सेवाग्राहीमैत्री बन्दै डडेल्धुरा मालपोत

1.79k
Shares

डडेलधुरा । सीमित स्रोत–साधन र छोटो समयमै सार्वजनिक निकायहरुलाई सेवाग्राहीमैत्री बनाउन सकिन्छ भन्ने उदाहरण बन्न पुगेको छ, मालपोत कार्यालय डडेल्धुरा ।

प्रशासनिक खर्च अर्थात् चालूतर्फको बजेट न्यून विनियोजन हुने मालपोत कार्यालय डडेल्धुराले विभिन्न निकायहरुसँग समन्वय एवं सहकार्य गरेर कार्यालयलाई छोटो समयमै सेवाग्राहीमैत्री बनाउँदै लगेको छ । कार्यालयको संस्थागत विकासमार्फत चुस्त, दुरुस्त सेवाप्रवाह गरिरहेको मालपोत कार्यालय डडेल्धुराले सुशासन प्रवद्र्धनमा सुधार ल्याएको छ । साथै पारदर्शिता र जवाफदेहिता बढाउने क्रियाकलाप बढाउँदै सेवाग्राहीमैत्री वातावरण बनाउन थालेको छ ।

कार्यालयमा अडियो–भिडियो सिसी क्यामेरा जडान गरेर कर्मचारीको कार्य सम्पादनमा सुधारसँगै निगरानी बढाइएको र इन्भर्टर जडान गरेर विद्युत् नभएका बेला पनि निरन्तर सेवाप्रवाह भइरहेको कार्यालय प्रमुख कमलापति भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार सिसी क्यामेरा जडान गरिएपछि सेवाप्रवाह सहज, नियमित, मर्यादित र अनुशासित भएको छ भने पटक–पटक विद्युत् अवरुद्ध हुँदा सेवाग्राहीले निकै सास्ती खेप्नुपरेकाले इन्भर्टर जडान गरिएको हो ।

बजेट अभाव भए पनि कार्यालयको संस्थागत विकासका लागि सदरमुकामस्थित अमरगढी नगरपालिकासहित कार्यक्षेत्रमा रहेका पाँचवटै स्थानीय तह र विभिन्न संघसंस्थाहरुको सहयोगमा कार्यालयमा आवश्यक उपकरण जडान, मर्मत–सम्भार र संरचनाहरु निर्माण गरिएको कार्यालय प्रमुख भट्टले जानकारी दिनुभयो । कार्यालयभित्रको काम–कारबाही र जिम्मेवार व्यक्तिको बारेमा सेवाग्राहीलाई सहजरूपमा जानकारी गराउने उद्देश्यले नागरिक बडापत्रसँगै कार्यालयको मूल गेटमा कर्मचारीको फोटो, नाम, पद, जिम्मेवारी र सम्पर्क नम्बरसमेत राखिएको छ ।

कार्यालयमा आउने सेवाग्राहीका लागि प्रतीक्षालयमा एलईडी टिभीमार्फत सेवासम्बन्धी सूचना प्रवाह, शुद्ध पिउने पानी व्यवस्थापन, शौचालय र प्रतीक्षालय व्यवस्थापन गरिएको कार्यालयका कम्युटर अपरेटर इन्द्रसिंह भाटले जानकारी दिनुभयो । सेवाप्रवाहका क्रममा सेवाग्राहीबाट बारम्बार गुनासा आउन थालेपछि कार्यालयले सेवा प्रणालीलाई पारदर्शी, प्रभावकारी र प्रविधिमैत्री बनाउने प्रयास गरिरहेको कार्यालय प्रमुख भट्टले बताउनुभयो ।

कार्यालयको भौतिक पूर्वाधार विकास, सूचना प्रविधि र उपकरण जडानसँगै सेवाग्राहीमैत्री सेवाप्रवाह गर्न कर्मचारीहरुको दक्षता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरु कार्यान्वयन गरिएको छ । जग्गा कारोबार बढी हुने भित्री मधेस क्षेत्रका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाले हाल जोगबुडास्थित मालपोत कार्यालयबाट सेवा लिइरहेकाले जिल्लाको पहाडी क्षेत्रका पाँच स्थानीय तहमा मालपोत कार्यालय डडेल्धुरामार्फत सेवाप्रवाह हुने गरेको छ ।

गत आर्थिक वर्ष २०८१÷०८२ मा तीन सय ९४ लिखित पारित, एक सय २६ नामसारी, दुई सय ४४ रोक्का, ३५ संशोधन, तीन सय फुकुवा, एक सय चार प्रतिलिपी र चारवटा दा.खा.लगायत सेवाप्रवाह गरेर मालपोत कार्यालय डडेल्धुराले झन्डै एक करोड ५० लाख रुपैयाँ राजस्व असुली गरेको छ । असुल गरिएको कुल राजस्वमध्ये ६० प्रतिशत सम्बन्धित स्थानीय तहले र ४० प्रतिशत प्रदेश सरकारले पाउने प्रावधान छ । सेवा शुल्क र पुँजीगत लाभकरबापतको झन्डै ३० लाख रुपैयाँ राजस्व संघीय सरकारलाई दाखिला गरिएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा सशस्त्र प्रहरी बलको सादनीस्थित बीओपी, कर कार्यालय डडेल्धुरा, अमरगढी बहुउद्देश्यीय व्यापारिक भवन र डडेल्धुरा अस्पतालका लागि सरकारी जग्गा प्राप्ति उपयोग प्रमाणपत्र उपलब्ध गराइएको र दुईजना सेवाग्राहीको छुट जग्गा दर्तासँगै भूमि आयोगको काम पनि निरन्तररुपमा सम्पादन गरिएको कार्यालय प्रमुख भट्टले जानकारी दिनुभयो ।
सेवाग्राहीलाई सहज हुने गरी भूसेवा केन्द्रको दररेट निर्धारण गरिएको पारदर्शीरुपमा काम गर्न भूसेवा केन्द्र सञ्चालकहरुलाई अभिमुखीकरण गरिएको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालय डडेल्धुरामा तीनवटा भूसेवा केन्द्र दर्ता भई सेवाप्रवाह गरिरहेका छन् । ‘छोटो समयमै मालपोत कार्यालय डडेल्धुराको मुहार फेरिएको छ’, भागेश्वर–४ का सेवाग्राही चन्द्रसिंह ठकुराठीले भन्नुभयो, ‘सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध गराउन मालपोत कार्यालय डडेल्धुराले गरेको प्रयासबाट अन्य सार्वजनिक निकायहरुले पनि सिक्न जरुरी छ ।’
सेवाप्रवाहमा सुधारसँगै कार्यालयमा कार्यरत कर्मचारीहरुको कार्यशैली र व्यवहारमा पनि निकै सुधार आएको सेवाग्राहीहरु बताउँछन । सेवाग्राहीलाई केन्द्रमा राखेर निःस्वार्थ किसिमले कामकाज गर्न चाहेमा छोटो समयमै थुप्रै सुधार ल्याउन सकिने स्थानीय बताउँछन् । जिल्लाका अन्य सरकारी तथा गैरसरकारी निकायहरु पनि सेवामैत्री बन्नुपर्ने नागरिक समाजका अगुवाहरु बताउँछन् ।