डब्ल्यूएचओद्वारा नेपालमा रुबेला निवारण भएको घोषणा

जनस्वास्थ्य क्षेत्रमा ऐतिहासिक सफलता

376
Shares

काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपालमा रुबेला रोग निवारण भएको औपचारिक घोषणा गरेको छ । खोप सेवामा गरिएको निरन्तर प्रयास र सामूहिक प्रतिबद्धताबाट सम्भव भएको यो उपलब्धिलाई नेपालका लागि जनस्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक सफलता मानिएको छ ।

रुबेला, जसलाई ‘जर्मन दादुरा’ पनि भनिन्छ, दादुराजस्तै देखिने तर गर्भवती महिलामा अत्यन्त जटिल असर पार्ने सङ्क्रामक रोग हो । यसका कारण गर्भपतन, मृत शिशु जन्मिने वा जन्मिएको बच्चामा जीवनभर रहने अपाङ्गता उत्पन्न हुन सक्थ्यो । तर, यो रोगलाई सुरक्षित र प्रभावकारी खोपमार्फत रोकथाम गर्न सकिन्छ ।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयकी कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले नेपालबाट रुबेला निवारण भएको घोषणा गर्दै यसलाई ‘शिशु र आमाका लागि सुरक्षित भविष्यको ग्यारेन्टी’ गर्नुभएको छ । उहाँका अनुसार, क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले पेस गरेको रोग निगरानी, खोप दर तथा प्रगति प्रतिवेदनको समीक्षा गरी नेपालले रुबेला पूर्णरूपमा निवारण गरेको प्रमाणित गरेको हो ।

नेपाल, डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको छ । यसअघि भुटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलंका र टिमोर–लेस्टे यस सूचीमा प्रवेश गरिसकेका थिए । क्षेत्रीय लक्ष्यअनुसार, सन् २०२६ भित्र सम्पूर्ण क्षेत्रमा दादुरा र रुबेला दुवै निवारण गर्ने योजना छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यो सफलता ‘राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिता र नेपालका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायको सामूहिक प्रयासको नतिजा’ भएको बताउनुभयो ।
‘अब कुनै पनि बालबालिका खोपबाट बचाउन सकिने रोगका कारण पीडित नहोऊन् भन्ने हाम्रो लक्ष्य छ’, मन्त्री पौडेलले भन्नुभयो– ‘यस उपलब्धिले हाम्रो स्वास्थ्य प्रणालीको आधारस्तम्भलाई अझ मजबुत बनाएको छ ।’

नेपालले सन् २०१२ मा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै रुबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो । सन् २०१६ मा यसको दोस्रो मात्रा पनि खोप तालिकामा थपियो ।
भूकम्प (२०१५), कोभिड–१९ महामारी (२०२०–२०२३) जस्ता चुनौतीबीच पनि नेपालले नियमित खोप अभियानलाई निरन्तरता दियो । विशेष गरी २०१२, २०१६, २०२० र २०२४ का रुवेला खोप अभियानहरूले जीवनरक्षक खोपको पहुँच विस्तारमा महत्वपूर्ण योगदान गरे ।

सन् २०२४ सम्ममा, नेपालले रुबेला खोपको पहिलो मात्रा ९५ प्रतिशतभन्दा बढी बालबालिकामा पु¥याउन सफल भएको थियो । साथै, ‘खोप महिना’, ‘खोज र खोप’ अभियानजस्ता नवीनतम पहलले छुटेका बालबालिकालाई समेटेर राष्ट्रलाई ‘पूर्ण खोपयुक्त’ घोषणातर्फ अघि बढाएको छ । रोग निवारणलाई दिगो बनाउन नेपालले हालै प्रयोगशाला परीक्षण प्रणालीलाई सबल बनाएको छ, जुन दक्षिण–पूर्वी एसिया क्षेत्रमा पहिलो मानिन्छ ।

यसले रोग निगरानीलाई अझ विश्वसनीय बनाउन सहयोग गर्ने बताइन्छ ।
डब्ल्यूएचओ नेपालस्थित कार्यालय प्रमुख डा. राजेश सम्भाजिराव पाण्डवले भन्नुभयो– ‘यो उपलब्धि सरकार, स्वास्थ्यकर्मी, साझेदार संस्था र समुदायबीचको बलियो सहकार्यको परिणाम हो । नेपालले हासिल गरेको यो सफलता दीर्घकालसम्म कायम रहोस् भन्ने हाम्रो प्रतिबद्धता छ ।’

सन् २०१३ मा डब्ल्यूएचओेले दादुरा नियन्त्रण र रुबेला निवारणको क्षेत्रीय लक्ष्य घोषणा गरेको थियो । प्रारम्भिक लक्ष्य सन् २०२० भए पनि कोभिड–१९ महामारीका कारण समयसीमा सरेर सन् २०२६ सम्म पु¥याइएको थियो । तर, नेपालले लक्ष्यभन्दा पहिल्यै रुबेला निवारण गरेर क्षेत्रीय स्तरमै अग्रणी भूमिका खेलेको छ ।
नेपालको यो सफलता न केवल खोप सेवाको प्रभावकारिता देखाउने उदाहरण बनेको छ, तर सार्वजनिक स्वास्थ्य सुरक्षामा सामुदायिक सहभागिता, सरकारको प्रतिबद्धता र अन्तर्राष्ट्रिय सहकार्य कत्तिको निर्णायक हुन्छ भन्ने प्रमाण पनि बनेको छ ।