काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भूमि विधेयक संसदीय समितिबाट संशोधनसहित पारित गराउन सफल भएका छन्। उनीहरूले हदबन्दीभन्दा बढी जग्गा लिएर चिया उद्योगका नाममा छुट पाएका जग्गा प्लटिङ गरी बेचबिखन गर्न नपाउने प्रावधान विधेयकमा समावेश गराएका हुन्।
सरकारले प्रतिनिधिसभामा ल्याएको विधेयकमा गिरीबन्धु चिया बगानजस्ता विवादास्पद जग्गाको प्लटिङमार्फत् घरजग्गा व्यवसायलाई सहज बनाउने आशंका उठेपछि महामन्त्रीद्वयले विरोध जनाएका थिए।
सत्तारूढ कांग्रेस नेतृत्वले विधेयक जस्ताको तस्तै अघि बढाउने तयारी गरे पनि गगन–विश्वप्रकाशको दृढ अडानले विधेयक संसदीय समितिमा पठाएर संशोधन गरियो। समितिबाट उनीहरूको संशोधन जस्ताको तस्तै पारित भएको छ।
अब उक्त विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि राष्ट्रिय सभामा प्रस्तुत गरिनेछ। तर माओवादी केन्द्र, जसपा र रास्वपाले फरक मत राखेकाले राष्ट्रिय सभाबाट पारित गराउन सरकारलाई चुनौती हुने देखिन्छ।











प्रतिक्रिया