शैलेन्द्र सफल छायाँकार पछि अब पोखरेली मसिनोको निर्देशक


कुशल छायँकार र त्यसपछि सफल फिल्म निर्माता बनेका शैलेन्द्रध्वज कार्की अब निर्देशकका रूपमा प्रस्तुत हुने भएका छन्।
थुप्रै हिट र सुपरहिट फिल्मलाई आप्mनो विशेष छायाङ्कन कलामार्फत सफल बनाइसकेका कार्कीले आप्mनै डेब्यु निर्देशनमा पोखरेली मसिनो नामक फिल्म निर्माण गर्न लागेका हुन्।

सोमबार ललितपुरको बङ्गलामुखी मन्दिरमा विधिवत् पूजाआजासहित फिल्मको शुभमुहूर्त सम्पन्न गरिएको छ। बाबु–छोरीको सम्बन्ध र सङ्घर्षमा आधारित सामाजिक कथामा बन्ने फिल्म कार्की र उनकी अभिनेत्री पत्नी शान्ति गिरीको संयुक्त निर्देशनमा बन्नेछ । निर्माण कार्य भने कार्की आफैँले गर्ने भएका छन्।

कार्कीले चामलको लोकप्रिय प्रजाति मनसरापछि चामलकै अर्को प्रजातिका नाममा पोखरेली मसिनोका नाममा यो फिल्म बनाउन लागेका हुन्। फिल्ममा शान्ति गिरीको लेखन तथा शैलेन्द्रका साथमा शान्तिको पटकथा रहनेछ।
शुभमुहूर्त कार्यक्रममा निर्माता÷निर्देशक दिपेन्द्र गौचन, कलाकार टीका पहाडी, परीक्षा लिम्बु, अविरल प्रताप अधिकारी, उपेन्द्र सुब्बालगायतको सहभागिता थियो। मङ्गलबार पोखरा पुगेर बुधबारदेखि नै छायाङ्कन थालिने फिल्म सुटिङका लागि ३० दिनको सेड्युल तय गरिएको छ।

फिल्ममा टीका पहाडी, प्रवीण खतिवडा, परीक्षा लिम्बु, माओत्से गुरुङ, अनिल सुब्बा, अङ्कित खड्का, सजन थापा मगर, अभय बराल, अविरल प्रताप अधिकारी, हिउँवाला गौतमलगायतका कलाकारले अभिनय गर्नेछन्।

आगामी वर्षको बडा दशैंलाई लक्षित गरी रिलिज गरिने फिल्ममा श्रवण मुकारुङको गीत, कालीप्रसाद बास्कोटाको सङ्गीत, शङ्कर महर्जनको द्वन्द्व निर्देशन, कार्की स्वयंको डिओपी र निमेष श्रेष्ठको सम्पादन रहनेछ। फिल्म करिब तीन करोड रुपियाँको लगानीमा निर्माण हुने जनाइएको छ।