‘हजुर म आरामै छु’ भन्न पाउनु हाम्रो ‘अहोभाग्य’ हो । ‘ म पनि आरामै छु’ भनेको सुन्न पाउनु हाम्रो ‘सौभाग्य’ हो । हामी कोही पनि समवेदना, श्रद्धाञ्जलि व्यक्त गर्न चाहँदैनौँ । बरु स्वागत गर्न, बधाई र शुभकामना दिन मन पराउँछौँ । पाइरहेको माया गुमाउन चाहँदैनौँ । गरिरहेको माया गरिरहन नै चाहन्छौँ । विछोडको पीडा होइन, सधैँ मिलनको खुशी हामी चाहन्छौँ । कोहीसँग ‘छुट्टिएर’ होइन, ‘भेटिएर’ बाँच्न चाहन्छौँ ।
आजको र अहिलेको समयमा ‘हजुर म आरामै छु’ भन्न पाउनु र यति कुरा सुन्नु सुखद समाचार हो । हामी सधैँ सुखद समाचारकै प्रतीक्षामा हुन्छौँ । कहिले पनि दुखद समाचारको सन्देश सुन्न नपरोस् भन्ने इच्छा सबैको हुन्छ । तर अनायसै ‘आराम छु’ भन्दाभन्दै ‘बिसन्चो’ भइदिन्छ । सुखद समाचार सुन्न परोस् भन्दाभन्दै अप्रत्याशित कहिल्यै नसोचेको दुःखद समाचारले हामीलाई ठूलो पीडा दिन्छ ।
त्यसैले हामी सबैको साझा चाहना र एउटै इच्छा ‘स्वस्थ रहनु’, ‘आराम हुनु’, बिसन्चोको बिरामीले ओछ्यानमा थला नपर्नु हो । यो सुखद समाचारका साथ अरू कसैको सन्दर्भमा कुनै अप्रिय घटना वा दुःखको समाचार सुन्न कहिले पनि नपरोस् भन्ने हाम्रो चाहना हुन्छ ।
परन्तु हामीले चाहेर हाम्रो चाहनाले साकार रूप लिन सक्दैन । कहिलेकाहीँ त साकार होला । तर, कुनै बेला अप्रिय घटनाले हामीलाई नराम्ररी दुःखको दहमा चोबलिदिन्छ । हामी आफैँ पनि कुनै दिन, कुनै नसोचेको र आफैँलाई थाहा नभएको रोगले थला पर्न पुग्छौँ । त्यतिबेला ‘म आरामै छु’, ‘म स्वस्थ छु’ भन्न सकिँदैन ।
सोध्ने आफन्तले वा थाहा पाउने प्रियजनले हाम्रो अस्वस्थताका विषयमा गम्भीर चासो र चिन्ता लिन्छन् । यो स्वाभाविक हो कुनै पनि प्रियजन वा आफन्त सधैँ स्वस्थ र आरामै रहेको समाचार सुन्न हामी इच्छुक हुन्छौँ । किनभने ‘म आरामै छु’ भन्न पाउनु वास्तवमा जीवनको ‘सुन्दरतम सुख’ हो ।
कसैले हामीलाई सोध्छ– ‘तिमीलाई कस्तो छ ?’ अक्सर हाम्रो पहिलो जवाफ हुन्छ– ‘म आरामै छु ।’ यो जवाफ कहिलेकाहीँ सत्य हुन्छ, जब हाम्रो जीवनमा सबै कुरा सामान्य चलिरहेको हुन्छ । तर, कहिलेकाहीँ यो एउटा यस्तो मुखुण्डो हुन्छ, जसभित्र आँसु र पीडाको महासागर लुकेको हुन्छ । हामी यो मुखुण्डो लगाउँछौँ ताकि हाम्रा पीडाहरूले अरूलाई दुःखी नबनाओस् । हामी भित्रभित्रै टुटेका हुन्छौँ, तैपनि मुस्कानसँगै भन्छौँ– ‘म आरामै छु ।’
‘म आरामै छु’ भन्नुमा एउटा ठूलो साहस लुकेको हुन्छ । यो साहस हो, आफ्नो पीडालाई आफैँसँग राख्ने, अरूको सहानुभूति खोज्ने बानीबाट टाढा रहने र आफ्नो समस्या आफैँ समाधान गर्ने । हामी यो भन्दै गर्दा, हाम्रो मनभित्र एउटा आँधी चलिरहेको हुन्छ । प्रियजन गुमाएको पीडा, असफल भएको निराशा वा कुनै कुराले मनमा गहिरो चोट पुगेको घाउ, यी सबैलाई लुकाएर हामी आफूलाई सबल देखाउने कोसिस गर्छौँ ।
वास्तवमा, यो ‘म आरामै छु’ भन्नुको अर्को पाटो पनि छ । यो पाटो हो, जीवनप्रति हाम्रो स्वीकारोक्ति । हामीलाई थहा छ जीवन भनेको सुख र दुःखको संगम हो । यहाँ सबथोक हाम्रो इच्छानुसार हुँदैन । त्यसैले, जब हामी भन्छौँ, ‘म आरामै छु’, यसको अर्थ यो पनि हुन सक्छ कि, जे भयो, त्यो भयो । अब म अगाडि बढ्न तयार छु । यो कुनै पलायन होइन, बरु यो एउटा नयाँ शुरुवातको घोषणा हो ।
त्यसैले ‘म आरामै छु’ भन्नु र सुन्नु जीवनको सुन्दरतम् सुखको सन्देश हो ।
जीवनको दौडधूपमा, हामी सबै आफूलाई ‘व्यस्त’ भन्न रुचाउँछौँ । बिहान आँखा खुल्नेबित्तिकै शुरु हुने कामहरूको सूची, दिनभरिको भागदौड र रातमा पनि दिमागमा घुमिरहने योजनाहरू । यसै क्रममा, हामी एकार्कालाई भेट्दा प्रायः सोध्छौँ– ‘के छ खबर ?’ अनि जवाफमा आउँछ, ‘चल्दै छ, के गर्नु व्यस्त छु ।’ तर, के हामीले कहिल्यै सोचेका छौँ, यो व्यस्तताले हामीलाई साँच्चै आनन्द दिइरहेको छ ?
यो भीडभाडबाट पर, एकान्तमा बसेर जब हामी गहिरो सास फेर्छौँ, तब मात्र हामीले जीवनको एउटा फरक पाटो देख्छौँ । त्यो पाटो जहाँ कुनै प्रतिस्पर्धा छैन, कुनै हतार छैन र कुनै गुनासो छैन । त्यो शान्त क्षणमा, मनले एउटा मीठो मुस्कानका साथ भन्छ– ‘म आरामै छु ।’
‘म आरामै छु’ भन्नुको अर्थ केवल शारीरिक रूपमा ठीक हुनु मात्र होइन । यो त एउटा गहिरो आत्मसन्तुष्टिको अभिव्यक्ति पनि हो । यसको अर्थ हो, हामीले आफूलाई वर्तमानमा स्वीकार गरेका छौँ । हामीले जीवनमा भइरहेका सानातिना कुराहरूलाई पनि खुशीको स्रोत मानेका छौँ । बिहानको चियाको कप, झ्यालबाट देखिएको प्रकृति र घामको किरण, चराहरूको चिरबिर आवाज र प्रियजनसँगको एकछिन्को मीठो कुराकानी नै हामीलाई पर्याप्त लागेको छ ।
यसरी हामी आरामै हुँदा हामीलाई ठूला सफलता वा धेरै धनको आवश्यकता महसुस हुँदैन । हामी बुझ्छौँ जीवनको वास्तविक सुख त साना र साधारण कुराहरूमा लुकेको हुन्छ । हामी बाहिरी संसारको होडबाजीबाट अलग भएर आफ्नै भित्री शान्तिमा रमाउन थाल्छौँ । यो अवस्थामा मन एकदमै हल्का हुन्छ, सोचाइहरू सकारात्मक बन्छन् र हामी अरूको खुशीमा पनि खुशी हुन सक्छौँ ।
‘म आरामै छु’ भन्ने सन्देशले हामीलाई यो सिकाउँछ कि जीवनलाई त्यसकै गतिमा बग्न दिनुपर्छ । सबै कुरा हाम्रो नियन्त्रणमा नहुन सक्छन्, तर हामीसँग आफ्नो मनलाई शान्त राख्ने शक्ति भने अवश्य हुन्छ । यो सन्देशले हामीलाई धैर्य गर्न, कृतज्ञ हुन र जीवनको हरेक पललाई उत्सवका रूपमा मनाउन प्रेरित गर्छ ।
त्यसैले, अब जब कोही तपाईलाई सोध्छ– ‘के छ खबर ?’ तब ‘व्यस्त छु’ भन्नुको सट्टा एकपटक मुस्कुराएर भन्नुहोस्, ‘म आरामै छु ।’ यो शब्दले सुन्नेलाई पनि एक किसिमको शान्ति र आनन्दको अनुभूति दिन्छ । किनकि, जीवनको सबैभन्दा ठूलो सफलता नै आफूलाई ‘आरामै छु’ भन्ने अवस्थामा महसुस गर्नु हो । यो नै जीवनको सुन्दरतम् सुखको सबैभन्दा ठूलो सन्देश हो ।
आजको व्यस्त दुनियाँमा कसैले ‘हजुर म आरामै छु’ भन्दा मनमा एउटा सुखद सन्तोषको लहर दौडिन्छ । यो केवल दुई–चार शब्दको वाक्य मात्र होइन, यो स्वस्थ, शान्ति र जीवनको सुखद प्रवाहको प्रतीक हो । हामी सधैँ सुखद समाचारको प्रतीक्षामा हुन्छौँ, दुःखको खबरले मनलाई गहिरो चोट पु¥याउँछ । त्यसैले, जब कुनै प्रियजनको मुखबाट ‘म आरामै छु’ सुनिन्छ, तब मनले एक किसिमको राहत पाउँछ ।
तथापि जीवन अप्रत्याशित घटनाहरूले कहिले कुन बेला के हुन्छ भन्न सकिँदैन । हामी ‘म आरामै छु’ भन्दै गर्दागर्दै अचानक बिसन्चो हुन पुग्छौं । सुखद कुराहरू सुन्न चाहँदाचाहँदै कहिलेकाहीँ यस्ता दुःखद समाचार सुन्नुपर्छ, जसले हामीलाई लामो समयसम्म पीडा दिन्छ । यो जीवनको एउटा कठोर सत्य हो कि हामीले चाहेर पनि सबै कुरा हाम्रो इच्छानुसार हुँदैन । हामी सबैको साझा चाहना स्वस्थ रहनु हो, ओछ्यानमा थला नपर्नु हो, तर जीवनको यात्रामा यस्ता मोडहरू पनि आउँछन् जहाँ हामी अप्रिय घटना वा रोगको सिकार बन्न पुग्छौँ ।
हामी अस्वस्थ हँुदा ‘म आरामै छु’ भन्न सक्दैनौँ । त्यतिबेला हाम्रो चिन्ता र स्वास्थ्यप्रति चासो राख्ने प्रियजनहरूलाई पनि दुःख पुग्छ । उनीहरूको मनमा हामी अस्वस्थ भएको खबरले एउटा पीडाको लहर ल्याउँछ । कुनै पनि आफन्त वा प्रियजन सधैँ स्वस्थ र आरामले रहेको सुन्नु नै उनीहरूको पनि चाहना हुन्छ ।
‘म आरामै छु’ भन्नु एक सन्देश मात्र नभई एक प्रकारको ‘वरदान’ हो । यसले जीवनको त्यो सुन्दर क्षणलाई दर्शाउँछ जहाँ हामी शारीरिक र मानसिक रूपमा स्वस्थ हुन्छौँ । त्यसैले, ‘म आरामै छु’ भन्न सकिरहँदासम्म हामीले यो जीवनको सुन्दर उपहारको कदर गर्नुपर्छ ।
जीवनको यो अनिश्चित यात्रामा ‘स्वस्थ रहनु’ एक यस्तो अमूल्य सम्पत्ति हो, जसको महत्व हामीले बिरामी हुँदा मात्र थाहा पाउँछौँ । त्यसैले, ‘म आरामै छु’ भन्न पाउनु नै सबैभन्दा ठूलो सुखद समाचार हो र यसलाई हामीले सधैँ मनमा राख्नुपर्छ ।
जीवनका रङ्गहरू कति विचित्रका हुन्छन् ! कुनै क्षण हामी मुस्कुराइरहेका हुन्छौँ, आफूलाई पूर्णरूपमा स्वस्थ र खुशी महसुस गरिरहेका हुन्छौँ । यही खुशी र सन्तोषका साथ हामी आफ्ना प्रियजनहरूलाई पनि ‘म आरामै छु’ भन्ने सुखद समाचार दिन्छौँ । यो भनाइ केवल शब्द मात्र होइन, यो एक आश्वासन हो, एउटा भरोसा हो कि सबै ठीकठाक छ । तर, जीवनको यात्रामा कहिलेकाहीँ यस्ता अप्रत्याशित मोडहरू आउँछन्, जसले हाम्रो सम्पूर्ण विश्वासको धरातल नै हल्लाइदिन्छ ।
यसलाई हामीले भर्खरै ‘म आरामै छु’ भनेका थियौँ । एकैछिन्पछि जब हामी बिरामी परेको खबर पुग्छ । उनीहरूका लागि त्यो कुरा पत्याउनु निकै कठिन हुन्छ । उनीहरूको मनमा एक किसिमको द्वन्द्व चल्छ । केही बेरअघि मात्र सुनेको सुखद समाचार र अहिलेको दुःखद खबर, यी दुई कुराको बीचमा उनीहरू अलमलिन्छन् । उनीहरूको मस्तिष्कले यो वास्तविकता स्वीकार गर्न मान्दैन, किनभने विश्वासको जग यति छिटो हल्लिन्छ भन्ने उनीहरूले कहिल्यै सोँचेका हुँदैनन् ।
तर, जीवनको वास्तविकता र परिस्थितिको कठोरताले हामीलाई त्यही कुरा स्वीकार गर्न बाध्य बनाउँछ, जुन हामीले कल्पनासम्म गरेका थिएनौँ । जुन क्षण हामीले आरामको सास फेरेका थियौँ, त्यही क्षण केही समयपछि बिरामीको खबर सुन्नुपर्दा मनमा गहिरो चोट लाग्छ । यो एक अनायासै आउने झट्का हो, जसले हाम्रो धैर्य र आत्मबलको परीक्षा लिन्छ ।
यस्तो अवस्थामा विवाद वा शङ्का गरिरहनुको कुनै अर्थ हुँदैन । हामीले स्वीकार गर्नुपर्छ, जीवन हाम्रो चाहनानुसार चल्दैन । यो आफ्नै गतिमा बगिरहन्छ । यसका अप्रत्याशित उतार–चढावहरूलाई स्वीकार गर्नु नै बुद्धिमानी हो । यस्ता दुःखद क्षणहरूमा धैर्य, आत्मबल र साहस नै हाम्रा सबैभन्दा ठूलो हतियार बन्छन् । यी शक्तिहरूले नै परिस्थितिलाई नियन्त्रणमा लिई हामीलाई अगाडि बढ्न प्रेरित गर्छन् । जीवनको यो यथार्थलाई बुझेर अगाडि बढ्नु नै जीवनको सबैभन्दा ठूलो पाठ हो ।











प्रतिक्रिया