तपाईंको सफलता तपाईंबाटै प्रारम्भ हुन्छ

1.88k
Shares

हाम्रो समाजमा मूलतः दुईवटा पुस्ता छन् । हिजोआज हरेक मानिसले मेरै कुरा सुनून् भन्ने चाहना राखेको पाइन्छ । दुई पिँढीका बीचमा दूरी बढिरहेको छ । यो दूरी पहिलेदेखि नै रहिरहेको छ तर हिजोआज केही बढी नै भइरहेको छ । जति पनि आमाबुबा हुनुहुन्छ, उहाँहरूमा के समस्या भइरहेको छ भने– ‘उहाँहरूले अब बालबालिकालाई के सिकाउने ! उहाँहरू र बालबालिकाबीचको दूरीलाई कसरी घटाउने ?’ वास्तवमा एउटा पुस्ताका मानिसहरू एउटा तरिकाले काम गरिरहेका हुन्छन् भने अर्को पुस्ता आएपछि उनीहरूभन्दा फरक किसिमले काम गर्न थाल्छन् ।

एउटा समय थियो, मानिसहरूले मान्यजनलाई साष्टाङ्ग दण्डवत् गर्ने गर्दथे । अहिले बिस्तारै–बिस्तारै यो चलन पनि बदलिरहेको छ । प्रथाहरू त बदलिरहन्छन् । तथापि, कुरा के हो भने सबैभन्दा पहिला हामीले यस कुरालाई बुझ्नुपर्छ– के सिकाउने ! मानिसहरूले के सिक्नुपर्छ । हामी बालबालिकालाई आदर गर्न सिकाउँछौँ । बालबच्चा सानै हुँदाखेरि यदि कसैले केही दियो भने हामी उनीहरूलाई सिकाउँछौँ, ‘धन्यवाद भन !’ हामी बालबालिकालाई शिष्टाचार सिकाउँछौँ । शिष्टाचार सिकाउनुपर्छ तर यस्तो तरिकाले सिकाउनुपर्छ जुन उनीहरूले बुझ्न सकून् । जबर्जस्ती गरेर त हामी कसैलाई केही सिकाउन पनि सक्दैनौँ ।

संसारमा धेरै कुरा भइरहेका छन् । जस्तो कि नर्वेमा शिक्षाको स्तर एकदमै गिरेको थियो । त्यहाँका मानिसहरूले सोचे– कुनै न कुनै तरिकाले हामीले आफ्नो शिक्षाको स्तरलाई अभिवृद्धि गर्नु आवश्यक छ । फलतः हाम्रो शैक्षिक स्थितिमा सुधार होओस् । उनीहरूले बालबालिकालाई गृहकार्य दिन बन्द गरे । जब बालबालिका बिहान विद्यालयमा जान्थे, उनीहरूमा पढ्ने मन हुँदैनथ्यो । उनीहरू कक्षाकोठामा बस्थे मात्रै तर उनीहरूको ध्यानचाहिँ बाहिर खेल्नमा नै हुन्थ्यो ।

अनि, बिहानदेखि दिउँसोसम्मको स्कुलमा पढाइ हुने समयलाई धेरै नै घटाइयो । पढाइका लागि केवल दुई घण्टाको समय मात्रै राखियो । बाँकी समय खेल्नका लागि छुट्याइयो । यस किसिमको व्यवस्था मिलाइएपछि केटाकेटीहरूले भरपुररूपमा खेल्ने अवसर पाए । जसै कक्षाकोठामा आउँथे उनीहरूको सम्पूर्ण ध्यान केवल पढाइमा नै केन्द्रित हुन्थ्यो । यसरी नर्वेको शिक्षाको स्तरमा निकै सुधार भयो । अन्ततः नर्वे छैटौँबाट पहिलो स्थानमा आइपुग्यो ।

तथापि, के हाम्रो समाज यी कुराहरूलाई अङ्गीकार गर्न तयार छ ? यी जुन आधुनिक तरिका छन्, जुन सफल भएका पनि छन्, जसमा सबैको भलाइ हुन्छ ! त्यसकारण हामी सबै एक हुनु आवश्यक छ । हामी सबै मिलेर एउटा नयाँ खुुट्किलो निर्माण गरौँ, जुन सबैका लागि सफलताको खुट्किलो बनोस् ।

हिजोआज तनाव बढेर धेरै युवाहरू आत्महत्याको बाटो रोजिरहेका छन्, जुन अत्यन्तै विचारणीय पक्ष हो । यदि तपाईँ बेलुनलाई फुकिरहनुहुन्छ, फुकिरहनुहुन्छ भने तपाईँलाई राम्रोसँग थाहा होला त्यो बेलुन के हुनेछ ! प्रारम्भिक अवस्थाबाटै बालबालिकाको दिमागमा सफलताको हावा भरिदिन्छन्– तिमीले केही बन्नुपर्छ, तिमीले केही बन्नुपर्छ ।

परिणामतः उनीहरूको दिमागमा यही कुरा बस्छ– ‘म केही पनि होइन, मैले केही बन्नुपर्छ ।’ यस्तो नबनेपछि उनीहरूले गलत कदम उठाउने सम्भावना बढी हुन्छ ।
यो समस्या बालबालिकाले उब्जाएका होइनन् । यो समस्या त हाम्रै समाजद्वारा निर्मित हो । जब एकजना बालबच्चा मात्रै आफ्नो जीवनलाई समाप्त पार्न विवश बन्छ भने पूरै समाजमा नै सचेतना आउन आवश्यक हुन्छ । बालबालिकाको काम त यो जीवनमा आनन्द लिनु हो । हामीले उनीहरूलाई यस जीवनका लागि प्रेरित गर्नुपर्दछ, किनभने उनीहरूले आफ्नो बालापनलाई गुमाइसकेका छन् ।

सफलताको रोग एकदमै घातक हुन्छ । यसले तपाईँलाई सफलीभूत तुल्याउँदैन । तपाईंको सफलता तपाईंबाटै प्रारम्भ हुन्छ अनि त्यो सफलता एउटा पुष्पसमान हुन्छ । त्यसमा पानी हाल्नुहोस्, त्यो आफै फुल्छ । त्यसको पातलाई चुँडेमा त्यो फुल फुल्न सक्दैन, चाहे तपाईं जतिसुकै कोशिश गर्नुहोस् । त्यो फुललाई फक्रन दिनुहोस् । सफलता त पहिलादेखि नै तपाईंभित्रै छ, जुन दिन तपाईंले श्वास लिनुभयो, तपाईं सफल हुनुभयो । अनि जबसम्म तपाईंभित्र श्वास आइरहेको छ र गइरहेको छ, तपाईं सफल हुनुहुन्छ ।

यो समस्या अत्यन्तै गम्भीर समस्या हो । एकजना बच्चाले आत्महत्या गर्नु भनेको पनि ठूलो विडम्बना हो । एकजनाले पनि आत्महत्या गर्नुहुँदैन । यो समय त्यसका लागि होइन । अँध्यारोका लागि यो समय होइन, यो त उज्यालोका लागि प्राप्त समय हो । यदि कुनै समाजमा यस्तो भइरहेमा त्यसलाई के बुझ्नुहोस् भने, वास्तवमा त्यो समाजका मैनबत्तीहरू निभेका छन् । कसैसँग पनि ती मैनबत्ती बाल्नका लागि बलिरहेको मैनबत्ती छैन । यो अत्यन्तै आवश्यक छ, बलिरहेको मैनबत्ती होओस् अनि अरू मानिसहरूले पनि त्यसबाट बाल्न सकून् ।

यो एकदमै आवश्यक छ । आशा एउटा यस्तो कुरा हो, जुन आशा हाम्रो जिन्दगीबाट गएपछि अन्धकार बढ्न थाल्छ । त्यसकारण हाम्रो जिन्दगीबाट कहिल्यै पनि आशा हराउनुहुँदैन । हामीलाई आशाको आवश्यकता छ । किनभने आशा समाप्त भएपछि मानिसमा निराशा उत्पन्न हुन्छ । निराशा उत्पन्न भएपछि अँध्यारो हुन थाल्छ । त्यसपछि देख्न सकिँदैन– कहाँ गइरहेका छौँ । तब सबै कुरा समाप्त हुन्छन् ! त्यसकारण आपूmभित्रको आशालाई समाप्त हुन नदिनुहोस् अनि जागृत रहनुहोस् ।
कोरोना महामारीको समयमा मानिसहरू निकै चिन्ताग्रस्त थिए ।

हरेक दिन यसबाट पीडित मानिसहरूको सङ्ख्या बढिरहेको थियो । मानिसहरू निराश र हतास भइरहेका थिए । त्यस्तो समयका बारेमा मानिसहरूले कल्पना पनि गरेका थिएनन् । सबैभन्दा ठूलो कुरा त के हो भने– ‘जुन चीजको तपाईँलाई खोजी छ त्यो तपाईँभित्रै छ ।’ कोरोना भाइरस होओस् वा नहोओस्, आफ्नो जीवनमा त्यस चिजलाई चिन्नुहोस् । यदि त्यही चिज तपाईँको आशा र शान्तिको स्रोत बन्यो भने वास्तवमा तपाईँको जीवनमा शान्ति हुनेछ । अनि, त्यही चिज तपाईँको आनन्दको स्रोत पनि बन्यो भने तपाईँको पूरै जीवन आनन्दले भरिपूर्ण हुनेछ ।

कुरा के हो भने तपाईँभित्र रहेको चिज राम्रो, पवित्र अनि अत्यन्तै उत्तम छ । तर, जुन समस्याका कारण मानिस दुःखी हुन्छ, त्यो समस्या के हो ? जस्तो– एउटा कमिजमा दाग लागेको छ, त्यो मैलो भएको छ भने त्यो कमिज देखेपछि तपाईँलाई मन पर्दैन । अब तपाईँ यो कुरा बताउनुहोस्– तपाईँलाई त्यो कमिज राम्रो लाग्छ कि लाग्दैन ? राम्रो देखिँदैन, किनकि त्यसमा दाग लागेको छ । त्यसो भए कमिज र त्यसमा लागेको दागमध्ये कुनचाहिँ वास्तविक हो ? कमिज त कमिज नै हो । त्यस कमिजमा लागेको दागलाई त धुन सकिन्छ । हटाउन सकिन्छ । त्यसको दाग हटेपछि तपाईँले देख्नुहुनेछ– त्यो कमिज वास्तवमा कस्तो छ ! यदि तपाईँ कुनै चिजलाई धुनुहुन्छ भने धुनुको अर्थ दाग हटाउन सकियोस् भन्ने हो ।

त्यसै गरी, जुन मैलो लागेको हुन्छ, जुन दुःख–कष्ट मानिसलाई हुन्छ, त्यो उसको भ्रमका कारणले हुन्छ । मानिस भ्रमित भएपछि जे स्पष्ट छ, जे यथार्थ हो, त्यसलाई उसले देख्न सक्दैन । यद्यपि त्यो मैलो हटेपछि वास्तविक रूप कस्तो छ, उसले देख्न सक्छ ।
हामीले आफ्नो जीवनमा, आफ्नो काँधमा विनाकामको बोझ उठाएका छौँ ।

जुन हामीलाई केही काम लाग्दैन । यसले अहिले पनि तपाईँलाई दुःख दिइरहेको छ र पछि पनि दुःख दिइरहन्छ । जबसम्म तपाईँ त्यस बोझलाई आफ्नो काँधबाट तल राख्नका लागि सोच्नुहुन्न, त्यसको उपायका बारेमा जानकारी लिनुहुन्न तबसम्म त्यो बोझ भइरहनेछ । परिणामतः तपाईँले आपूmभित्र रहेको चिजको फाइदा लिन सक्नुहुन्न । किनभने, मनका कामनाहरू हुन्छन्, मन त प्रिन्टरजस्तै हो । यसले फोटो प्रिन्ट गरिरहन्छ– ‘हेर्दा यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ ।’ जिन्दगीमा ती कुराहरू प्राप्त नभएपछि मानिस दुःखी हुन्छ– ‘मेरो यो इच्छा पूरा भएन । मेरो यो कुरा पूरा भएन ।’

हामी आफ्नो जीवनमा के चाहन्छौँ भन्ने कुरा त हामीमाथि नै निर्भर रहन्छ । कसैलाई पनि निराशा मन पर्दैन । दुःख कसैलाई पनि राम्रो लाग्दैन । यसर्थ हामी सबै दुःखबाट बच्न चाहन्छौँ । हामी सबै निराशाबाट बाहिरिन चाहन्छौँ । सबैले निराशा नहोओस् भन्ने चाहना राख्छन् । यद्यपि जबसम्म हामीले यस्तो स्रोत खोज्दैनौँ, जुन स्रोतबाट केवल आशा नै आशा मात्र प्राप्त हुन्छ तबसम्म हाम्रो जीवनमा दुःख नै नहोओस्, निराशा नै नआओस् भन्ने कुरा कसरी सम्भव होला र ! किनकि, हामीलाई थाहा नै हुँदैन । हामीले आपूmभित्र बसेको आनन्द र हामीभित्र अवस्थित परमात्मा हाम्रै स्रोत हुन् भन्ने कुरा बुझेपछि हामी कहिल्यै पनि निराश हुनुपर्दैन । चाहे जेसुकै होओस्, हाम्रो जीवनमा उनी सधैँ हाम्रो साथमा छन् । दुःखमा अनि सुखमा पनि । तिनै एउटा यस्ता चिज हुन्, जसले दुःखमा पनि हामीलाई सुख दिन सक्छन् । अनि उनी नै एउटा यस्ता चिज हुन्, जसले सुखमा रहँदा पनि सुखलाई अभैm बढाउन सक्छन् ।

कति व्यक्तिहरुले इनार खन्छन् अनि इनार खनेपछि पनि त्यो सुकेर जान सक्छ । सुकेपछि अनि उनीहरु चिन्तित हुन्छन् । वर्षातको मौसम आएपछि थोरै–थोरै गरेर त्यसमा पानी जम्मा हुन थाल्छ । त्यसपछि त्यो इनार भरिन्छ । तसर्थ, यस्तो इनार चाहिन्छ जुन इनार सधैँभरि गर्मी या जाडोमा, वर्षात या सुख्खा समयमा पनि भरिएको होओस् । त्यस्तो कुनचाहिँ वस्तु छ ? त्यस्तो चिज तपाईँभित्रै छ । त्यस्तो चिज तपाईँभित्र भएका कारणले तपाईँ भाग्यशाली हुनुहुन्छ ।

तपाईँ तिर्खाएर आत्तिनुपर्ने आवश्यकता छैन । किनकि, तपाईँभित्र एउटा यस्तो कुवा छ जसमा अटुटरूपमा पानी हुन्छ । त्यस्तो चिज तपाईँभित्र छ । तथापि, जबसम्म तपाईँले त्यही चिजलाई आफ्नो जीवनमा यी कुराहरूको स्रोतका रूपमा हेर्नुहुन्न, जबसम्म हामी आपूmले आपूmलाई चिन्दैनौँ, पहिचान गर्दैनौँ, जबसम्म हामी आफ्नो जीवन सचेतरूपले जिउँदैनौँ, आफ्नो हृदय आभारले भरिपूर्ण तुल्याउँदैनौँ तबसम्म यो संसारमा केही न केही त भइरहन्छ । तसर्थ, त्यो चिज, त्यो स्रोतलाई चिन्नुहोस् र पहिचान गर्नुहोस्, जसले गर्दा तपाईँको जीवनमा पनि त्यो साँचो आनन्द प्राप्त होओस् ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।

थप जानकारीका लागि www.premrawat.com)