द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक 


काठमाडौं । 

गृहमन्त्री रमेश लेखकले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपालमा शान्ति निर्माणका चुनाैति विषयक उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।

“द्वन्द्वको प्रकृति फरक छ ।  जहाँ द्वन्द्वको छ त्यहाँ समाधान पनि छ । हामीले ठीक ढंगले बुझ्दिनुपर्छ । द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो । दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन । द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेको हो,” उनले भने । 

द्वन्द्वको रुप परिवर्तन भए पनि द्वन्द्व कायम रहेको गृहमन्त्री लेखकको भनाइ छ । 

“द्वन्द्व सकारात्मक र नकारात्मक दुई थरी  कै हुन्छन् । सकारात्मक द्वन्द्वको व्यवस्थापन गर्दा देशले विकास हुन्छ भने नकारात्मक द्वन्द्वले देशमा दुर्गति निम्त्याउछ । द्वन्द्व व्यवस्थापनमा, द्वन्द्वको पहिचान, समय र सम्झौता मुख्य कुरा हो, ” उनले भने ।

देशमा उत्पन्न द्वन्द्व र अस्थिरताले धेरै संविधान बन्ने अवस्था सिर्जना हुने गरेको गृहमन्त्री लेखकले स्मरण गरे । “अहिलेसम्म नेपालमा सात वटा संविधान बने । धेरै संविधान बन्ने कुरा राम्रो हाेइन । धेरै सडक, पुल, विद्यालय, अस्पताल बन्ने कुरा राम्रो हो,” उनले भने ।

वर्तमान संविधान असफल भयाे भने देशमा अकल्पनीय द्वन्द्व हुने गृहमन्त्री लेखककाे भनाइ छ । ” केही मान्छे संविधान असफल बनाउने षड्यन्त्र गरिराख्नुभएकाे छ । संविधानलाई समय सापेक्ष संशोधन र संविधानको रक्षा आवश्यक छ, ” उनले भने।

यस्तै संविधानले गरेको अधिकारकाे बाँडफाँडले द्वन्द्व उत्पन्न गराइरहेको भन्दै त्यसकाे व्यवस्थापन आवश्यक रहेको गृहमन्त्री लेखकले बताए ।

“अहिले पालिकामा प्रकृति स्रोत साधानकाे वितरण र सीमाकाे द्वन्द्व छ । यसकाे पनि व्यवस्थापन गर्नु विश्व विद्यालयले गर्न सक्छ । द्वन्द्वका धेरै पाटा छन् । उत्पन्न द्वन्द्व र सम्भावित द्वन्द्वको व्यवस्थापन गर्नुपर्छ,” उनले भने । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट द्वन्द्व व्यवस्थापनको विषय अध्यापन गर्नेहरु बढेको भन्दै त्रिभुवन विश्वविद्यालयले स्कलरशीपकाे कोटा बढाउन आफूले पहल गर्ने गृहमन्त्री लेखकले बताए ।