नेपाल–भारत सम्बन्ध : क्रिकेटले झन् कस्दै

940
Shares

नेपाल र भारतको सम्बन्धलाई देश–देशबीचको सम्बन्धभन्दा पनि जन–जनको सम्बन्धका रुपमा बढी हेरिने गरेको छ । सांस्कृतिक समानता र भौगोलिक निकटता छँदै छ । दुई देशका जनताबीच पारिवारिक सम्बन्धहरु प्रशस्त छन् । विनापासपोर्ट र भीसाविना सहज ओहोरदोहार मात्रले सम्बन्ध गाढा भएको होइन, दुई देशको सभ्यताको जरा एउटै हो । धर्म, संस्कृतिले दुई देशका नागरिकलाई जोडेको छ ।

राजनीतिक र सैनिक तहमा पनि पृथक सम्बन्ध छ । नेपाली सेनाका प्रधानसेनापति भारतको सेनाको मानार्थ महारथी र भारतका सेनाका सेनापति नेपाली सेनाका मानार्थ महारथी हुने परम्परा छ । जब–जब राजनीतिक तहमा समस्या आउँछ तब सैन्य तहको सम्बन्धले पनि समाधान निकालेका घटनाहरु छन् ।

नेपाल र भारतबीच खेलले पनि सम्बन्धलाई जोडेको छ । कुस्ती, कबड्डी, खो–खोजस्ता खेलहरु दुवै देशमा लोकप्रिय छन् । यी खेलहरुले पनि जनता–जनताबीचको सम्बन्धलाई कसिलो बनाएको छ । पछिल्लो समय क्रिकेटले दुवै देशको सम्बन्ध अझ प्रगाढ भएको छ । भारतमा क्रिकेट निकै लोकप्रिय छ ।नेपालमा पनि क्रिकेटको लोकप्रियता ह्वात्तै बढेको छ । खेल–संस्कृति सजिलै विकास भएको छ । यसले दुई देशको सम्बन्धको व्याख्यालाई अझ विस्तृत बनाएको छ । क्रिकेट कूटनीति नेपाल–भारत सम्बन्धलाई अझ कसिलो र प्रभावकारी बनाउने माध्यम बनेको छ ।

नेपालको क्रिकेट विकासमा भारतले महत्वपूर्ण सहयोग गर्दै आएको छ । क्रिकेट खेलाडीहरुलाई विशेष तालिमको छात्रवृत्तिदेखि क्रिकेट सामग्री सहयोगका रुपमा प्रदान गर्दै आएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले बैङ्गलोरस्थित बीसीसीआई सेन्टर अफ एक्सेलेन्समा २० अगस्टबाट ४ सेप्टेम्बरसम्म तालिम लिने तय भएको छ ।

आईसीसी पुरुष टी ट्वान्टी विश्वकप छनोटको तयारीका लागि यसलाई लिइएको छ । यो तालिमको सहजीकरण भारत सरकारले क्यान र बीसीसीआईसँगको सहकार्यमा गरेको हो । गतवर्ष नेपाल भ्रमणमा आउँदा भारतका विदेशमन्त्री एस जयशंकरले नेपाली राष्ट्रिय टोली र क्यानका अधिकारीलाई भेटेका थिए । नेपालको क्रिकेट क्षेत्रको प्रगतिको प्रशंसा गर्दै सहयोगको प्रतिबद्धता जनाएका थिए । नेपाली टोलीका लागि तालिमका क्याम्प, उमेर समूहमा क्षमतावान् क्रिकेट खेलाडी उत्पादनमा सहयोग गर्नेलगायतका प्रतिबद्धता जनाइएअनुसार कामहरु भइरहेका छन् ।

भारतले यु १९ महिना क्रिकेट टोलीका लागि पनि सहयोग गरेको छ । तीन नेपाली युवा क्रिकेट खेलाडी एक महिने तालिमको छात्रवृत्ति पाएर भारतमा तालिम लिइरहेका छन् । नेपाली महिला राष्ट्रिय खेलाडीहरुले यसै वर्ष दिल्लीमा विशेष तालिम प्राप्त गरे । विभिन्न समयमा भारतका तर्फबाट क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरिएको छ । सन् २०१३ मा क्यानले भारतका तर्फबाट बससमेत अनुदानमा प्राप्त गरेको थियो ।

भारतको आईपीएलमा खेल्ने सपना हुन्छ विश्वका हरेक क्रिकेट खेलाडीको । त्यस्तो सपना अहिलेसम्म नेपाली खेलाडी सन्दीप लामिछानेले मात्र साकार पारेका छन् । उनले दिल्लीबाट खेलेर शान, मान र धन आर्जन गर्न सफल भए । सन्दीप लामिछानेको नाम भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१८ मा नेपाल भ्रमणका दौरान लिए । उनले आईपीएलले नेपाल र भारतका जनताबीच सम्बन्ध अझ प्रगाढ बनाउन योगदान दिएको बताएका थिए ।

नेपाल भारतको निकै नजिकको मित्र हुँदै हो । भूगोल र संस्कृतिले समेत नजिक बनाएको नेपालको प्रगति भारतका लागि लाभदायक हुन्छ नै । नेपालमा विकसित भइरहेको क्रिकेट क्षेत्रलाई थप उचाइमा पु¥याउन भारतको सहयोग महत्वपूर्ण हुन्छ । नेपाली खेलाडीहरु आईपीएलजस्ता भारतको प्रतिष्ठित लिगहरुबाट खेल्न पाएमा सम्बन्ध अझ गाढा हुनपुग्छ । विगतमा सन्दीप लामिछानेले आईपीएल खेल्दा नेपालीहरुको भारतप्रतिको धारणा झन् सकारात्मक बनेको थियो । सन्दीपको खेल हेर्न बालकदेखि वृद्धसम्म नेपालीहरु आईपीएलको दर्शक बने । जनताबीचको सम्बन्धलाई खेलले अझ मजबुत बनायो ।
क्रिकेट विश्वकै लोकप्रिय खेलमध्येको हुँदै हो ।

दक्षिण एसियामा यसको विशेष महत्व छ । दक्षिण एसियामा क्रिकेट प्रतिष्ठा, राष्ट्रवाद मात्र नभई देश–देशबीचको सम्बन्धको माध्यम पनि बनेको छ । विगतमा भारत, पाकिस्तान र श्रीलंका क्रिकेट महाशक्तिका रुपमा परिचित थिए । पछिल्लो समय बँगलादेश र अफगानिस्तान क्रिकेटका बलियो शक्ति बनिसकेका छन् । नेपालले पनि क्रिकेटमा बलियो उपस्थिति देखाउन थालिसकेको छ । भारत र पाकिस्तानबीचको क्रिकेट प्रतिस्पर्धा रोचक र घोचक दुवै हुने गर्छ । प्रतिष्ठाको लडाइँका रुपमा प्रतिस्पर्धा हुने गर्छ यी दुई देशबीच ।

भारतमा क्रिकेटले त्यहाँको सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रलाई समेत प्रभावित पार्ने सामथ्र्य राख्छ । नेपालमा पनि क्रिकेटले सामाजिक र आर्थिक क्षेत्रमा मात्र नभई राजनीतिक क्षेत्रमा प्रभाव बढाउँदै लगेको छ । यो खेलमा लगानीको वृद्धिसँगै बढ्दो क्रेजका कारण बाह्य चासो पनि बढेको छ ।

क्रिकेट खेलले नेपाल र भारतको सम्बन्धलाई अझ मजबुत पार्ने दरिलो सेतुको भूमिका खेल्न सक्ने देखिइसकेको छ । क्रिकेटमा सहयोग आदानप्रदान चलिरहेको छ । दुई देशका खेलाडीहरुको ओहोरदोहोर चलेको छ । भारतका लोकप्रिय क्रिकेट खेलाडीहरु नेपालमा क्रिकेट लिग खेल्न आउन थालेका छन् । नेपाली क्रिकेट खेलाडीहरुले पनि आईपीएललाई सपनाका रुपमा हेरेका छन् । खेलाडीहरु तालिमका लागि जाने अवसर पाउन थालेका छन् । खेलाडी तहको यो सम्बन्धले दुई देशको सम्बन्धलाई अझ भावनात्मक बनाउन थालेको छ । नेपाली जनजनको मनमनमा क्रिकेट बस्न थालेको छ ।

भारतको लिगमा नेपाली क्रिकेट खेलाडीको निरन्तर सहभागिता हुने हो भने सम्बन्ध अझ गहिरो हुन पुग्दछ । जसरी सन्दीप लामिछाने खेल्दा दिल्लीको खेल हेर्न दशौं लाख नेपाली टेलिभिजन अगाडि हुन्थे त्यसरी नै आईपीएलमा फेरि नेपाली खेलाडी हुने हो भने नेपाली दर्शकमाझ क्रेज बढ्न सक्थ्यो । भारतप्रति नेपालीहरुमा अझ सकारात्मक धारणा विकास हुन सक्थ्यो । विगतमा मोदीले सन्दीप लामिछानेको नाम लिएपछि दिल्लीबाट मैदानमा उत्रिएको हेर्न पाए नेपाली दर्शकले । त्यो घटनाले मोदीको नेपालमा लोकप्रियता बढेको थियो । इतिहासको यो तथ्यलाई बुझेर प्रतिभाशाली नेपाली खेलाडीलाई भारतको प्रतिष्ठित क्रिकेट लिगमा स्थान दिने वातावरण बनाउन सके दुई देशको सम्बन्ध अझ प्रगाढ हुनसक्छ ।

भारतले खेलकुद कूटनीतिलाई नेपालसँगको साझेदारीको महत्वपूर्ण क्षेत्र भनी काठमाडौंस्थित राजदूतावासको वेबसाइटमै उल्लेख गरेको छ । त्यसमा पनि क्रिकेटको नाम नै छ । क्रिकेटमा सहयोग बढाउँदै लगेको छ । भारतीय राजदूतावासले प्रत्येक वर्ष क्रिकेट प्रतियोगिता नै आयोजना गर्न थालेको छ । बहुक्षेत्रमा क्रिकेटको क्रेज बढाउन र दुई देशको सम्बन्ध सुदृढ बनाउन यस्ता प्रतियोगिता सफल साबित भएका छन् । भारतले क्रिकेट कूटनीतिलाई महत्व दिएको व्यावहारिक कदमको सन्देश पनि हुनसक्छ यस्ता प्रतियोगिताको शुरुवात ।

योसँगै तालिम छात्रवृत्तिदेखि नेपाली राष्ट्रिय खेलाडीको खेलस्तर अझ सुधार्न सामग्री सहयोग पनि बढेको छ । यसले भारतप्रति नेपाली खेल क्षेत्रको दृष्टिकोण अझ सकारात्मक बनेको छ ।

एक्काइसौं शताब्दीमा देशहरुबीचको सम्बन्ध सुदृढीकरणको माध्यम आर्थिक र राजनीतिक क्षेत्रमा मात्र सीमित छैन । खेलले पनि दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउन सक्छ । कतिपय अफ्रिकी देशहरुको फ्रान्ससँग सम्बन्ध कसिलो हुनुमा फुटबल कूटनीति पनि हो । ब्राजिल, अर्जेन्टिनाजस्ता देशको युरोपसँगको सम्बन्ध कसिलो हुनुमा फुटबल कूटनीति पनि हो । खेल कूटनीतिको एक्काइसौं शताब्दीमा महत्वपूर्ण भूमिका रहन्छ ।

नेपाल र भारतबीच खेल कूटनीति चलिआएको छ । नेपालको तराई क्षेत्रको भारतको विहार र उत्तर प्रदेशसँग कुस्ती कूटनीतिको इतिहास लामो छ । कबड्डी कूटनीति पनि आजपर्यन्त चल्दै छ । नेपालमा लोकप्रिय बन्दै गएको क्रिकेटमा भारतको चासो र सहयोग दुई देशको सम्बन्धको दरिलो नयाँ सेतु बन्दै गएको छ । क्रिकेट कूटनीतिले जस्तोसुकै कठिन परिस्थितिमा पनि दुई देशको सम्बन्धलाई कसिलो बनाउने भूमिका निर्वाह गर्न सक्छ । खेल कूटनीतिले खेलाडीको ओहोरदोहोर दुवै देशमा हुन पुग्छ । दुई देशबीच खेल र खेलाडीका माध्यमले सम्बन्ध मजबुत बन्न पुग्छ ।