पर्यटकको रोजाइमा ताप्लेजुङको ‘छ्यो थाङ्की छ्यो’ पोखरी

376
Shares

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, यासा (लोदेन) क्षेत्रमा रहेका छ्यो थाङ्गी छ्यो पोखरी पर्यटकहरुको रोजाइमा पर्दै गएको छ । बिस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्दै गएको हो ।

यस क्षेत्रका याक गोठालाहरुका अनुसार पोखरीले मौसमअनुसार रङ्ग बदल्ने गर्छ । कहिले आकाशजस्तै नीलो हुन्छ भने कहिले रातो हुने गरेको उनीहरुको भनाइ रहेको छ । पछिल्लो समय यस क्षेत्रको प्रचारप्रसार हुन थालेसँगै पर्यटकहरु आउन थालेको यस क्षेत्रमा गाइड गर्ने पान्दे शेर्पाले बताउनुभयो । यहाँ घुम्न आउने पर्यटकहरुले पूर्वको मन मुस्ताङ उपनाम दिने गरेको शेर्पाले बताउनुभयो ।

प्राकृतिक सुन्दरतामा रमाएर घुम्न आउनेको पर्यटकको संख्या आजकल बढ्दै गएको गाइड शेर्पाको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘अहिले यहाँ आउने पर्यटकहरुका लागि सेवा–सुविधा नभए पनि पर्यटकहरु घुम्न आउने क्रम बढ्दै गएको छ ।’ यस क्षेत्रमा पर्यटकहरुलाई राम्रो सेवा–सुविधा दिन सके अझ धरै पर्यटक आउन सक्ने देखिन्छ ।

स्थानीय वाङ्गे शेर्पा (थोक्प्या) का अनुसार स्थानीय थोक्प्या समुदायहरुको भाषामा छ्यो भनेको पोखरी र थाङ्गीको अर्थ टार हो । ‘छ्यो थाङ्की छ्यो’ को पूरा अर्थ पोखरी भएको टार भन्ने हुन्छ । तर पछिल्लो समय यहाँका धेरै पोखरीहरुको मौलिक नाम भन्दा अन्य नामबाट प्रचार हुँदै गएको छ । त्यसैले यहाँका पोखरीहरुको आफ्नै मौलिकता रहेको नामबाट प्रचारप्रसार गर्न आवश्यक रहेको स्थानीय थोक्प्याहरुको भनाइ रहेको ।

यस पोखरी क्षेत्रमा घुम्न आउने पर्यटकहरु पोखरीहरुको अवलोकनसँगै प्रकृतिक सुन्दरताको आनन्द लिन सक्ने लोदेन क्षेत्रमा विगतदेखि जडीबुटी संकलन गर्दै आउनुभएका जडीबुटी व्यवसायी मिक्वाखोला गाउँपालिका–४, साँवा गाउँका मिलन लिम्बूले बताउनुभयो ।

एकदिनमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि यातायातका साधन प्रयोग गरेर सिम्बुक पुग्न सकिन्छ । त्यसपछि पदमार्ग प्रयोग गरेर छिटो हिँड्नेहरु एकदिन र अलिक बिस्तारै हिँड्ने पर्यटकहरु दुई दिनमा लोदेन क्षेत्र पुग्न सक्छन् । पर्यटकहरु लोदेनमा रहेका पोखरीहरुको अवलोकन गरेर गोक्पेगोला हुँदै फर्कन चाहने लिम्बूले बताउनुभयो ।

लोदेन हुँदै तोक्पेगोला जान भने त्यति सहज बाटो नभएको मिलन लिम्बूको भनाइ छ । पाँच हजार ५०० मिटर उचाइमा अवस्थित डाँडा पास गरेर जानुपर्ने भएकोले लेक लाग्नुका साथै बाटो निर्माण कार्यले अवरोध हुँदा स्थानीयहरुको सहायता चाहिने गरेको लिम्बूले बताउनुभयो । उच्च हिमाली क्षेत्रमा बाह्रै महिना हिउँ जमेर रहेकाले बाटोमा चिप्लिने जोखिम हुने गरेको लिम्बूको भनाइ छ ।

विगतमा तस्वीर र सामान्य भिडियो सामाजिक सञ्जालबाट प्रचार भएको मिक्वाखोला गाउँपालिका–५ का वडा अध्यक्ष ग्यान्जे शेर्पाले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा एक सयको हाराहारीमा पोखरीहरु रहेका छन् । तर यी पोखरीहरुको वैज्ञानिक अनुसन्धान हुन बाँकी रहेको शेर्पाले बतााउनुभयो । शेर्पाका अनुसार वडाको समन्वयमा यहाँका पोखरी तथा तालहरुको वैज्ञानिक अध्ययन गर्ने योजना रहेको छ । पोखरी तथा तालसम्बन्धी विज्ञहरुको टोलीमार्फत पोखरीहरुको गहिराइ, लम्बाइ तथा चौडाइ र जीपीएस मापनजस्ता कामहरु गर्ने योजना रहको छ ।

यस क्षेत्रमा रहेका पोखरीका संरक्षणका कामहरु खासै केही नभएको, साथै यस विषयमा गाउँपालिकाको नजर नपुगेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु शेर्पा बताउनुहुन्छ । मानवले क्षति नपु¥याएसम्म यहाँका पोखरीहरु आफैँमा संरक्षित रहने शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार पोखरी क्षेत्रको प्रचारप्रसारको काम भइरहेको छ । पदमार्गहरु निर्माण तथा पर्यटकहरुका लागि पाटीपौवाहरु निर्माण भइरहको छ ।

यस क्षेत्रमा रहेका पोखरीहरुको प्रचारप्रसार गर्नका लागि चालू आर्थिक वर्षमा लोदेन क्षेत्रमा मिडियो सम्मेलन गर्नका लागि पालिकाले आवश्यक बजेट विनियोजना गरेको शेर्पाले बताउनुभयो । आवश्यक होम स्टे सञ्चालनका लागि समेत पहल भइरहेको उहाँको कथन छ ।