दोलखा ।
एउटा अनौठो मिथकको प्रतीकका रुपमा पाँच दिनसम्म प्रदर्शन गरिने भैरव–कुमारी जात्रा ऐतिहासिक नगरी दोलखा शहरमा हरेक वर्ष मनाइने गरेको छ । मानिस खाने देवीलाई तान्त्रिक विद्याबाट नियन्त्रण गरेपछि दोलखा शहरमा यो जात्रा शुरु भएको स्थानीयले सुनाउने गरेका छन् ।

गाईजात्राको भोलिपल्टबाट शुरु भई पाँच दिनसम्म प्रदर्शन गरिने यो जात्रामा भैरव–कुमारीको दर्शन र पूजा गर्दा सन्तान प्राप्ति, रोगव्याधि नलाग्ने र सोचेको काम पूरा हुने जनविश्वास रहँदै आएको पाइन्छ । भैरव–कुमारी जात्रा नेपालको दोलखा शहरमा मात्र प्रदर्शन हुँदै आएको छ ।
जात्राको अवधिमा मनोकांक्षा पूरा होस् भन्दै महिलाहरुले व्रतसमेत बस्ने गरेका छन् । गुठीयार दाजुभाइहरुले हरेक वर्ष पालैपालो जात्रा व्यवस्थापनको लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराउनुपर्ने प्रचलनसमेत रहेको छ ।
जात्राको शुरुवात कहिलेदेखि भयो भन्ने एकिन मिति थाहा नभए पनि दोलखामा किराँत राज्यकालबाटै यो जात्राको शुरुवात भएको जनविश्वास रहेको सामाजिक अभियन्ता भरतनारायण प्रधानको भनाइ छ । केही–केहीले भने मल्लकालीन राजा हरसिंह देवको पालाबाट भैरव–कुमारी जात्रा शुरु भएको विश्वास गर्दै आएका छन् ।
किंवदन्तिअनुसार दोलखा राज्यमा दुङ्गल टोलका सिन्दु र विन्दु नाम गरेका दुई तान्त्रिक दाजुभाइ थिए । उनीहरु दैनिक तामाकोशी नदीमा गएर त्यहाँको जल (शुद्ध पानी) भीमेश्वर मन्दिरमा ल्याई चढाउँथे । यो क्रममा तान्त्रिक दाजुभाइले तामाकोशी किनारमा तीन दिदीबहिनी खेलिरहेको देखे । ती दाजुभाइले उनीहरु भगवती भएको थाहा पाएपछि उनीहरुलाई आफ्नो विद्याबाट बसमा पारेर दोलखा बजारमा ल्याए ।
दोलखा बजारमा ल्याएपछि उनीहरुकै चाहनाअनुसार जेठी त्रिपुरासुन्दरी भगवतीलाई दोलखामै, माहिली कालिञ्चोक भगवतीलाई गौरीशङ्कर हिमाल देखिने कालिञ्चोकमा र कान्छी बालकुमारी भगवतीलाई जेठी दिदीसँग दोलखामै राखियो ।
जेठी र कान्छी दिदीबहिनी आएपछि दोलखामा हरेक दिन मानिस हराउन थाले । मानिस हराउने रहस्य खोज्दै जाँदा चुलबुले स्वभावकी बालकुमारीले मानिस खाने गरेको थाहा पाएपछि तान्त्रिकले बालकुमारीलाई नियन्त्रणमा लिने उपाय खोजे । यही क्रममा तान्त्रिक भाइ विन्दुले बालकुमारीस्थान (कोविदेउ) मा सिँढीसहितको एउटा ठूलो खाल्टो बनाएर बालकुमारीलाई फकाई उनीसंग लुकामारी खेल्न थाले ।
लुकामारी खेल्दा विन्दुले तान्त्रिक विद्याबाट आफूलाई पीठोको सिक्री बनाएर बाँधे भने बालकुमारीलाई फलामको सिक्रीले बाँधिदिए । अनि आफू पीठोको सिक्री फुकाएर खाल्डोबाट माथि निक्ली बालकुमारीलाई सोही खाल्डोमा थुनिदिएको किंवदन्ति प्रचलनमा रहेको पाइन्छ ।
बालकुमारीलाई खाल्डोमा थुनेपछि उनी धेरै रुन लागिन् । त्यसैले तान्त्रिकले वर्षमा तीन दिन भैरवलाई अघि लगाएर बजार जान अनुमति दिए । बालकुमारीलाई एक्लै पठाउँदा फेरि मानिस खाने डरले भैरवलाई अघि लगाएर मात्र जान दिइएको विश्वास गरिन्छ । सोही अनुसार भैरव–कुमारी जात्रा शुरु भएको भरतनारायण बताउँछन् । भैरव भीमेश्वरको प्रतीक (महादेव) हुन् भने कुमारी उनै बालकुमारी हुन् ।
यो जात्राको क्रममा भैरव–कुमारीसहित १३ जना सेनामेनासमेत हुने गरेका छन् । विगतमा भैरव–कुमारी जात्रा प्रदर्शनमा भीमेश्वरको गहना पहिरिने गरेको भए पनि अहिले सुरक्षाका कारण त्यो क्रम बन्द भएको छ । भैरव–कुमारी जात्रामा दोलखाको शिवभक्ति परिवार मात्र सहभागी हुने प्रचलन रहेको छ । भैरव–कुमारी जात्राको लागि छुट्याइएको गुठीको जग्गामा शिवभक्तिहरु मात्र रहेकोले भैरव, कुमारी र अन्य सेनामेना गरी १३ जना नै शिवभक्ति थरका मानिस मात्र नाच्नुपर्ने प्रचलन रहेको स्थानीयको भनाइ छ ।
यो जात्रा विगतमा पिङ्गल टोलबाट निकालिने भए पनि अहिले भने तीन वर्ष पिङ्गल टोलबाट र तीन वर्ष टँसिचा टोलबाट निकालिने गरेको छ । तीन दिन निकालिने यो जात्रा अहिले पाँच दिन निकाल्ने गरिन्छ । किंवदन्तिअनुसार भैरव–कुमारी जात्रा पहिलो दिन भूतले हेर्ने, दोस्रो दिन देवीदेवताले हेर्ने, तेस्रो र चौथो दिन आगन्तुकले हेर्ने र पाँचौँ दिन दोलखाका स्थानीयले हेर्ने गरिन्थ्यो । तर अहिले भने हरेक दिन स्थानीय तथा आगन्तुक सबैले हेर्ने गरेको भरतनारायणको भनाइ छ ।











प्रतिक्रिया