तनहुँबाट शुरू भयो आबाट आमा


अभिनेता पल शाह मुख्य भूमिकामा रहने फिल्म आबाट आमाको हालै तनहुँको गलेश्वर मन्दिरमा करिब दुई सय जना बटुकले सामूहिक हवनसहित पूजाआर्चना गर्दै शुभमुहूर्त गरिएको छ।

पलका साथमा विपना थापा, सिम्रन पन्त, उषा उप्रेतीलगायतका कलाकारले अभिनय गर्ने फिल्ममा दक्षिण भारतीय कलाकार प्रदीप रावत पनि देखिनेछन्। आमा र सन्तानबीचको स्नेह र सम्बन्धको भावनात्मक कथा रहेको फिल्म फागुन १५ गते देशभर प्रदर्शनमा आउने तय गरिएको छ। विदेशतर्फ अष्ट्रेलिया र न्यूजिल्यान्डमा यसको प्रदर्शन अधिकार हिमारु इन्टरटेन्मेन्टले खरिद गरिसकेको छ भने नेपालमा वितरणको जिम्मा आरआर फिल्म्स्ले लिएको छ।

मुहूर्तसँगै फिल्मको छायांकन पनि शुरू गरिएको छ। निर्देशक चन्द्र पन्तका अनुसार करिब एक महिनासम्म चल्ने छायांकन चितवन, काठमाडौं र भारतको हैदरावादमा हुने छ। फिल्मका निर्माता कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाशजंग कुँवर हुन् भने कार्यकारी निर्माता करण सिंह रहेका छन्। फिल्ममा संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम तथा छायांकन निर्देशन नवराज उप्रेतीको रहनेछ।