कहाँ हरायो सरकारी कर्मचारीलाई तलबसहितको पर्यटन काज बिदा ?

5.92k
Shares

जुनसुकै देशको अर्थतन्त्रलाई चलायमान बनाउन÷गराउनका लागि बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको भूमिका पनि एकदमै ठूलो अर्थात् महत्वपूर्ण रहेको हुन्छ । सम्भवतः नेपाल सरकारले यो कुरो महसुस गरेरै हुनुपर्छ, कोरोना महामारीकाल सक्नै लाग्दा नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न भनी १० दिने पर्यटन काज बिदाको योजना ल्याउने प्रयास गरेको थियो । यस्तो योजना निजामती कर्मचारीमा आधारित रहेर अथवा भनौं निजामती कर्मचारीलाई लक्षित गरेर ल्याउन खोजिएको थियो ।

त्यसैले त त्यो बेला कोभिड–१९ का कारण नेपाली पर्यटन क्षेत्रलाई परेको असरलाई कम गर्न भनेर नेपाल सरकारले निजामती कर्मचारीलाई लक्षित ‘तलबसहितको १० दिने पर्यटन काज बिदा’ दिने प्रस्ताव ल्याउने प्रयास गरेको थियो । त्यो बेला नेपाल सरकारले ल्याउन लागेको सो निजामती कर्मचारीको ‘१० दिने पर्यटन काज बिदा’ लागू भएको भए नेपाली पर्यटनमा धेरै राम्रोसँग छाप छाड्ने थियो । धेरै राम्रो छाप छाड्ने मात्रै नभएर नेपालको ग्रामीण अर्थतन्त्रलाई चलायमान गराउन पनि महत्वपूर्ण भूमिका खेल्ने थियो ।

त्यो बेला सन् २०१९ को डिसेम्बरमा चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट शुरु भएको कोरोना महामारी (कोभिड–१९) ले लगभग तीन वर्षसम्म विश्वको आर्थिक गतिविधि एवम् जनजीवन लगभग ठप्प परेको अवस्था थियो । त्यसरी कोरोना महामारी (कोभिड–१९) कालमा विश्वमा आवागमन नै बन्द भएपछि विश्व पर्यटन गतिविधिमा सुस्तता आयो । साथै आन्तरिक अर्थतन्त्रमा मन्दी आएपछि कोरोना महामारी (कोभिड–१९) कालमा आफ्नो देशकै मानिसलाई आन्तरिक पर्यटकका रुपमा घुम्न निक्लन प्रोत्साहन गरेका थिए, विभिन्न देशले ।

त्यसरी आन्तरिक पर्यटकीय गतिविधि बढाउनका लागि अस्ट्रिया, अमेरिका, ब्राजिल, भियतनाम, मलेसिया, जापान, फ्रान्स, मकाउ, चेक गणतन्त्र, पोर्चुगल, दक्षिण कोरिया, जर्मनी, साउदी अरब, पोर्चुगल, माल्दिभ्स, चीन, ओमान, बेल्जियम, इटली, युनाइटेड अरब इमिरेट्स (युएई), टर्की, बेलारुस, युक्रेन, भारत, लाओस, साइप्रस, बहराइन, युक्रेन, नर्वे, श्रीलंका, थाइल्यान्ड, अस्ट्रेलिया, मंगोलिया, कम्बोडिया, रुस, पोल्यान्ड, इरान, स्वीट्जरल्यान्ड आदिले आन्तरिक पर्यटक बन्नका लागि प्रोत्साहन गरेका थिए ।

नेपाल सरकारले पनि त्यस बेला कोरोना महामारीपछि नेपाल आउने विदेशी पर्यटकको आगमनको संख्या ह्वात्तै घटेपछि नेपालकै सरकारी कर्मचारीलाई खास गरीकन निजामती कर्मचारीलाई आन्तरिक पर्यटक भई घुम्न जाऊन् भनी ‘तलबसहितको १० दिनको पर्यटन काज बिदा’ ल्याएको थियो ।

नेपाल सरकारको सो कार्यक्रमले हाम्रो देशमा कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असरलाई थेग्न त्यसमा पनि आन्तरिक अर्थतन्त्रलाई परेको असरलाई कम गर्न, आर्थिक गतिविधिहरु नेपालभरिको गाउँ–गाउँ, टोल–टोलसम्म पुगोस् भन्न र आर्थिक गतिविधिले तल्तो तहका मानिसमा तरक्की ल्याउन, चलायमान हुन पनि सहयोग पुग्ने थियो । तर यस्तो पवित्र उद्देश्य राखेर आर्थिक वर्ष २०७८÷०७९ मा आन्तरिक पर्यटन प्रवद्र्घन गर्नका लागि तत्कालीन अर्थमन्त्रीले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा ‘सरकारी कर्मचारीलाई १० दिनको पर्यटन काज बिदा’ उपलब्ध गराएर आन्तरिक पर्यटकका रुपमा देशका विभिन्न पर्यटकीय क्षेत्रहरुमा घुम्न जान प्रोत्साहन गर्ने नीति ल्याउनुभएको थियो ।

तर, नेपाल सरकारले पवित्र उद्देश्यले ल्याएको कार्यक्रम अहिलेसम्म किन लागू भएन ? कोही कसैलाई अत्तोपत्तो छैन । जसको उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्घन गर्ने र आन्तरिक अर्थतन्त्रलाई भरथेग गर्ने भन्ने रहेको थियो । बुझिएअनुसार नेपाल सरकारले निजामती कर्मचारीहरुलाई लक्षित गरेर बजेट भाषणमै व्यवस्था गरिएको सो ‘१० दिने पर्यटन काज बिदा योजना’ कर्मचारीतन्त्रकै उच्च तहले शुरुमा अनेक बहाना बनाए । अन्त्यमा लागू हुनै दिएनन् । सो पर्यटन काज बिदाको कागजपत्र अझै पनि तालुकवाला मन्त्रालयको दराज वा घर्रामा बेवारिसे अवस्थामा थन्किएर बसेको होला ।

जे भए तापनि तत्कालीन सरकारले नेपालको आन्तरिक पर्यटन प्रवद्र्घनमा सहयोग पुगोस् भन्ने पवित्र भावनाले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक बजेट भाषणमा सरकारी कर्मचारीलाई १० दिनको बिदा दिएर आन्तरिकरुपमा पर्यटक भई घुम्न जानका लागि ल्याएको कार्यक्रमलाई नेपाली कर्मचारीतन्त्रमा रहेका केही अल्छे र राष्ट्रप्रति जिम्मेवारीबोध नभएका माथिल्लो तहमा रहेका अथवा भनौं ठूलो पदमा बसेको कर्मचारीहरुले नै अनेक बहानामा लागू हुन दिएनन् । यसले के देखाउँछ भने, नेपाल सरकारभन्दा नेपाली कर्मचारीतन्त्र बलिया रहेका छन् ।

त्यसैले उनीहरुले सरकारले ल्याएको कार्यक्रम लागू हुनै दिएनन्, अनेक बहानामा तुहाए । खासमा आन्तरिक पर्यटन प्रवद्र्घन गर्नका लागि केवल निजामती कर्मचारी मात्रै नभएर नेपाली सेना अर्थात् जंगी, आयोग, प्रतिष्ठान, बोर्ड, संस्थान, कार्यदल, निगम, प्राधिकरण, सरकारी तथा निजी विद्यालय, कलेज, विश्वविद्यालयका प्राध्यापक, प्रोफेसर, कूटनीतिक नियोग, आईएनजीओ, एनजीओ, दातृ निकाय, निजी कम्पनी एवम् उद्योग, कल–कारखाना, व्यापारिक घराना आदिमा काम गर्ने कर्मचारी तथा कामदारलाई समेटेर आन्तरिक पर्यटनमा योगदान गर्न प्रोत्साहन गर्नुपर्ने थियो ।

भन्ने नै हो भने, विश्वकै एक नमुना पर्यटकीय देशमा पर्छ, हाम्रो देश नेपाल । विश्वका जुनुसुकै देशमा हाम्रो देश नेपालमा जस्तो जातीय विविधता, भाषिक विविधता, धार्मिक एवम् सांस्कृतिक विविधता, प्राकृतिक विविधता, भौगोलिक विविधता एवम् महत्व भएको गाउँ–ठाउँ, वन्यजन्तु अवलोकन गर्ने स्थल, चरा पर्यटन, चट्टान आरोहण, बेलुनिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, ¥याफ्टिङ, कायाकिङ, साइक्लिङ, जिप सफारीलगायत अन्य पर्यटकीय गतिविधिका लागि प्रचुर सम्भावना भएको एउटै देश छैन । त्यस्तै हाम्रो देश नेपाल भनेको ऐतिहासिक महत्वका ठाउँहरु पनि प्रशस्तै भएको देश हो ।

हाम्रो देशमा पुराना दरबार, गढी, किल्ला, दुर्ग, प्राकृतिकरुपमै बग्दै आएका झरना, छहरा, छाँगालगायत अन्य धैरै प्राकृतिक स्थानहरु रहेका छन् । जुन ठाउँहरु भ्रमण गर्नका लागि भनेर विश्वभरिका पर्यटकलाई नेपाल सरकारले प्रोत्साहन गर्न सक्छ । त्यस्तै गरेर ‘सरकारी कर्मचारीहरुलाई पनि १० दिनको तलबसहितको काज बिदा दिएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने जुन व्यवस्था मिलाउन र लागू गर्न खोजेको थियो, सो कर्यक्रम पहिले लागू गर्न नसकिएको भए तापनि अब पुनः सो कर्यक्रमलाई लागू गर्न सके सुनमा सुगन्ध हुने थियो । तर, आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषणमा चाहिँ सो ‘१० दिने पर्यटन काज बिदा’का सम्बन्धमा के–कस्तो व्यवस्था गरियो वा फास्सफुस्स भयो ? केही उल्लेख गरिएको छैन ।

जबकि सो १० दिने पर्यटन काज बिदा योजना निजामती कर्मचारीहरुलाई मात्रै नभएर अरुलाई पनि आन्तरिक पर्यटकको रुपमा देशाटन गर्नका लागि प्रोत्साहन गर्ने गरी ल्याउनुपथ्र्यो । साथै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने खालका प्याकेजहरु ल्याउनुपर्ने थियो । त्यसका लागि सम्बन्धित निकायमा बसेका जिम्मेवार व्यक्ति एवम् संघ–संस्थाहरुले अझै पनि सोच्नुपर्ने देखिन्छ । त्यसैले तत्कालीन सरकारले पवित्र उद्देश्य र आन्तरिक पर्यटन फस्टाओस् भन्ने भावनाले ल्याएको सरकारी कर्मचारीलाई ‘तलबसहितको १० दिने पर्यटन काज बिदा’ योजना हराउन नदिई पुनः बिउँताउन र तदारुकताका साथ लागू गर्न जरुरी छ । यसो गर्न सके नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्नेछ । त्यसैले यो योजना लागू गर्न पुनः दबाब दिनुपर्ने देखिन्छ । ‘तलबसहितको १० दिने पर्यटन काज बिदा’ लागू गर्न सकेदेखि वास्तवमै आन्तरिक पर्यटनको माध्यमबाट देशको अर्थतन्त्रलाई चलायन बनाउन सकिन्छ ।

[email protected]