छ ।
स्थानीय निकाय र ठेकेदारको मिलेमतोमा विकासका काम ढिलो हुने, शिक्षा क्षेत्रमा गुणस्तर खस्कने, युवा रोजगारीको अभावले विदेश पलायन हुनेजस्ता समस्या अहिले हाम्रो लागि गहिरो प्रश्न बनेका छन् । यी प्रश्नलाई सतहमा मात्रै होइन, मूल कारणसम्म पु¥याएर उजागर गर्नु समाज परिवर्तनको लागि रहेका हामी पत्रकारको ठूलो धर्म हो ।
पत्रकारिताले भोलिको पुस्ता सुरक्षित गर्ने बीउ रोप्न सके मात्र यसको महत्व कायम रहन्छ । त्यसैले सबै पत्रकार साथीहरूलाई अनुरोध गर्न चाहन्छु– बझाङ्गी पत्रकारिताको विगत, वर्तमान र भविष्य हेरेर अगाडि बढ्न आवश्यक छ ।











प्रतिक्रिया