मायाको अनेक रूप हुन्छ, जो नदेखिए पनि एक–अर्काबीच विनिमय भइरहेका हुन्छन् । जसमध्ये विपरीतलिङ्गीप्रतिको प्रेमलाई साहित्यको कारखानामा हालेर विभिन्न ग्रन्थहरू सिर्जना गरेको पाइन्छ । प्रेममा कति शक्ति हुन्छ भन्ने कुरालाई पे्रमान्ध जोडीको घटनाक्रमले देखाएको हुन्छ ।
त्यसै क्रममा गीतकारको रुपमा लोकप्रियता हासिल गरिसक्नुभएका कवि तथा साहित्यकार वसन्त चौधरीले करिब दुई दर्जन कृतिहरू गीत, कविता, निबन्ध, प्रबन्ध, दर्शनजस्ता ग्रन्थहरू प्रकाशित गर्नुका साथै हिन्दी, भोजपुरी, तामाङलगायत विभिन्न भाषामा पुस्तकसमेत निकाल्नुभएको छ भने उहाँको आख्यान विधामा ‘देवयानी’ नूतन कृति हो ।

सम्भ्रान्त र शिक्षित परिवारमा हुर्किएको एउटा पात्रले बाजेको खुशीलाई अक्षुण्ण राख्न गरेको निर्णय र नवयौवनासँग विवाहित पुरुषले गरेको प्रेम–कहानीको फेहरिस्त हो, देवयानी । जो आज्ञाकारी पात्रले बुबा–आमाको कुरा काट्न सक्दैन र सानै उमेरमा माधवीसँग विवाह गर्न बाध्य हुन्छ । समयको चक्रले आदित्य र माधवीबाट सुन्दर छोरीको जन्म हुन्छ, अदिति । जन्मेपछि कसैले उमेर थपिदिनुपर्दैन, आफैँ बढ्दै जाँदा स्कुल जान थाल्छिन् ।
देशको परिस्थिति बुझेर लेखकले अदितिलाई इन्डिया पढाउन घर सल्लाह गराउँछन् । दिल्लीको नामी स्कुलमा भर्ना गरी होस्टेलको जिम्मा लगाएको केही दिनमै आदिति त्यहाँ बस्न मान्दिनन् । आमा–बुबादेखि टाढा राखेपछि अबोध छोरीको बालमस्तिष्कमा परेको चोटलाई शिक्षाको रुपमा लिन सकिन्छ । आमा–बाबुको काख र माया पाउनुको सट्टा इन्डियामा एक्लै बस्नुपर्दा छोरीले फोनमा पोखेको कारुणिक पीडा र क्रन्दनले मर्माहत बनाउँछ ।
अदितिलाई फिर्ता ल्याउन बाध्य परेको प्रसङ्गले बच्चाको इच्छाविपरीत निर्णय लिँदा कस्तो असर पर्छ भन्ने बालमनोविज्ञानको सूक्ष्म पाटोलाई उजागर गरेको पाइन्छ ।
जिन्दगीको यात्रामा अनेकन मोडहरू आउने–जाने गर्दछन्, त्यसैको मेलोमा आदित्यको परिवारिक माहोल सलल बगेको छ, सुसंकृत छ । आदित्यको आफनै व्यापारिक कम्पनी छ, जहाँ समय खर्चिरहन्छन् । अत्यन्तै व्यस्त जीवन व्यतीत गरिरहेका आदित्य अन्जानमै रङ्गीन दुनियाँमा अल्मलिन थाल्छन्, जहाँ सुन्दर नवयुवतीसँग भेट हुन्छ । आदित्य कविहृदय भएको एक सफल व्यावसायी मात्र होइन तीक्ष्ण दिमाग भएको कुशल कम्पनी सञ्चालक पनि थिए ।
सबै क्षेत्रको अनुभव बटुलेका शालीन स्वभावका आदित्यले देवयानीलाई भेटपछिको कथानक प्रसङ्गले पाठकमा एकप्रकारको हुटहुटी जगाउँछ । देवयानी चित्रकार अनि नम्बर वान प्रोजेक्ट डिजाइनर थिइन् । अमेरिकामा अध्ययन गरेर कामको दौरानमा देश–विदेश पुगिसकेकी देवयानीसँग आदित्य आकर्षित हुँदै जानु सामान्य नै थियो, पुरुष मनलाई ।
बस्दा रहँदा जब दुवैबीच प्रेमको टुसा अङ्कुरिँदै हुँदै जान्छ । कुनै दिन नभेट्दा, नदेख्दा मनले एक–अर्कालाई खोजिरहन्छ । गाडीमा सँगै यात्रा गर्दा होस् या फिल्म हेर्ने सिलसिलामा, या त अफिस र व्यावहारिक कुराहरू जहाँ जे गरे पनि तन–मनले एउटै बाटो रोजेको पे्रमिल संवादको सौन्दर्यमा रस भरिएको छ, जसले तानिरहन्छ ।
मायाको डोरीमा कसिँदै गएपछि देवयानीले आदित्यलाई आफनाे अफिसमा बोलाएर माया साटासाट मात्र होइन, एक–अर्काबीच मडारिँदै बिताएका क्षणले दुई मुटु एक भएको देखाउँछ । आदित्यले मिल्ने साथीहरू रेणु र अनिललाई देवयानीसँगको सम्बन्घ सुनाउन सक्दैन । ठीक कि बेठीक, भित्रभित्रै पीडाबोध भइरहन्छ आदित्यलाई । देवयानीसँग रोमान्सका दिनहरू बिताउँदै जाँदा आदित्यको आन्तरिक कुराहरू महिला पात्रलाई थाहै नदिई चलाखीपूर्ण तरिकाले लेखिएको रहस्यमय कहानीभित्र पस्न झन् आतुर हुन्छ । तर एकदिन यस्तो समय आयो कि आदित्यले आफू विवाहित भएको सुनाउनुपर्ने भयो, तर देवयानीले मिडियाबाट सुनिसक्दा निकै ढिलो भइसकेको हुन्छ ।
त्यसैले दिवयानी भछिन्, ‘मलाई सबै थाहा छ । तिम्रो मुखबाट सुन्न परे मुटु चोइटिन्छ, बिन्ती मलाई केही नभन, जो म सुन्न नक्दिन ।’ प्रेमालु दुई पात्रले केही देख्न छाडे, रातमा पनि उत्तिकै कुरा गरिरहन्थे, फोनमा । श्रीमती माधवीले थाहा पाउँदै गएपछि हरेक रातका संवादहरू नोट गर्न थालिन् ।
एकदिन माधवीले साथीलाई त्यो डायरी देखाएपछि आदित्यको सबै कर्तुत थाहा पाई रेणुले पनि । दुवैको पे्रमसंवाद प्रमाणसहितको डायरी रेणुले आदित्यलाई जिम्मा लगाई । किनकि साथीको परिवार नबिग्रोस् भन्ने थियो । त्यसपछि आदित्य र देवयानीबीच हल्का मनमुटाव भएपछि देवयानी विक्षिप्त भइन् भने यता माधवीले मौन बसेरै श्रीमान्लाई सजाय दिएको लेखनशिल्प उम्दा छ ।
आदित्यबाट आदी र देवयानीबाट देवी नामले झन् नजिक भएपछि टाढाको एकान्तमा मनको गाँठो फुकाउँदै प्रेमालाप गरेका रसिक सौन्दर्यभित्र आख्यानकार पनि चुर्लुम्म डुबेको देखाउँछ । कुनै केटा वा केटीले मन पराउनासाथ प्रस्ताव राखेपछि पछुताउनुपरेजस्तो कथा छैन, यो लेखनीमा । अर्कोतिरबाट हेर्दा, एक–अर्कालाई बुझेर मात्रै प्रेममा जोडिनुपर्छ भन्ने आशयको प्रस्तुतीकरणले आजका युवायुवतीलाई उपयुक्त सन्देश हुन सक्छ ।
लेखकले दुवैलाई गहिरो प्रेममा फसाइसकेपछि आदित्यलाई बेलायत पठाएर यता देवयानी पात्रलाई आदित्यको अभावमा आकुलव्याकुल पारेर छट्पटी जगाउने यो ‘देवयानी’ उपन्यासले पाठकमा पनि प्रेमरस उपन्न गराउँछ । लेखनकला व्यापक छ । एकान्तको अम्बालिका मन्दिर प्रेमजोडीको उपयुक्त त्यो मुकाममा उपन्यासकारले पात्र–पात्रालाई पटक–पटक पु¥याउने गर्छ । कवि प्रभास र आदित्य एकै व्यक्ति भएको थाहा पाएपछि प्रभासको शुभचिन्तक देवयानी झन् प्रभावमा पर्छिन् । तर जति नै आलिङ्गनमा बाँधिएर प्रमिल कुरा गरे पनि कम्पनी, उद्योग र अफिसको जिम्मेवारीले बेलाबेला झसङ्ग हुनुबाट लेखक आफैँ आदित्य पात्र हो कि भन्ने प्रतीत हुन्छ ।
दुवैको भेट नभएपछि प्रविधि हुँदाहुँदै पनि चिठीपत्रको प्रयोग गरेर सन्तुलन मिलाउँदै लानु उपन्यासकारको सुन्दर पक्ष मान्न सकिन्छ । उमेर पुगेकी छोरीलाई घरबाट विवाहको दबाब नआएको होइन, तर आदित्य नै जीवनसाथी रहनेमा पक्का थियो देवयानीको । खकुलो हुँदै गएको मायालाई फेरि कसिलो बनाउँदै लान्छिन् र देवयानी सिङ्गापुर टे«निङमा जान्छिन् । सिङ्गापुरको बसाइमा ईशिता, अर्पिता र विक्रान्तजस्ता पात्रहरूसँग भेट हुन्छ र त्यो उमेर समूहको गफसँगै प्रेमप्रसङ्ग जोडिनु कुनै नौलो कुरा थिएन ।
विक्रान्त अलि खुलेर बोल्ने बिन्दास टाइपको भए पनि देवयानीलाई कताकता मन पराउन थाल्छ । एकदिन त मजाकैमा देवयानीलाई प्रपोज नै ठोक्छ तर स्वीकार्य हुँदैन देवयानीबाट । पछिबाट परिचय खुल्दै जाँदा सानोमा स्कुल पढ्दाको साथी भएको नातामा नजिकिन्छ । उता आदित्यले माधवीसँग सम्बन्धविच्छेद नगरेकोमा देवयानीलाई आदित्य निल्नु कि ओकल्नु हुन थालेको थियो ।
यता आदित्यले दुई डुङ्गामा खुट्टा राखेकोले जीवनलाई भड्खालोमा हाल्दै थियो । घरमा एक्लै धुमधुम्ती बसेको देखेर धेरै महिनापछि माधवीले पहिलोपल्ट श्रीमान्समक्ष मुख खोली, ‘आदित्य घरमा सबैलाई तनाव दिएर आप्mनो हेल्थ खराब गर्दै हुनुहुन्छ ? राति सुत्ने प्रयास गर्नुस् ।’
आदित्य, देवयानी र माधवी यी तीन पात्रहरूको वरिपरि अचम्मै गरी घुमाइरहन्छ । माधवीले कहिल्यै श्रीमान् आदित्यलाई नमीठो वचन गरिनन्, मौन रहिरहिन् । मौनतामा कति शक्ति हुन्छ भन्ने कुरामा, आदित्यले देवयानीसँग कुनै डिसिजन गर्नै नसक्ने हुन्छ । बरु रेणुले आदितिको जन्मदिन होस् या अरू कुनै बहानामा सरसल्लाह दिने गर्थी भने बहुविवाहको कुरासम्म उठाई । महिलामाथि पुरुषको एकल सोच र कानुनी कुरालाई पनि उठाएको छ भने बाबु भइसकेकाहरू परस्त्रीसँग कसरी फस्छन् या फसाइन्छ, के प्रेम गर्नु पाप हो त ? को दोषी हुन्छ ? प्रश्नको उत्तर पनि हो, यो उपन्यास ।
देवयानी सिङ्गापुरबाट नेपाल फर्केर अफिस जान थालिन् भने आदित्य इन्डिया पुगेका हुन्छन् । अब के हुन्छ ? भन्ने उत्कण्ठाले यस्तरी तान्छ कि कतिखेर पढी सकूँ लाग्छ । यता देवयानीको परिवारले छोरीलाई सौताको रुपमा देख्नुभन्दा डा. विक्रान्तसँग विवाह गरिदिने सोचले देवयानीको घरैमा छोरा लिएर पुग्छ । अब झन् के हुने हो ? यस्तो हुटहुटी जगाउँछ कि देवयानीले हतारहतार फोन गरेर आदित्यलाई नेपाल बोलाएर भेट गर्छिन् र अन्तिम निर्णयमा पुग्छिन् ।
आदित्यले माधवीसँग सम्बधविच्छेद नगरी देवयानीसँग अन्तै बस्ने भनेपछि देवयानी छुट्टिन बाध्य हुन्छिन् र विक्रान्तलाई अपनाउने अठोट गर्छिन् । आदित्य र देवयानीको प्रेम जुगौंजुगसम्म छुटिँदैनजस्तो लाग्ने लेखन प्रस्तुतिको अन्त्यतिर ठूलो झट्का दिन्छ । एकैचोटि झसङ्ग पार्ने लेखनशक्ति, जहाँ ठोकिन्छ । मिलनपछिको विछोडमा कति पीडा हुन्छ भन्ने निष्कर्षले कमजोर भाग्यमाथि दोष थोपरे पनि निर्दोष पात्र माधवीलाई न्याय दिलाएको कथावस्तु बेजोड छ ।
प्रेममय कहानीमा आधारित उपन्यास ‘देवयानी’ स्मृतिको सुन्दर सपना हो । दुई नारी पात्रबीच फसेको पुरुष पात्रको मनोदशा र नारीभित्र चलेको फरक–फरक अन्तरङ्गलाई वर्णन गरिएको छ ‘देवयानी’मा । वियोगान्त भए पनि प्रेमप्रसङ्गको घटना–परिघटनाले अन्त्यमा सकारात्मक सन्देश दिएको छ । भाषा र लेखनशैली सरल, सरस छ भने उपन्यासको आदिखण्डमा उमेरको उत्तार्धले विस्मृतिका पानाहरू पल्टाउँछ ।
जवानीको रङ्गबाट उठान गरेको कथानक प्रस्तुति कलात्मक छ । मध्यखण्डमा मायाले उमेर र सम्पत्ति चिन्दैन भन्ने दृष्टान्तलाई मूल पात्रहरू आदित्य र देवयानीको चरित्रले चित्रण गरेको छ भने माधवीलाई सोझी र गम्भीर प्रकृतिको पात्रमा चित्रित गरिएको छ, जसलाई ‘देवी’ भन्न मन लाग्छ, तर देवयानीलाई भनिन्छ ।
कथानक शृङ्खलामा कतै विचलन नदेखिए पनि वाक्यगत विन्यासमा कतैकतै ख्याल नपुगेको हो कि; अङ्ग्रेजीको प्रयोग कम गर्दा हुन्थ्यो कि; भन्ने लाग्छ, तर अहिलेको सामाजिक सञ्जाल वा प्रविधिको प्रयोग नगरी चिठी र डायरीको चलन ल्याउनु लेखकको अर्को विशेषता हो ।
बुढ्यौलीको सहारा आफनै मनसँग आदित्य ठोरीगाउँ पुगेर चियापसलेलाई भेटेर फर्केपछि जवानीको रङ्गीन संसारमा आँधीहुरी चलाए पनि सकुशल अवतरण गराउनु नै उपन्यासकारको सफलता हो । यथार्थका झीना–मसिना त्यान्द्राहरू लेखकले मिसाएका होलान् तर राष्ट्रियता नदुखोस् भन्ने कवि तथा आख्यानकार वसन्त चौधरीले स्वैरकल्पनामा लेख्नुभएको ‘देवयानी’ उपन्यास पठनीय र सङ्ग्रहणीय छ ।











प्रतिक्रिया