वीरगन्जमा हैजाको प्रकोप कायमै, नियन्त्रणमा लिन गृहमन्त्रीको निर्देशन

752
Shares

वीरगञ्ज ।

वीरगन्ज महानगरमा हैजा (कोलेरा) को महामारी समुदायस्तरमै फैलिएपछि यहाँका अस्पतालहरुमा बिरामीको चाप बढेको छ । शुक्रबारबाट समुदाय स्तरमा नै हैजा फैलिएको पुष्टी भएपछि उच्च सर्तकता अपनाइएको भएपनि आइतबार पनि बिरामीहरु उपचारका लागि अस्पतालहरुमा आएको स्वास्थ्य कार्यालय पर्साका जनस्वासथ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो । वीरगन्ज महानगरको वडा नम्बर ३, ११, १२, १३ र ३० मा गरी ३६ जनामा हैैजाको संक्रमण पुष्टि भइसकेको हो ।

सबै भन्दा बढी वीरगन्जको नारायणी अस्पतालमा १३ जना,तराई हस्पिटलमा १२ जना, नेशनल मेडिकल कलेजमा ५ जना ,अलि अर्थो सेन्टरमा ४ जना र भवानी हस्पिटलमा २ जना हैजाका बिरामी उपचाररत रहेको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुमनचन्द्र ठाकुरले जानकारी दिनु भएको छ । वीरगन्जका विभिन्न अस्पतालमा गरी झाडापखाला र हैजाका शंकास्पद गरी हाल २०० भन्दा बढी बिरामी उपचाररत छन् ।

झाडापखालाका सिकिस्त र हैजाका शंकास्पद बिरामीहरु थपिने क्रम जारी रहेको उहाँले बताउनुभयो । नारायणी अस्पतालामा झाडापखाला र हैजाका शंकास्पद बिरामी थपिन थालेपछि शैयाको अभावमा बिरामीलाई बरण्डाको भूइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता भएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार, वीरगन्जमै हैजाका शंकास्पद दुई जना बिरामीको मृत्युपनि भइसकेको छ ।शुक्रबार नारायणी अस्पतालमा ३५ वर्षीय एक पुरुष र वीरगन्ज हेल्थकेयर हस्पिटलमा १९ वर्षीय एक युवतीको मृत्यु भएको हो ।

डा. सिंहका अनुसार झाडापखालाबाट सिकिस्त भएपछि ती दुवै बिरामीलाई अस्पताल ल्याइएको थियो । तर अस्पतालमा ल्याइपुर्याउँदा दुवैको मृत्यु भइसकेको थियो । तर उनीहरुको मृत्यु झाडापखाला वा हैजाका कुन कारणले हो भनेर पुष्टि हुन बाँकी छ । हैजाको रोकथाम र नियन्त्रणमा तीनै तहका सरकार जुटेका छन् ।वीरगन्ज महानगरपालिका, स्वास्थ्य कार्यालय पर्सा,मधेस प्रदेश सरकार र संघीय सरकारको खानेपानी मन्त्रालयले आ–आफनो तहबाट लागेका छन् ।खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा वीरगन्जमा खानेपानी परिक्षणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभाग काठमाडौंबाट वीरगन्जमा खटिएको छ ।

आवश्यक सामग्री सहितको मोबाईल भ्यान टोलीनै खटिएको र टोलीले वीरगन्जमा पुगेर पानी परिक्षणको काम सुरु गरिसकेको विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस्तै मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा वीरगन्जमा हैजाको रोकथाम तथा नियन्त्रणका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयबाटपनि डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरसहितको टोली वीरगन्जमा आइपुगेको छ ।

वीरगन्जमा हैजाको संक्रमण देखिनु र फैलिनुको कारण भने अहिलेसम्म यकिन भइनसकेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले बताएपनि दुषित पानी वा खानाको माध्यमले मानिसमा भिब्रियो कोलरी नाम जीवाणु प्रवेश गरेपछि हैजा रोग्ने लाग्ने गर्छ । तर वीरगन्जमा कुन कारणले हैजाको महामारी फैलिएको भन्ने बारेमा अहिलेसम्म यकिन भइनसकेको उहाँले बताउनुभयो ।

यसैबीच गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । आइतबार मन्त्रालयमा भएको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक परे परिचालित हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।

‘चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ’, बैठकपछि गृहका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले भन्नुुभयो ‘सोही अनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ ।’