विश्वप्रसिद्ध अमेरिकी पपस्टार टेलर स्विफ्ट र अमेरिकी फुटबल स्टार ट्राभिस केल्सी दुई वर्ष लामो प्रेम सम्बन्धपछि इन्गेजमेन्टमा बाधिएका छन्।
स्विफ्टले मंगलबार इन्स्टाग्राममार्फत पाँच तस्बिर सार्वजनिक गर्दै आफ्ना प्रशंसकलाई यो खबर सुनाएकी हुन्। ‘तपाईंको अंग्रेजी शिक्षक र तपाईंको जिम शिक्षक विवाह गर्दैछन्’ उनले मजाक–मिश्रित शैलीमा लेखेको यो क्याप्सनसँगै कमेन्ट बक्स बन्द गरिएकाले प्रशंसकले केवल लाइकमार्फत प्रतिक्रिया दिएका छन्।
यस पोस्टमा सबैभन्दा बढी ध्यान खिचेको कुरा भनेको उनको औंठी हो, जसको मूल्य झण्डै ५ लाख ५० हजार अमेरिकी डलर (करिब ७ करोड ५० लाख रुपैयाँ) पर्ने अनुमान गरिएको छ। स्विफ्ट र केल्सीबीचको प्रेमकथा सन् २०२३ को गर्मीयाममा शुरू भएको मानिन्छ। त्यतिबेला केल्सी क्यान्सास सिटीमा आयोजित इरास टुर कन्सर्टमा स्विफ्टलाई भेट्न पुगेका थिए। त्यसयता उनीहरू सार्वजनिक रूपमा सँगै देखिन थालेका थिए, जसले उनीहरूको सम्बन्धबारे चर्चालाई थप बलियो बनाएको थियो।
टेलर स्विफ्ट अहिले विश्वकै सबैभन्दा धनी महिला संगीतकर्मीका रूपमा चिनिन्छिन्। फोब्र्सको २०२४ को रिपोर्टअनुसार उनको कूल सम्पत्ति करिब १.६ अर्ब अमेरिकी डलर पुगेको छ। जसमध्ये ६०० मिलियन डलर उनको विश्वव्यापी टुर र स्ट्रिमिङ रोयल्टीबाट आएको छ। त्यस्तै १ सय २५ मिलियन डलर उनले घरजग्गा र लगानी क्षेत्रबाट कमाएकी हुन्। सन् २०२३ मा मात्रै उनले स्पोटिफाईमा १ सय मिलियन डलर रोयल्टी कमाएकी थिइन्।











प्रतिक्रिया