कवि तथा गीतकार प्रेम विनोद नन्दनको निधन


चितवन।

कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको आइतबार राति ९० वर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ। लामो समयदेखि स्वास्थ्य समस्या भोग्दै आएका नन्दन श्वासप्रश्वाससम्बन्धी रोगका कारण उपचाररत थिए।

वि.सं. २०११ मा ‘झटारो’ गीत सङ्ग्रह सार्वजनिक गर्दै नेपाली गीत–साहित्यमा प्रवेश गरेका नन्दनले गजल, कविता, काव्यदेखि गीतसम्म सिर्जना गरेका छन्। उनका ‘अञ्जली’ (२०२३), ‘सपनीवाट ब्यूँझेर’ (२०२३), ‘विपनीका पाइला’ (२०५२), ‘ऐनाभित्रको आकाश’ (२०६३), ‘सिद्धार्थको ग्रह त्याग’ (२०७४) र ‘पत्रम पुष्पम’ (२०७७) जस्ता कृति प्रकाशित छन्। उनका धेरै गीत चलचित्रमा समेत लोकप्रिय भएका छन्।

वि.सं. १९९२ जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मिएका नन्दन पछि चितवनको नारायणगढमा स्थायी बसोबास गरेका थिए। नारायणी कला मन्दिरका पूर्वअध्यक्ष रहेका नन्दन छिन्नलता गीत पुरस्कार, चिसाप प्रतिभा पुरस्कार, कृष्णकुमारी गुरुङ पुरस्कार, राष्ट्रिय स्रष्टा सम्मानलगायत धेरै पुरस्कारबाट सम्मानित भएका थिए।

उनको पार्थिव शरीरको आजै देवघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ। उनका श्रीमती , तीन छोरा र तीन छोरी छन्।