
कर्णालीको हिमाली जिल्ला मुगुमा अवस्थित बुकीपाटन अहिले हरियालीले ढाकिएको छ । हिउँदमा सुनसान रहने यो विशाल पाटन अहिले चरन र पशुपालक किसानले रौनक ल्याएका छन् । हिँउदमा हिउँले ढाकिने मुगुका लखु, नराइनी, टोटाखर्क, तिखुल्ली माडु, गाईरिटाउना, रिणमोक्ष माथिल्लो, मिली, मालिकी, सिप्टिचौर, चौरालेक, रतुवा काँद, ठाडालेक चुल्ठा, नागाटाला, पिप्लेडी, टाँउका, पाल्नाचौर, रजइबैना, छोट्या, तारापानी, चुचेइला, ढँटेलीलगायतका दर्जनौं पाटनहरु यो बेला विशेष गरी भेडाबाख्रा, गाईभैंसी, घोडा–खच्चडको चरिचरन हुँदा रौनकता छाएको हो ।
छायानाथ रारा नगरपालिका वडा नं. ९ का तुले सेजुवाल भन्छन्, ‘वर्षामा घाँस र पानीको अभाव हुँदैन, बुकी खुवाउँदा पोषिलो पनि हुने हुँदा गाई, भैँसी, बाख्रा, भेडा चराउन यी पाटन क्षेत्रमा हरेक वर्ष वर्षा लाग्नासाथ लाने गरिन्छ ।’ यी क्षेत्र वर्षाको बेला सामूहिक चरन क्षेत्रका रूपमा प्रयोग हुँदै आएका छन् तर सडक विस्तार र बस्ती फैलिँदै जाँदा यस्ता पाटनहरू संकुचित हुँदै जान सक्ने चिन्ता पनि स्थानीयको छ ।
पछिल्ला वर्षमा गाउँघरका युवा रोजगारीका लागि विदेशिएका कारण यस्ता पाटनमा पहिलेको जस्तै गोठालोको चहलपहल भने कम हुँदै गएको देखिन्छ । मुगुका पाटन क्षेत्र पशुपालन व्यवसायका लागि उत्तम मानिन्छ । पशुको मलमूत्रले त्यहाँ हुने आलु, फापर, जौ, गहँु, सिमी, तमाखुलगायतका बालीको लागि मल पुग्ने गर्दछ । आफ्ना गाईवस्तुसँगै अरुका गाईवस्तुसमेत गोठालो लागेर मनग्य आम्दानी गर्ने गरेका छन् । मुगुका रोवा, पिना, छत्यालवाडा, खमाले, गम्थालगायतका उच्च हिमाली क्षेत्रका मानिसले पशुपालनबाट जीविकोपार्जन गर्ने गरेका छन् ।
पशुपालन व्यवसायबाट दूध, दही, घिउ, मासुजन्य पदार्थ, राडीपाखी आदि बेचेर मनग्य आम्दानी गर्ने गरेको सोरु गााउँपालिका–१० का सर्पबहादुर मल्ल बताउँछन् । तर पशु चरिचरनले पाटन क्षेत्रमा पाइने जडीबुटी भने लोप हुने अवस्थामा पुगेको छ । यसतर्फ भने ध्यान पुग्न सकेको देखिँदैन ।











प्रतिक्रिया