लण्डन ।
तमुधि यूकेले नेपाली दूतावास लण्डनको सहकार्यमा १६औँ नेपाली मेला २०२५ को तयारी पूरा गरेको छ । संस्थाका अध्यक्ष जुमकाजी श्रेष्ठ, महासचिव विशाल गुरुङलगायतको कार्यसमितिले आफ्नै भवन सरीमा पत्रकार सम्मेलनमार्फत नेपाली मेला २०२५ को विस्तृत जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा तमुधि यूकेका पूर्वअध्यक्षहरु, आमा समूहका पदाधिकारीका साथै समाजका जिम्मेवार व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
अगस्ट २४ आइतबार लण्डनको केम्पटन पार्कमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ‘नेपाली मेला–२०२५’ हुने आयोजक तमुधि यूकेले जानकारी दिएको छ । नेपाली मेलामा मुख्य अतिथिमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र विशेष अतिथिमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई आमन्त्रित गरिएको छ ।
विशेषतः यूकेमा नै हुर्किएका दोस्रो पुस्तालाई नेपाल बुझाउन, नेपाली संस्कृति परम्परलाई संरक्षण र संवर्धन गर्दै नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्न र नेपालको पर्यटन प्रवद्र्धन गर्न नेपाली मेला सहयोगी हुने तमुधि यूकेले विश्वास लिएको छ ।
नेपाली मेलामा यो वर्ष पनि करिब ३ दर्जनभन्दा बढी संघसंस्थाको विभिन्न साँस्कृतिक प्रस्तुति रहनेछ । लोकसंगीत, नृत्य, हस्तकला प्रदर्शन, परम्परागत लुगा, गहना र नेपाली परिकार मेलाको मुख्य आकर्षण रहने आयोजकले बताएको छ । मेलाका लागि आवश्यक आन्तरिक तथा बाह्य सुरक्षा, सवारी व्यवस्थापन, खानाको गुणस्तर, पाहुना सत्कार, स्टेज, स्टल व्यवस्थापनका लागि आयोजकले कार्य विभाजन गर्दै विभिन्न उपसमिति तयार गरेको छ ।
नेपाली मेला हाम्रो पहिचानको उत्सव मात्र होइन आर्थिक अवसर पनि हो भन्दै आयोजकले गत वर्ष जस्तै समुदायको बाक्लो र उत्साहजनक उपस्थिति रहने विश्वास लिएको छ । बहुआयामिक प्रस्तुति र समुदायको एकताका लागि नेपाली मेलालाई व्यवस्थित र सफल बनाउन यूकेस्थित सम्पूर्ण नेपालीलाई जोडिन तमुधि यूकेले आग्रह गरेको छ ।
नेपाली मेला बेलायतको नेपाली प्रवासीमाझ निकै चर्चित छ । सन् २००० मा स्थापना भएको तमुधि यूकेले सन् २००९ देखि नेपाली मेला आयोजना गर्दै आएको छ । सन् २०१९ मा मात्र कोभिड महामारीका कारण रोकिएको नेपाली मेलाको यो १६औं संस्करण हो ।











प्रतिक्रिया