नयाँ माइतीघरलाई लोभलाग्दो पुरानो वसन्त नै बस्न खोज्छ यहाँ


विजया दशमीको अवसर पारेर फूलपातीको दिन असोज १३ गते रिलिजमा आउने फिल्म माइतीघरको शीर्ष गीत सार्वजनिक गरिएको छ।
ओएसआर डिजिटलमार्फत सार्वजनिक वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर बोलको नयाँ भर्सनको गीत भारतीय गायिका सञ्जिवनीले गाएकी छन्। गीतमा किरण खरेलको शब्द र स्व. जयदेवको संगीत रहेको छ। गीतको पुरानो संस्करण भारतीय गायिका आशा भोसलेले गाएकी थिइन्। निर्माता रोहित अधिकारी र उनको टिमले जमानाको सुपरहिट फिल्म माइतीघरको बहुचर्चित गीतलाई नयाँ रूपका साथ पुनः बजारमा ल्याएको हो। गीत सार्वजनिक गरिएस“गै निर्माण टिमले भिडियो प्रतियोगिताको घोषणा गरेको छ। ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउने सहभागीमध्ये एक जनाले ५ लाख रुपैया“ नगद जित्ने अवसर पाउनेछ।

गीतको भिडियोमा नायिकाद्वय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन्। आकर्षक लोकेशन, उत्कृष्ट छायांकन र शब्दअनुरूपको दृश्यले भिडियोलाई थप लोभलाग्दो बनाएको छ। लोकप्रिय कोरियोग्राफर कविराज गहतराजले भिडियोमा मनमोहक नृत्य कम्पोज गरेका छन्। भिडियोमा छायांकन मानकृष्ण महर्जन र सुशन प्रजापति तथा सम्पादन सुरेन्द्र पौडेलको रहेको छ।

मिलन तामाङद्वारा निर्देशित फिल्म रबिन शेरचन र धीरज तामाङले निर्माण गरेका छन् भने कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल रहेका छन्। कथा चन्द्रकुमार दोङ तथा पटकथा र संवाद रामशरण पाठकको रहेको फिल्ममा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायतका कलाकारले अभिनय गरेका छन्।