चारकोसे झाडी क्षेत्रमा मिचाहा प्रजातिका वनस्पति तीव्र गतिमा फैलँदा रौथाने वनस्पति र तिनमा आश्रित वन्यजन्तुको अस्तित्व संकटमा पर्न थालेको छ । चारकोसे जंगलमा सेतो वनकारा, जलकुम्भी, भुइँ वनमारा, हलहले झार र काँडे झारजस्ता बाहिरबाट आएका मिचाहा वनस्पतिले प्राकृतिक वनक्षेत्रलाई क्रमशः ढाक्दै लगेको छ । केही वर्षपहिले सीमित स्थानमा मात्र देखिएका यी प्रजातिका वनस्पति अहिले वन, घाँसेमैदान, खर्कलगायत क्षेत्रमा बढ्दै गएको स्थानीयको भनाइ छ ।
वर्षा लागेपछि सेतो वनकारा र लहरे वनमाराले जंगलको रुखबिरुवा र जमिन पूरै ढाक्ने गरेको बिहानी सामुदायिक वनका अध्यक्ष दिनेश थापाको भनाइ छ । वर्षाको पानी परेपछि जंगलमा उम्रिने मिचाहा लहराले स्थानीय बिरुवालाई उम्रिन दिएको छैन, उम्रेका बिरुवा पनि पोषण तत्वको अभावमा मर्न थाल्छन् । यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने रैथाने वनस्पति लोप हुने अवस्थामा पुग्छ ।
मिचाहा प्रजातिको वनस्पतिको समस्या सबैतिर गम्भीररुपमा बढ्दै गएकाले यसलाई वैज्ञानिक आधारमा प्रजातिको पहिचान र वर्गीकरण गरी तत्काल नियन्त्रण गर्नुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सीताराम पोखरेलको भनाइ छ ।
मिचाहा वनस्पति बढ्दै गएपछि चारकोसे झाडीमा बसोबास गर्ने चरा र जंगली जनावरको बासस्थान र आहार दुवै घट्दै गरेको स्थानीयवासी गोविन्द कार्कीले बताउनुभयो । उहाँका अनुसार पहिले देखिने रैथाने बोटबिरुवा, तिनमा बस्ने चराचुरुङ्गी हराउँदै गएका र बासस्थान एवं आहारा नपाएर खेतबारीसम्म पुग्ने गरेको बताउनुभयो ।
चारकोसे झाडीभित्र रहेका जलाशय र सिमसार क्षेत्रमा जलकुम्भी फैलिएपछि नियन्त्रण गर्न समस्या परेको छ । बाक्लो जलकुम्भीले पानीको सतह ढाक्दा घाम नलागेर माछा मर्ने र साना जलचरहरूको जीवनचक्रमा समेत समस्या हुने गरेको छ । त्यसै गरी खेतबारीमा फैलिएको तीतेपाती प्रजातिको मिचाहा झारले फसल उत्पादन घटाएको किसानको गुनासो छ । नेपालमा मिचाहा प्रजातिका वनस्पति कृषि बीउबिजन, हावा, नदी–खोलाको पानी, चराको विष्टा र फूलको बिरुवामार्फत भित्रिने गरेको विशेषज्ञहरूको भनाइ छ ।











प्रतिक्रिया