१२ नेपालीको मृत्यु, दर्जनौंलाई देशनिकाला गर्ने तयारी


काठमाडौं ।

कुवेतमा विषाक्त मदिरा सेवनबाट १२ नेपालीसहित २३ जनाको ज्यान गएको घटनापछि अस्पतालमा उपचाररत् नेपालीहरूलाई अस्पतालबाट घर फर्कने बेलामा प्रहरीले नियन्त्रणमा लिएको छ । विषाक्त मदिरा सेवनका कारण बिरामी परेका ४० देखि ५० जना नेपालीमध्ये सोमबारसम्म २६ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् । तीमध्ये ११ जना आईसीयू वा भेन्टिलेटरमा रहेका छन् भने बाँकी सामान्य वार्डमा उपचाररत छन् ।

कुवेतस्थित नेपाली दूतावासका श्रमसहचारी गिरिप्रसाद आचार्यका अनुसार उपचारपछि निको भएका केही नेपालीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको पुष्टि भएको छ । उहाँले भन्नुभयो –‘कुवेतमा मदिरा पूर्ण रूपमा निषेधित छ । सेवनमात्र होइन, बेचबिखन पनि अवैध हो । अहिले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका नेपालीहरूलाई प्रहरीले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको छ ।’

कुवेतको आन्तरिक मन्त्रालयले विषाक्त मदिरा उत्पादन तथा वितरणमा संलग्न रहेको आरोपमा नेपालीसहित भारतीय र बंगलादेशी नागरिकहरू पक्राउ गरेका छन् । अस्पतालबाट उपचारपछि घर फर्काइएका विदेशीलाई पुनः कुवेत फर्किन नपाउने गरी देशनिकाला गर्ने तयारी भइरहेको कुवेती सञ्चारमाध्यमहरूले जनाएका छन् । सञ्चारमाध्यमहरूका अनुसार यसरी पक्राउ परेका व्यक्तिहरूलाई सामान्यतया पहिले केही समय हिरासतमा राखेर अनुसन्धान हुन्छ, त्यसपछि दोषी ठहर भए कारबाही वा प्रत्यक्ष देश निकाला गरिन्छ ।

कुवेतमा मदिरा उत्पादन र बिक्रीवितरणमा संलग्न भएको पाइए गरिने कारबाही कडा हुन्छ । त्यस्ता अभियोगमा पक्राउ परेकामाथि कुवेती कानुनअनुसार हत्यासम्मको अभियोग चल्न सक्ने प्रावधान रहेको द टाइम्स अफ कुवेतले उल्लेख गरेको छ । अर्थात् विषाक्त मदिरा सेवनबाट मानिसको ज्यान गएमा त्यसमा संलग्नलाई लामो सजाय वा आजीवन कारावाससम्मको सजाय हुनसक्छ ।

कति नेपाली निकालिन सक्छन् ?

हालसम्म कति नेपालीलाई देशनिकाला गरिने भन्ने स्पष्ट नभए पनि अनुसन्धानपछि दोषी ठहर भएका वा अवैध रूपमा मदिरा सेवन वा वितरणमा संलग्न प्रमाणित भएकाहरूलाई कुवेतले निकाला गर्ने तयारी गरेको छ । यसरी निकालिएका नेपालीहरूलाई भविष्यमा कुवेत फर्कन अनुमति दिइने छैन ।

उपचारमा रहेका सबै नेपालीको अवस्थाबारे जानकारी लिइरहेको जिकिर गर्दै श्रमसहचारी आचार्यले भन्नुभयो –‘हामीले प्रहरीसँग औपचारिक विवरण मागेका छौं । तर अहिलेसम्म ठ्याक्कै कति नेपालीलाई नियन्त्रणमा लिइएको हो भन्ने आधिकारिक जानकारी आएको छैन ।’

कुवेतको आन्तरिक मामिला मन्त्रालयले घरेलु मदिरा उत्पादन तथा वितरणमा संलग्न ६७ जनालाई पक्राउ गरेको छ । केही अवैध घरेलु उद्योगमा छापा मारेर बन्द पनि गरिएको छ । मन्त्रालयले विषाक्त मदिरालाई अत्यन्तै घातक भन्दै देशको सुरक्षा र जनस्वास्थ्यसँग खेलबाड गर्ने जोकोहीलाई कडा कारबाही गरिने चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनले पनि अवैध रूपमा उत्पादन हुने मदिरामा मेथानोल मिसावट हुने भएकाले यस्तो मदिरा सेवन नगर्न आग्रह गरेको छ ।

कुवेतमा मदिरा पूर्ण रूपमा निषेधित भए पनि विदेशी श्रमिकबीच अवैध सेवन र व्यापार हुने गरेको पाइएको छ । पछिल्लो घटनाले यस किसिमको अवैध गतिविधि नेपालीसहित श्रमिक समुदायका लागि कति घातक हुनसक्छ भन्ने देखाएको छ । प्रहरी अनुसन्धान अन्तिम चरणमा पुगेपछि कति नेपाली निकाला हुने र दोषीहरूमाथि कस्तो कारबाही हुने भन्ने औपचारिक विवरण आउन बाँकी छ ।