मोडल तथा साहित्यकार जेनिशा मानन्धरको उपन्यास राजमती रिइम्याजिन्ड हालै अस्ट्रेलियाको सिड्नीबाट सार्वजनिक गरिएको छ।
प्रोजेक्ट बाक्खा प्रोडक्सनले सिड्नीमा पहिलोपटक कार्यक्रम आयोजना गर्दै सो उपन्यास सार्वजनिक गरेको हो। नेपाली समुदाय, साहित्यप्रेमी र संस्कृति रुचाउनेहरूको सहभागितामा लेखक मानन्धरले पुस्तकको अंश वाचन गरेकी थिइन् भने सहभागीहरू प्रश्नोत्तर, पुस्तक हस्ताक्षरजस्ता रोचक गतिविधिमा संलग्न भएका थिए।
राजमती रिइम्याजिन्ड नेपाल भाषाको चर्चित गाथा राजमतीको आधुनिक पुनर्कल्पना भएको मानन्धरले बताइन्। मौलिक लोकगीतले राजमतीलाई सौन्दर्यको प्रतीकका रूपमा प्रस्तुत गरे पनि उपन्यासमा उनलाई समसामयिक दृष्टिकोणबाट चित्रण गरिएको छ। पुस्तकले प्रेम, मित्रता र आत्म–उपचारका कथा उनेको छ। साथै लोकगीत, फिल्म र सांस्कृतिक सन्दर्भलाई संकेत गर्ने विभिन्न इस्टर–एग समावेश गरिएका छन्।
‘यो पुस्तक मेरो संस्कृतिप्रतिको प्रेम हो, जुन नयाँ पुस्तालाई नेवार संस्कृति चिन्न मद्दत गराउने प्रयास पनि हो’ कार्यक्रममा बोल्दै लेखक मानन्धरले भनिन्।

काठमाडौंमा जन्मे–हुर्केकी जेनिशा सानैदेखि साहित्य संस्कृति र कथा कथनमा रुचि राख्ने गर्थिन्। हाल सिड्नीमा बसोबास गर्दै उनले बहुसांस्कृतिक अनुभव र मानवीय भावनाको सूक्ष्म अवलोकनलाई आफ्ना लेखनमा उतार्दै आएकी छन्। सन् २००३ को किड क्विनकी सेकेण्ड रनर्सअप रहेकी उनी नेप्लिज फेशन होमकी चिफको अर्डिनेटरको रूपमा मिस नेवाः प्रतियोगितामा सक्रिय रहँदै आएकी थिइन्। लीभ ईट इन्टरटेन्मेन्टमार्फत भाषा नेवारी संस्कृति, संस्कृति संरक्षणका लागि विभिन्न गतिविधिमार्फत सक्रिय भूमिका खेल्दै आएकी उनले अस्टे«लियामा रहेर पनि सांस्कृतिक टेलिफिल्म निर्माण गरेर युट्युबमार्फत सार्वजनिक गर्र्दै आएकी छन्।
लस्ट लेटर्स (पहिलो उपन्यास), मुभिङ फर्वर्ड र लुमन्तीज मेमोरी उनका प्रकाशित पुस्तक हुन्। राजमती रिइम्याजिन्ड उनको चौथो पुस्तक हो। प्रोजेक्ट बाक्खा प्रोडक्सनले प्रकाशन गरेको पुस्तक अमेजन, अमेजन किन्दल र प्रोजेक्ट बाक्खा स्टोरमार्फत विश्वव्यापी रूपमा उपलब्ध छ।











प्रतिक्रिया