काठमाडौं
‘सहायता संकटपछिको अवस्थास् विखण्डित अन्तर्राष्ट्रिय मानवीय व्यवस्थामा साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ मेडिसिन्स सान फ्रन्टियर (एमएसएफ) अर्थात डक्टर्स विथआउट बोर्डर्सले सोमबार काठमाडौंमा तेस्रो दक्षिण एसियाली स्वास्थ्य तथा मानवता सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा विश्वव्यापी स्वास्थ्य सुरक्षा र मानवीय सिद्धान्त कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै स्वास्थ्य सेवा वितरणमा देखिएको उत्तरदायित्व संकटलाई केन्द्रविन्दुमा राखेर गम्भीर बहस गरिएको थियो ।

सम्मेलनको उद्घाटन सत्रमा एमएसएफ दक्षिण एशियाकी कार्यकारी निर्देशक डा. फरहत मंटूले यतिबेला विश्वमा जताततै द्वन्द्व चर्किरहेको र मानिसहरूलाई सबैभन्दा धेरै स्वास्थ सेवाको आवश्यकता परेको बेला अन्तर्राष्ट्रिय समुदायको मौनता र निष्क्रियता निन्दनीय रहेको टिप्पणी गर्नुभयो । स्वास्थ्य कुनै राजनीतिक विकल्प नभई मौलिक मानव अधिकार भएको जिकिर गर्दै उहाँले भन्नुभयो –’एमएसएफ सधैं नैतिका मूल्यमा आधारित, बिरामी केन्द्रित उपचारमा प्रतिबद्ध रहन्छ र सीमान्तकृत समुदायसँग उभिन्छ। विश्व मानवीय दिवसको पूर्वसन्ध्यामा, यो सम्मेलन सहकार्य, साझा साहस र स्थानीय यथार्थमा आधारित नेतृत्वको साँचो थलो बन्नुपर्छ।’

दक्षिण एसियाका १८० भन्दा बढी सार्वजनिक स्वास्थ्य विशेषज्ञ, नागरिक समाजका प्रतिनिधि, कानुन विज्ञ, र मानवीय क्षेत्रका अभ्यासकर्ताहरूको सहभागितामा रहेको उक्त सम्मेलनमा सामूहिक उत्तरदायित्व, असफल हुँदै गएको मानवीय संयन्त्र, र संकटग्रस्त अवस्थाहरूमा देखिने ‘हेरचाहको राजनीति’ विषयमा गम्भिर छलफल भएको थियो ।
कार्यक्रममा इन्हुरेड इन्टरनेसनल नेपालका संस्थापक अध्यक्ष डा. गोपालकृष्ण शिवाकोटीले द्वन्द्व, असमानता र एकताको ह्रासले उत्पन्न गरेको अस्थिरताले विशेषगरी विश्वका सबैभन्दा कमजोर समाजहरूमा मानवीय कार्यलाई ठप्प बनाएको बताए । उनले निष्पक्ष साझेदारी, सशक्त स्थानीय नेतृत्व र पारदर्शी शासनमार्फत विश्वास पुनःस्थापित गर्न आह्वान गर्दै भने- ‘आजका मानवीय चुनौतीहरूको व्यापकता र जटिलतालाई सामना गर्न केवल समावेशी अधिकारमा आधारित दृष्टिकोणले मात्र सक्षम हुन्छ।’

क्विन मेरी विश्वविद्यालय अफ लन्डनका नेभ गॉर्डनले द्वन्द्वरत क्षेत्रमा कार्यरत् चिकित्सकहरुका साथै निर्दोष नागरिकहरुको सुरक्षाका लागि अन्तरराष्ट्रिय कानुन मात्र पर्याप्त नहुने भन्दै राजनीतिक समाधानमा जोड दिए । उनले यसका लागि विश्वव्यापी रुपमा थप ऐक्यबद्धता जुटाउँदै नयाँ दबाब समूहहरु सिर्जना गुर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए ।

यस वर्षको सम्मेलन मानवीय वैधताको संकट र साझा जिम्मेवारी, द्वन्द्व तथा संकटमा प्रजनन स्वास्थ्य अधिकारको संरक्षण र समुदाय, नागरिक समाज र दक्षिण–दक्षिण क्षेत्रिय ऐक्यबद्धताको भूमिकागरी तीन मुख्य विषयवस्तुमा केन्द्रित रह्यो । यी बहसहरूले तटस्थता, कानुनी संरक्षण र मानवीय प्रणालीप्रतिको विश्वासमा आएको ह्रासको आलोचनात्मक विश्लेषण गर्दै समुदायमा आधारित नेतृत्व, नारीवादी वकालत र सीमा पारको सहकार्यमा आधारित नयाँ मोडेलहरू प्रस्तुत गरेको थियो।
सम्मेलनसँगै द्वन्द्वरत समुदायको संघर्ष र सहकार्यका कथाहरुलाई पनि दृश्यात्मक रूपमा प्रस्तुत गरिएको थियो ।












प्रतिक्रिया