बरियता र कार्यसम्पादनमा आधारित प्रहरी नेतृत्व : सुशासनको दिशा

46.53k
Shares

नेपाल प्रहरी देशको शान्ति, सुरक्षा, अपराध नियन्त्रण र जनविश्वास कायम राख्ने जिम्मेवारीसहित सदैव अग्रपंक्तिमा खटिने संवेदनशील संस्था हो। यस्तो संस्थाको नेतृत्व चयन सधैं पारदर्शी, निष्पक्ष र न्यायोचित हुनु अपरिहार्य हुन्छ। तर, विगतका दशकमा हामीले नेतृत्व चयनमा राजनीतिक हस्तक्षेप, स्वार्थ र अस्वाभाविक चलखेलको अभ्यास बारम्बार देख्दै आएका छौँ। बरियतामा रहेका अधिकृतलाई छोडेर राजनीतिक निकटता भएका अधिकारीलाई नेतृत्वमा ल्याउने प्रवृत्तिले संगठनभित्र असन्तोष मात्र होइन, कार्यक्षमता र मनोबलमा गम्भीर चोट पुर्‍याएको छ।

यसपटक भने सरकारले नेपाल प्रहरीको प्रहरी  महानिरीक्षक (IGP) पदमा चन्द्र कुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ। यो निर्णय महत्त्वपूर्ण छ, किनकि बरियता र कार्यसम्पादनलाई आधार मान्दै गरिएको यस नियुक्तिले प्रहरी संगठनलाई नयाँ ढङ्गले अघि बढाउने सन्देश दिएको छ। बरियताभन्दा तलका अधिकृतलाई प्राथमिकता दिने गलत अभ्यासलाई यसपटक रोकेर वरिष्ठतम अधिकृतलाई जिम्मेवारी सुम्पनु लोकतान्त्रिक सुशासनको सकारात्मक अभ्यास हो।यसको लागि नेपाल सरकार लाई धन्यवाद नदिई रहन सकिँदैन।

बरियताको मूल्य:

बरियता भन्नाले केवल पदमा बिताएको समय मात्र बुझिँदैन। यसले अनुभव, जिम्मेवारी निर्वाहको निरन्तरता र संगठनप्रतिको योगदानलाई पनि जनाउँछ। बरियता सम्मानित हुने प्रणालीले संगठनभित्र निष्पक्ष प्रतिस्पर्धा र पारदर्शी भविष्यको सुनिश्चितता दिन्छ। जब अधिकारीहरूले आफ्नो मेहनत र समयको मूल्यांकन हुन्छ भन्ने विश्वास गर्छन्, तब उनीहरूको कार्यसम्पादन अझै प्रभावकारी हुन्छ। जसको असर जनतामा सकारात्मकता मा वृद्धि हुन्छ भने सेवा प्रवाह राम्रो हुदा सरकार प्रती जन बिश्वासमा बढोत्तरी हुन्छ नै। तर  बरीयतालाई बेवास्ता गर्ने प्रवृत्तिले भने संगठनलाई विभाजित र कमजोर मात्र बनाउँछ भने सुरक्षा निकायबाट हुने सेवा प्रवाह पनि कमजोर हुन्छ जसले गर्दा सुशासन कागजमा मात्र सिमित रहन पुग्दछ ।

कार्यसम्पादनको महत्त्व:

बरियता मात्र पर्याप्त हुँदैन। नेतृत्वका लागि कार्यसम्पादन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। आफ्नो कार्यकालमा देखाएको सत्यनिष्ठा, दक्षता, निर्णय क्षमता र जनउत्तरदायित्व नै नेतृत्वको मापन गर्ने आधार हो। यसपटक चन्द्र कुबेर खापुङलाई नियुक्त गर्दा यी दुवै पक्षलाई मूल्याङ्कन गरिएको देखिन्छ। यसरी बरियता र कार्यसम्पादन दुबैलाई सन्तुलित रूपमा सम्मान गर्नु संस्थागत स्थायित्व र विश्वास निर्माणको ठोस आधार हो।

प्रधानमन्त्री ओलीको भूमिका:

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विगतमा पनि सुरक्षासम्बन्धी निर्णयहरूमा बरीयतालाई महत्त्व दिइँदै आएको छ। यसपटक पनि त्यही अभ्यासको निरन्तरता देखिएको छ। सुरक्षा निकाय जस्तो संवेदनशील संस्थालाई ‘भाडभैलो ताल’मा होइन, ‘व्यवस्थित लय’मा अघि बढाउने दृष्टिकोणलाई उहाँले कायम राख्नु प्रशंसनीय छ। यही कारणले यस निर्णयप्रति प्रहरी संगठनभित्र मात्र होइन, आम नागरिकमा पनि सकारात्मक सन्देश गएको छ।

दीर्घकालीन प्रभाव:
बरियता र कार्यसम्पादनमा आधारित नेतृत्व छनोटले छोटो समयमा मात्र होइन, दीर्घकालीन रूपमा पनि संगठनलाई लाभ पुर्‍याउँछ।

मनोबल वृद्धि: संगठनभित्रका अधिकृतहरूले आफ्नो भविष्य निष्पक्ष प्रणालीमा निर्भर हुन्छ भन्ने विश्वास गर्न पाउँछन्।

राजनीतिक हस्तक्षेप न्यूनीकरणः नेतृत्व छनोटमा पारदर्शिता आएपछि राजनीतिक स्वार्थका लागि हुने चलखेल स्वतः घट्छ।

जनविश्वास मजबुतिः प्रहरी नेतृत्व निष्पक्ष र न्यायपूर्ण रूपमा चयन हुँदा सर्वसाधारणमा संस्थाप्रतिको विश्वास बढ्छ।

सुशासन प्रवर्द्धन: पारदर्शी अभ्यासले लोकतान्त्रिक मूल्य र सुशासनलाई बलियो बनाउँछ।

निष्कर्ष

नेपाल प्रहरीको हालको नेतृत्व चयनले संगठनलाई प्राकृतिक लयमा अघि बढाउने बाटो देखाएको छ। बरियता र कार्यसम्पादनलाई आधार मानेर गरिएको यो निर्णयले प्रहरी सेवामा रहेका अधिकृतहरूलाई न्यायको अनुभूति दिलाएको छ भने संगठनको भविष्यलाई समेत सुरक्षित बनाएको छ।

चन्द्र कुबेर खापुङलाई नेतृत्वको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना दिँदै, नेपाल प्रहरीले आफ्नो ध्येय शान्ति, सुरक्षा,सेवा र अनुसंधान  तथा कारबाहीलाई अझ मजबुत बनाउन सफल होस् भन्ने अपेक्षा गरिन्छ। साथै, सरकार र प्रधानमन्त्री ओलीलाई आगामी दिनमा पनि सुरक्षा निकायलाई बरियता र कार्यसम्पादनकै आधारमा अघि बढाउने दृढतामा रहोस् भन्ने विश्वास व्यक्त गर्न चाहन्छौँ।

लेखक पूर्व डिएसपी हाल अधिवक्ता हुन