शिल्पा दम्पतीमाथि ठगीको आरोप


बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा फेरि कानुनी विवादमा तानिएका छन्। मुम्बईस्थित आर्थिक अपराध शाखामा उनीहरूविरुद्ध ६० करोड ४० लाख भारतीय रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ।

उनीहरूमाथि मुम्बईका व्यापारी दीपक कोठारीको उजुरीका आधारमा मुद्दा शुरू भएको हो। शिल्पा दम्पती कोठारी लोटस क्यापिटल फाइनान्सियल सर्भिसेज नामक कम्पनीका निर्देशक हुन्। कोठारीका अनुसार, सन् २०१५ मा उनले एजेन्टमार्फत शिल्पा र राजसँग भेट गरेका थिए। त्यतिबेला उनीहरू दुवै बेस्ट डिल टिभी नामक कम्पनीका निर्देशक थिए र शिल्पासँग कम्पनीको अधिकांश शेयर स्वामित्व थियो।

कोठारीको दाबीअनुसार, उनले कम्पनीलाई ७५ करोड रुपैयाँ ऋण दिने र शिल्पा दम्पतीले १२ प्रतिशत ब्याज तिर्ने तय गरिएको थियो। तर पछि शिल्पा र राजले ऋणलाई लगानीको रूपमा देखाउनुपर्ने र मासिक प्रतिफल दिने प्रस्ताव राखेका थिए।

सोअनुसार उनले अप्रिल २०१५ मा पहिलो किस्ता ३१.९५ करोड रुपैया र जुलाई २०१५ देखि मार्च २०१६ सम्म थप २८.५४ करोड रुपैयाँ भुक्तानी गरिएको थियो। यसबाहेक ३.१९ लाख रुपैयाँ स्टाम्प शुल्क तिर्नु परेको कोठारीको भनाइ छ।

अप्रिल २०१६ मा शिल्पाले व्यक्तिगत ग्यारेन्टी दिए पनि, सोही वर्ष सेप्टेम्बरमा शिल्पाले कम्पनीको निर्देशक पदबाट राजीनामा दिएकी थिइन्। त्यसपछि पटक–पटक रकम फिर्ता माग्दा पनि जवाफ नपाएपछि दीपक प्रहरीको शरणमा गए। रकम ठूलो भएकाले प्रारम्भिक उजुरी जुहू प्रहरी चौकीबाट आर्थिक अपराध शाखामा स्थानान्तरण गरिएको थियोे।

यस विषयमा शिल्पा र राजका वकिल प्रशान्त पाटिलले यी सबै आरोप अस्वीकार गरेका छन्। उनका अनुसार, यो मुद्दा आपराधिक नभई पूर्ण रूपमा नागरिक विवाद हो, जुन राष्ट्रिय कम्पनी कानुन न्यायाधीकरण मुम्बईले ४ अक्टोबर २०२४ मा नै समाधान गरिसकेको थियो। उनले लगानी शेयर रकम भएको र कम्पनी कानुनी रूपमा बन्द गर्ने आदेश प्राप्त गरिसकेको उल्लेख गरेका छन्।