चितवन कोबेको मेरिकेन पार्कमा नेपाली सांस्कृतिक धमाका, ३५ सय दर्शकको उपस्थितिमा ऐतिहासिक कार्यक्रम सम्पन्न
चितवन समाज जापानको आयोजना र नेपाली समाज कोबे–जापानको सहआयोजनामा जापानको कोबेको मेरिकेन पार्कमा पहिलोपटक ऐतिहासिकरुपमा तीज महोत्सव सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।
भरतपुर महानगरपालिकाका उप–मेयर चित्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपालबाट लोकप्रिय गायक गायिकाहरु प्रकाश सपुत, प्रिती आले, रितु कंडेललगायतले सांगितिक प्रस्तुति दिएर माहोल तताएका थिए। लामो प्रतिक्षापछि कोबे सहरमा गायक तथा अभिनेता प्रकाश सपुतको आगमनसँगै पार्कमा सांगीतिक भूकम्पझैँमाहोल बनेको सहभागीहरूले जानकारी गराएका छन्।
स्टेजमा प्रकाश सपुतको प्रवेशसँगै दर्शकदीर्घा ताली, सिटि र हुटिङले गुञ्जिएको थियो। उनले पिर एल्बमको अभाव अभावले मेरो घाँटि अँठ्यायो, परिस्थितिले मलाई प्रदेश पठायो बोलको गीतबाट प्रस्तुति सुरु गर्दा धेरै दर्शकको आँखा रसाएका थिए। त्यसपछि उनले क्रमशः देबिथानको परेवा, माकुर माकुर धुम, फुलमाया, अरैला काँडैले, गल्बन्दी, डाँडाघरे साईली हुँदै ब्याटलसम्मका गीत प्रस्तुत गर्दै दर्शकको मन जिते। गायिका प्रिती आलेले सोल्टि राजैको टुम्लेटमा पानी, बजेन किन तिजैको मादल, भो चाहिँदैन, खुच्चिन बरिलैलगायत गीत प्रस्तुत गर्दा माहोल झन् चञ्चल बनेको थियो।
अन्त्यतिर प्रकाश र प्रितीको ब्याटल प्रस्तुतिले दर्शकलाई झन् रोमाञ्चित बनाएको थियो। प्रितीले प्रकाशको फिल्म घाटा तिर्न घर बेच्ने चर्चालाई ब्याटलमै प्रस्तुत गर्दा, प्रकाशले नेपाल बेच्छु, जापानमै किन्दिन्छु भन्दै जवाफ फर्काउँदा पार्क ताली र हुटिङले पुनः गुञ्जिएको थियो।

३५ सय दर्शक सहभागी कार्यक्रममा नाचगानसँगै मःमः, सेलरोटी, चितवनको प्रख्यात तास, पानीपुरी, चटपटे, किमा नुडल्सलगायतका नेपाली परिकारको स्वादले सहभागी नेपालीलाई स्वदेशमै भएको अनुभूति दिलाएको थियो।
कार्यक्रम संयोजक तथा गायक सुशील ज्ञवालीका अनुसार नेपाली कला–संस्कृतिलाई नेपालीमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले कार्यक्रम खुलास्थलमै आयोजना गरिएको हो। आयोजक अध्यक्ष विष्णु शर्मा पौडेलले जानकारी दिएअनुसार कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ।











प्रतिक्रिया