काठमाडौं ।
नेपाल सरकारले यो वर्षको सोभरेन क्रेडिट रेटिङका लागि तयारी शुरू गरेको छ । अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकमा नेपालको उपलब्धिहरू व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय भएको हो ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत सहभागी थिए । बैठकमा अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले अहिलेसम्मका तयारीबारे जानकारी गराएका थिए ।
अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी फिचले नेपाललाई मूल्याङ्कन गर्नेछ । गत वर्ष फिचले नेपाललाई ‘बीबी माइनस’ रेटिङ दिएको थियो । यसपटक नेपालले आर्थिक, नीतिगत र कानुनी सुधारका साथै सुशासन, राजनीतिक स्थायित्व, सडक, पर्यटन र जलविद्युत् क्षेत्रमा भएका उपलब्धिलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेको छ ।
फिच रेटिङले यसपटक पनि मूल्यांकनका लागि नेपाल आउने तयारीमा छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको आर्थिक, नीतिगत तथा संरचनागत सुधारलाई आधार बनाएर सकारात्मक सन्देश जाने गरी तयारी गर्न निर्देशन दिनुभयो ।











प्रतिक्रिया