व्यक्तिगत आग्रह र पूर्वाग्रहलाई थाँती राखी देश र जनताको सुरक्षामा लाग्न महानिरीक्षक राजु अर्यालको निर्देशन


काठमाडौँ। 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले व्यक्तिगत आग्रह र पूर्वाग्रहलाई थाँती राख्दै देश र जनताको सुरक्षामा कमान्डर र नेतृत्वसँग हातेमालो गरी देश र संगठनको साझा लक्ष्यकासाथ अघि बढ्न र कर्तव्य पथमा अविचलित भई लाग्न निर्देशन दिएका छन् ।

 शनिवार सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको आठौँ वार्षिकोत्सव कार्यक्रममा महानिरीक्षक अर्यालले सो निर्देशन दिँदै  सरकारले सशस्त्र प्रहरी बल नेपाललाई राज्यको सीमामा पहरेदार बनाएर पठाएको हुनाले त्यसको पूर्ण रुपमा पालना गर्नुपर्ने समेत बताए ।

उनले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण युनिटहरुले आफ्नो स्थापना दिवस मनाउँदा सशस्त्र प्रहरी कर्मचारीहरूमा हर्ष, ऊर्जा र व्यावसायिक ढंगले कार्यक्षेत्रमा काम गर्न प्रेरणा मिलेको बताए ।

महानिरीक्षक अर्यालले राजमार्ग सुरक्षा तथा विपद्मा परेका आम नागरिकको उद्धार र सहयोग लगायतका विभिन्न सुरक्षा जिम्मेवारीहरुमा सकल दर्जाको प्रभावकारी परिचालन हुँदा त्यसको परिणाम संगठनले प्राप्त गरेको ख्यातीको श्रेय फिल्डमा खटिने सबै सशस्त्र प्रहरी कर्मचारीहरूमा जाने हुँदा अझ बढी व्यावसायिक रुपमा इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ र परिस्थिती अनुरुपको निर्णय क्षमता राख्नुपर्ने बताए ।

कार्यक्षेत्रमा खटिदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले बर्दिको ईज्जत राख्दै आम जनता र नागरिकहरुको मन जितेर काम गर्नुपर्ने बताउदै महानिरीक्षक अर्यालले भने–‘व्यक्तिको प्रयासले मात्र  संगठन र  राष्ट्र बन्दैन यसमा सबैको त्याग, लगाव र प्रतिविद्धताको भावना चाहिन्छ ।

उनले असीमित आवश्यकता र सीमित साधनश्रोत बीचको सामन्जस्याताबाट सांगठानिक उद्देश्य प्राप्तितर्फ अगाडी बढ्नु आजको आवश्यकता रहेको चर्चा गर्दै संगठनमा कार्यरत सकल दर्जाका राष्ट्रसेवक कर्मचारीहरुले सामूहिक भावनाकासाथ व्यक्तिगत स्वार्थ र समस्यालाई गौण मानेर जनताको सेवा र सुरक्षा जस्तो पवित्र जिम्मेवारीमा लाग्नुपर्ने बताए ।

महानिरीक्षक अर्यालले संगठनले हरेक सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा प्रदर्शन गर्ने आर्थिक अनुशासन तथा पेसागत इमानदारिताको पाटोलाई सूक्ष्म ढंगले नियाली रहेको हुनाले यस कुरालाई मनन गरी जिम्मेवारी क्षेत्रहरुमा परिचालन हुँदा कसैको मोलाहिजा तथा लोभमा नफसी कार्यसम्पादन गर्न निर्देशन     दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले वर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, बाहिनीलाई सहयोग पु¥याउनुहुने विभिन्न संघसंस्था तथा महानुभाव र अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कार, कदरपत्र तथा प्रशंसापत्र प्रदान गरेका छन्  । सोही अवसरमा महानिरीक्षक अर्यालले बाहिनी मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई आईजी एपीएफ कमेण्डेसनबाट सम्मान गरेका हुन्  ।

  कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप रेग्मीले सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको भूमिका उल्लेखनीय रहेको बताउनुहुँदै विपद्को बेला अग्रपंक्तिमा रहेर देश र जनताको सेवा र सुरक्षामा कटिबद्ध भई लागेको तथा आगामी दिनहरुमा समेत अझै बढी सशक्त भएर लाग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्गले सशस्त्र प्रहरी बल नेपालको स्थापना एउटा फरक र जटिल अवस्थामा भएको बताउदै  आन्तरिक सुरक्षा, सीमा सुरक्षा लगायत विपद् प्रकोपमा परेकाहरुको उद्धारमा सशस्त्र प्रहरी बल नेपालको भूमिका प्रशंसनिय रहेको समेत चर्चा गरे ।

कार्यक्रममा नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र कुँवरले धन्यवाद ज्ञापनको क्रममा सुरक्षालाई प्राथमिकतामा राख्दै सीमा हुने अवैध चोरीनिकासी पैठारी तथा ओसारपसारलाई निरुत्साहित र नियन्त्रण गर्न कुनै कसर बाँकी नराखेको बताउनुहुँदै अवैध हातहतियार, आगूऔषध ओसारपसार नियन्त्रण कार्यलाई सामुदायिक स्तरसम्म पुग्ने गरी अभियान सञ्चालन गर्दै आई रहेको बताए ।

उनले खुल्ला सीमा, भौगोलिक अवस्था, मिश्रित बासोवास र संरक्षित क्षेत्रहरुका कारण हुनसक्ने नविनतम् घटनाहरुलाई मध्यनजर गर्दै सम्पूर्ण सरोकारवाला निकाय तथा सुरक्षा निकायहरुसँग समन्वय गरी एकीकृत सुरक्षा रणनीतिको योजनाहरु बनाई निरन्तर तथा नियमित कार्यसम्पादन गर्दै आईरहेको समेत बताए ।

  कार्यक्रममा महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम, विजय गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकराज पाण्डे, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ्गका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्ट लगायत स्थानीय भद्रभलाद्मी, विभिन्न संघसंस्थाका महानुभाव, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।