म्याग्दी । एक वर्षको अवधिमा हिमाली जिल्ला म्याग्दीको ३० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । गएको आर्थिक वर्ष २०८१÷०८२ मा कुल ३० हजार ८ सय ६५ जना विदेशी पर्यटकहरुले जिल्लाको भ्रमण गरेका हुन् । अघिल्लो आव ०८०÷८१ मा भने ३१ हजार ३ सय ५४ जना विदेशी पर्यटकहरुले म्याग्दी जिल्लाको भ्रमण गरेका थिए ।

गतवर्ष म्याग्दीको भ्रमणमा २३ हजार ८ सय ६९ जना पर्यटकहरु भित्रिएका छन् भने ६ हजार ९ सय ९७ जना पर्यटकले भ्रमण गरेर बाहिरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी कार्यालयका अनुसार गतभन्दा अघिल्लो आवमा भने २५ हजार ३ सय ३४ जना विदेशी पर्यटकहरु भित्रिएकोमा ६ हजार २० जना पर्यटकहरु जिल्लाको भ्रमण सकेर बाहिरिएका थिए ।
गतवर्ष जिल्ला भित्रिने पुरुष पर्यटकहरु १२ हजार ३ सय ९६ र महिला ११ हजार ४ सय ७२ जना रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो । यसै गरी भ्रमण सकेर बाहिरिनेमा पुरुष पर्यटक ३६ सय २१ र महिला ३३ सय ७६ जना रहेको तथ्याङ्क छ । म्याग्दीको भ्रमणका लागि भित्रिएका र बाहिरिएका कुल पर्यटकको संख्यामध्ये पुरुष १६ हजार १७ जना रहेका छन् भने महिलातर्फ १४ हजार ८ सय ४८ जना पर्यटकहरु रहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।
गतवर्ष सबैभन्दा धेरै कात्तिक महिनामा ५ हजार ८ सय १३ जना र सबैभन्दा कम असार महिनामा ४ सय ८३ जना विदेशी पर्यटकहरुले म्याग्दीको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले राखेको तथ्याङ्कमा उल्लेख गरिएको छ । म्याग्दी जिल्लाको भ्रमण गर्न अफ्रिका, अमेरिका, अस्ट्रेलिया, बहराइन, बेल्जियम, ब्राजिल, बेलायत, चिली, चाइना, रसिया, कोलम्बिया, डेनमार्क, फिनल्यान्ड, जापान, फ्रान्ससहित विदेशका विभिन्न मुलुकहरुबाट पर्यटकहरु आएको तथ्याङ्क छ । म्याग्दीको भ्रमणमा अधिकांश पर्यटकहरु कास्कीको घान्द्रुकबाट पुनहिल, घोरेपानी तथा ढोरपाटन सिकार आरक्षबाट पश्चिम म्याग्दी भएर तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत आवतजावत गर्ने गर्दछन् ।
पर्यटकहरु कम आउनुमा खास गरी आर्थिक मन्दी मुख्य रहेको छ भने प्रतिकूल मौसम र सरकारले ल्याउने पर्यटक लक्षित नीतिहरुको कारणले पनि पर्यटक घटेको अनुमान गरिएको छ । तर कोरोना र लकडाउनपछि पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्लो समय म्याग्दी जिल्लामा भ्रमण गर्ने पर्यटकहरुको सङ्ख्यामा भने क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । म्याग्दीको भ्रमण गर्न आउने पर्यटकहरु अधिकांश सडकमार्ग भएर आउने गर्दछन् । पर्वतको मालढुङ्गा हुँदै बेनी, पश्चिमी क्षेत्र दरबाङ, उत्तरी भुरुङ–तातोपानी नाका र मुस्ताङबाट म्याग्दीको भ्रमणमा पर्यटकहरु आउँछन् ।
यसै गरी कतिपय पर्यटकहरु टे«किङ एजेन्सीमार्फत सिधै हवाई मार्ग भएर पनि जिल्लाको भ्रमणमा आउने गरेका छन् भने हिमालपारिको जिल्ला मनाङ हुँदै मुस्ताङ भएर पनि पर्यटकहरु म्याग्दी जिल्लामा भित्रिने गर्दछन् । होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सचिव एवं होटल याक बेनी प्रालिका सञ्चालक ताराप्रसाद आचार्य (बाबुराम)ले कोभिडपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढेको बताउनुभयो । उहाँले म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटकहरुको बसाइ लम्ब्याउनको लागि आवश्यक भौतिक पूर्वाधारहरुको निर्माण गर्नुका साथै नीतिगत सुधार गरी पर्यटनमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थल र क्षेत्रहरुको विदेशी पर्यटकहरुले भ्रमण गर्ने गरेका छन् । म्याग्दीको भ्रमणमा आउने अधिकांश पर्यटकहरु घोरेपानी, पुनहिल, फुलबारी, महरेडाँडा, खोप्रालेक, रुप्से तथा नारच्याङ झरना, संसारकै गहिरो अन्धगल्छी, राउन्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा ट्रेकिङ गर्न, धौलागिरि, अन्नपूर्ण र गुर्जा हिमालको आरोहण गर्नका लागि आउने गरेको पाइन्छ । त्यस्तै सिङ्गा, भुरुङ–तातोपानी, पाउद्वारलगायत स्थानमा रहेका तातोपानीका कुण्डमा स्नान गर्न, पर्यटकीय क्षेत्र टोड्के, धार्मिक क्षेत्र गलेश्वरधाम, पौलस्त्य पुलहाश्रम, जगन्नाथधाम, केभहिल, स्वर्गाश्रम एवं मालिका मन्दिर, ताकम कोतलगायत क्षेत्रको दर्शन गर्न र ती ठाउँबाट देखिने मनोरम दृश्यावलोकन गर्नका लागि पर्यटकहरु आउने गरेका छन् ।
म्याग्दीमा रहेका विभिन्न ताल र झरनामा पनि पर्यटकहरु पुगेर रमाउने गर्छन् । पछिल्लो समय नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएपछि विदेशी पर्यटकको तुलनामा स्वदेशी पर्यटकहरु धेरै घुम्ने गरेका छन् । विदेशी पर्यटकको तथ्याङ्क राख्ने गरिए पनि स्वदेशी पर्यटकहरुको तथ्याङ्क राख्ने गरिएको छैन ।
म्याग्दीको भ्रमणमा विदेशीको तुलनामा स्वदेशी पर्यटक नै धेरै आउने गरेको पर्यटन व्यवसायी बताउँछन् । खर्चको हिसाबले पनि विदेशीले भन्दा स्वदेशी पर्यटकहरुले धेरै खर्च गर्छन् ।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव ०८१÷८२ को साउन महिनामा ८३४, भदौ ८७४, असोज ४०२९, कात्तिक ५८१३, मंसिर ३४१४ र पुसमा १६७४ जना पर्यटकले म्याग्दीको भ्रमण गरेका थिए । यसै गरी माघमा १६७५, फागुन २३०४, चैत ५४८७, वैशाख २८३५, जेठ १४४३ र असारमा ४८३ जनाले भ्रमण गरेको तथ्याङ्क छ । यसरी आव ०८१÷८२ मा जम्मा ३०,८६५ जना पर्यटकले म्याग्दीको भ्रमण गरेका थिए ।











प्रतिक्रिया