किर्गिस्तानमा घन्कियो : नेपालको मादल र सारङ्गी


नेपालको मादल, बाँसुरी र सारङ्गीको मिठो धुनले किर्गिस्तानको आकाश घन्किएको छ।
एभरेस्ट नेपाल कल्चरल ग्रुपले किर्गिस्तानको चोल्पोन अटे शहरमा सम्पन्न विश्व परम्परागत संस्कृति र संगीत महोत्सवमा नेपालको तर्फबाट आकर्षक प्रस्तुति दिँदै सबैको मन जित्यो। महोत्सवमा ५० भन्दा बढी देशका कलाकार सहभागी थिए।

नेपालबाट गएको टोलीको नेतृत्व डा. आरसी कोइराला ‘रामचन्द्र’ ले गरेका थिए। टोलीमा वरिष्ठ वाद्यवादक धनेश्वर तिवारी, बाँसुरीवादक राम भुजेल, सारङ्गीवादक खुम केसी र गायिका तथा मादलवादक रिता कुमारी बुढाथोकी सहभागी थिए। धनेश्वर तिवारीको अनुपम ताल, राम भुजेलको मधुरे बासुरी, खुम केसीको सारङ्गीको मार्मिक धुन र विशेष गरी रिता बुढाथोकीले प्रस्तुत गरेको मादल तालले दर्शकलाई मात्र हैन, कार्यक्रमका प्रमुख अतिथि किर्गिस्तानका संस्कृति मन्त्रीलाई समेत उठेर सम्मान गर्न बाध्य बनाएको थियो।

तीन दशकदेखि विश्वका विभिन्न देशमा नेपाली कला, संस्कृति र संगीतलाई चिनाउँदै आएको एभरेस्ट नेपाल कल्चरल ग्रुपले यस पटक पनि नेपालको गौरव बढाएको छ। कार्यक्रमकै क्रममा डा. कोइरालाले किर्गिस्तानका संस्कृति मन्त्री तथा आयोजकहरूसँग भेट गर्दै नेपालमा सांस्कृतिक पर्यटन प्रवद्र्धनका सम्भावना तथा भविष्यमा सरकारी र गैरसरकारी सहकार्यमा संयुक्त सांस्कृतिक कार्यक्रम गर्ने विषयमा छलफल गरेका थिए।