नयाँ गन्तव्य : सुन्दर हिलेपोखरी

470
Shares

दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर १ र सिन्धुपाल्चोक जिल्लाको सिमाना पानीढलोमा अवस्थित हिलेपोखरी धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटकहरुको नयाँ गन्तव्य बनेको छ । गत जनै पूर्णिमाको दिन कालिन्चोक मन्दिरमा पूजा–आराधनाको लागि पुगेका केही भक्तजनहरु हिलेपोखरीमा समेत पुगेको स्थानीयले बताए ।


सत्ययुगमा शिव–पार्वतीसमेत गौरीशङ्कर हिमालय पर्वतबाट देउढुङ्गा, कमलमाई, ठिङसाङ पोखरी हुँदै हिलेपोखरीमा स्नान गरी कालिन्चोक टापुमा आएर तपस्या गरेको किंवदन्ती रहेको छ । कालिन्चोक टापुमा कालो भेडाले आई दैनिक दूध दिने भएकोले यो ठाउँलाई कालिन्चोक भगवती माईथान भनिएको किंवदन्ती रहेको स्थानीय झाँक्री डुकछिरी तमाङ बताउँछन् । अर्को किंवदन्तीअनुसार कालिन्चोक कुण्डमा रहेको पानी तामाकोशी, सुनकोशी, दूधकोशी र फलामकोशी चारैतिर पुग्ने भएकोले यो टापुलाई कालिन्चोक भनिएको हो ।

कालिन्चोकको महिमासँग जोडिएकोले पनि प्राकृतिकरुपमा सुन्दर हिलेपोखरी धार्मिक एवम् सांस्कृतिकरुपमा समेत महत्वपूर्ण रहेको स्थानीय बताउँछन् । प्राकृतिकरुपमा सुन्दर रहेको हिलेपोखरीमा २०६५ सालअघिसम्मै एकजोडी राजहाँस आएर हिलेपोखरीमा क्रीडा गर्ने गरेको स्थानीय सुनाउँछन् । यहाँका झाँक्री डुकछिरी तमाङका अनुसार पहिले–पहिले जोडी राजहाँसले पोखरीभित्र रहेको पातपतिङ्गर पनि टिपेर सफा राख्ने गर्थे ।

२०६५ सालपछि भने पोखरीमा राजहाँस देख्न छोडिएको स्थानीयको भनाइ छ । हिले पोखरीको आसपास किसानहरुले भेडीगोठ तथा चौंरीगोठ लाने भएकोले उनीहरुले पहिले हिलेपोखरीमा धूपबत्ती गर्ने प्रचलनसमेत रहेको स्थानीय बालकृष्ण तमाङको भनाइ छ । हिलेपोखरी २०७२ सालको भूकम्पअघि निकै ठूलो भए पनि भूकम्पपछि पोखरीको पानी सुकेर सानो भएको स्थानीय बालकृष्ण तमाङले बताए ।

३४ सय मिटर उचाइमा रहेको हिलेपोखरी पुग्न कालिन्चोक मन्दिरबाट झन्डै ढेड घण्टा पैदल यात्रा गर्नुपर्ने स्थानीयको भनाइ छ । चरिकोटबाट सवारीसाधनमार्फत कुरी पुगी केबुलकार हुँदै कालिन्चोक मन्दिर स्थल पुग्ने पर्यटकहरु पैदलयात्राको लागि हिलेपोखरी पुग्न सक्ने कुरीमा रहेको सुनपाती होटलका सञ्चालक एवम् पर्यटन व्यवसायी हरि ओली बताउँछन् ।
धार्मिक एवम् प्राकृतिक महत्वको हिलेपोखरी कालिन्चोक पुगेर पैदल यात्रा गर्न चाहने पर्यटकको लागि महत्वपूर्ण गन्तव्य हुन सक्ने पर्यटन व्यवसायी ओलीको भनाइ छ ।