आगामी भदौ २७ गते रिलिज हुन लागेको फिल्म अभिमन्यु ः च्याप्टर–१ ले नयाँ गीत लड्की गोरी सार्वजनिक गरेको छ।
भोजपुरी लवजमा तयार भए पनि नेपाली भाषामा रहेको गीतमा शब्द रचना, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ भने संगीत संयोजन विषम आचार्यले गरेका छन्। गीतमा चर्चित नर्तकी जुना सुन्दासको आकर्षक आइटम डान्स समावेश गरिएको छ। कोरियोग्राफी रोहन विश्वकर्माले गरेका छन्।
भिडियोमा युवायुवतीबीचको आकर्षण, रमाइलोपन र नृत्यलाई केन्द्रमा राखिएको छ। तराईको जीवनशैली र संस्कृतिलाई कथावस्तुमा समेटिएकाले त्यहीँको सांगीतिक स्वाद झल्काउन यो शैली रोजिएको निर्माण पक्षले जनाएको छ। गीत सार्वजनिक भएको दुई दिनमै १० लाखभन्दा बढी दर्शकले हेरेका छन्। छोटो समयमा गीतले पाएको लोकप्रियताले फिल्मप्रति दर्शकमा थप उत्सुकता बढाएको छ।
यसअघि फिल्मले सार्वजनिक गरेको अर्को गीत मालीमा दाजु–बहिनीबीचको आत्मीय सम्बन्ध देखाइएको थियो। दाजुले बहिनीलाई गर्ने मायालाई भावुक शब्द र धुनमार्फत उतारिएको उक्त गीतले दर्शकको मन छुने काम गरेको थियो। गीतमा शब्द, संगीत र स्वर पनि प्रशान्त शिवाकोटीकै रहेको छ भने संगीत संयोजन विषम आचार्यले गरेका थिए। यो गीतमाथि निर्माण पक्षले भिडियो प्रतिस्पर्धा घोषणा गरेको छ। उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५०, ३० र १५ हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ। निर्माण पक्षका अनुसार यसले दर्शकलाई गीतसँग अझ नजिक ल्याउने र सिर्जनात्मक प्रतिभालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
फिल्म अभिमन्यु ः च्याप्टर–१ पैसाको प्रलोभनमा फसेको र त्यहाँबाट उम्किन संघर्ष गर्ने पात्रको कथा केन्द्रमा रहेको छ। फिल्मको हिन्दी संस्करण असोज ६ गते वल्र्डवाइड रिलिज हुने निर्माण पक्षले जनाएको छ। निर्माता विनोद पौडेलका अनुसार हिन्दी भर्सनलाई विशेष तयारीसहित अन्तर्राष्ट्रिय बजारमा उतारिनेछ।
फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायत कलाकारको प्रमुख भूमिका रहेको छ। सेभेन सिज सिनेमाजको ब्यानरमा विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेको फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका छन्।
यसै फिल्ममार्फत उनले निर्देशनमा डेब्यु गरेका हुन्। लेखन मुकेश खनालको रहेको फिल्ममा मदन थापा क्रिएटिभ निर्देशक छन्। सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ, कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुईंटेल र सन्देश श्रेष्ठ रहेका छन्। फिल्मको लाइन प्रोड्युसर जीवन शाक्य हुन्।











प्रतिक्रिया