अभिभावकत्व (प्यारेन्टिङ) भन्नाले बच्चाको जन्मपश्चात् हुर्काउँदा अभिभावकले उनीहरुको शारीरिक, मानसिक, भावनात्मक र सामाजिक विकास गराउने प्रक्रिया हो । दैनिक जीवनमा गाँस, बास र कपासको आवश्यकता पूरा गरेपछि जीवन सफल बनाउन उनीहरुलाई आत्मनिर्भर, जिम्मेवार नागरिक बनाउने कला पनि हो यो । जुनसुकै बालबालिकाले आफ्ना अभिभावक तथा शिक्षकबाट सिकेका मूल्य र भावनाहरु उनीहरुका लागि स्थायी हुने गर्दछन् ।
आज नेपाली समाजमा अभिभावकत्व र जिम्मेवारीका कुरा पूर्णरुपमा लागू हुन सकेको देखिँदैन । बालबालिकाको व्यवहार व्यवस्थित गराउने र भविष्यमा सक्षम बनाउने कुरा चुनौतीका रुपमा आएका छन् । यस सन्दर्भमा विशेष गरी विद्यालयका शिक्षक तथा अभिभावकले ठूलो जिम्मेवारी लिनुपर्ने हुन्छ ।
अभिभावकत्वलाई प्रभावकारी बनाउन परिवार, विद्यालय तथा संस्थागत संरचनामा विशेष ध्यान दिनुपर्ने खाँचो छ । तर आधुनिक युगको प्रविधि जस्तै– मोबाइल, टेलिभिजन, इन्टरनेटले अभिभावकत्वमा असर पारिरहेको छ । त्यसैले समयमै अभिभावक सचेत भई बालबालिकासँग समय व्यतीत गर्नुपर्ने, उनीहरुको भावना बुझ्ने र व्यवहारमा सुधार ल्याउनुपर्ने हुन्छ ।
२० देखि ४० वर्षअगाडि हुर्केका अभिभावक र शिक्षकको मानसपटलमा गाली र पिटाइ पनि अभिभावकत्वको पाटो हो भन्ने रहेको छ तर आजको समयमा पिटाइ उचित ठानिदैन । बरु अभिभावक र शिक्षकले माया, अनुशासन र सल्लाहमार्फत बालबालिकालाई मार्गदर्शन गर्नुपर्ने हुन्छ ।
पहिला–पहिला शिक्षकले विद्यार्थीलाई कहिले पिट्ने त कहिले चोर औँला र माझी औँलाको बीचमा कलम हालेर दुखाउने, कहिले केही कमजोर विद्यार्थीलाई कुरै नबुझी होच्याउने र यातना दिने गर्थे । त्यस्तै अभिभावकहरू विशेष गरी कतिपय बुबाहरूले पनि छोराछोरीले भनेको नमान्दा वा कुनै गल्ती गर्दा मरणासन्न हुने गरी सजाय दिन्थे । तर यो व्यवहारले गर्दा त्यस्ता सजाय दिने शिक्षक र विद्यार्थी अनि सजाय दिने बुबा र छोराछोरीको सम्बन्धमा चिसोपन रहिरहने पनि हुन्थ्यो । ४० वर्षअगाडिका घटनासमेत बदलाको रूपमा मनमा बसिरहन सक्थ्यो । त्यसैले अभिभावकत्व ग्रहण गर्नेले यस्ता कुरामा ख्याल गर्नै पर्छ ।
बालबालिका अनुशासनमा रहन सकून् भन्ने उद्देश्यले विद्यालयले ठूलो योगदान दिन सक्छ । विद्यार्थीलाई पढाइमा अनुशासित बनाउन गल्ती गर्दा सजाय होइन, बालबालिकाको भावना बुझी सल्लाह दिने कार्य गर्न सक्छ । यसले गर्दा उनीहरुको भावना बुझ्न र उनीहरुसँग सहकार्य गर्न सहयोग पुग्छ । उनीहरुको समस्याका बारेमा अभिभावक, अग्रज र शिक्षकले बुझेर सोही अनुसार व्यवहार गर्नुपर्छ ।
अभिभावकत्वका विषयमा सरकारले अभिभावक र शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्ने देखिन्छ, जसले गर्दा गाली गरेर र पिटेर विद्यार्थीलाई अनुशासित बनाउँछु भन्ने अभिभावक एवं शिक्षकको धारणामा परिवर्तन आई जिम्मेवारीबोध हुनेछ । फलस्वरुप बालबालिकालाई गरिने व्यवहारमा परिवर्तन आउनेछ ।
अभिभावकत्वका विषयमा सरकारले अभिभावक र शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्ने देखिन्छ, जसले गर्दा गाली गरेर र पिटेर विद्यार्थीलाई अनुशासित बनाउँछु भन्ने अभिभावक एवं शिक्षकको धारणामा परिवर्तन आई जिम्मेवारीबोध हुनेछ । फलस्वरुप बालबालिकालाई गरिने व्यवहारमा परिवर्तन आउनेछ ।
साथै शिक्षक वा अभिभावकहरु बालबालिकासँग साथीजस्तै खुलेर व्यवहार गर्न सक्नेछन् भने बालबालिकाहरु पनि खुलेर आफ्ना समस्या राख्न सक्ने हुन्छन् । साथै बालबालिकाहरु समाजमा हुने मानसिक स्वास्थ्य समस्या, हिंसा, दुव्र्यसन आदिका बारेमा समेत बोल्न सक्ने हुन्छन् । यसले गर्दा भविष्यमा हुन सक्ने कुनै अप्रिय घटनाबाट उनीहरुलाई बचाउन मद्दत पुग्नेछ ।
बालबालिकालाई जानी–नजानी अरूको अगाडि वा समूहमा अपमान गर्ने, अपशब्द बोल्दै गाली गर्ने, पिट्ने गर्नुहुँदैन । यसो गर, त्यसो नगर भन्दै डर देखाएर कुनै कडा नियम सिकाउन पनि सकिँदैन । बरु बालकजस्तै अबोध बनेर उनीहरूसँग बहस नगरी उनीहरूलाई बुझ्ने र त्यसपछि नम्रतापूर्व बुझाउने कोशिश गर्नुपर्छ । यस्ता अभिभावकत्वसम्बन्धी कुरा गर्दा कार्यान्वयनमा सजिलोजस्तो लागे पनि व्यावहारिक रूपमा चुनौतीपूर्ण नै छ । यदि कोशिश गरेमा सफलता अवश्य मिल्नेछ ।











प्रतिक्रिया