स्वास्थ्य पत्रकारका लागि तीन दिने ह्याप्पीनेश कोर्ष सम्पन्न


काठमाडौँ।

स्वास्थ्य पत्रकारहरुलाई मानसिक र शारीरिक उर्जा प्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिएको तीन दिने ह्याप्पीनेश कोर्ष शनिबार सम्पन्न भएको छ । आध्यात्मिक गुरु श्री श्री रवि शंकरले स्थापना गरेको आर्ट अफ लिभिङ फाउण्डेशनले आयोजना गरेको उक्त आधारभूत तहको ध्यान तालिम गत बिहीबारदेखि सुरु भएको थियो ।

आर्ट अफ लिभिङ नेपालका महासचिवसमेत रहेका यतिकेम डिस्ट्रीब्युटर्सका कार्यकारी अध्यक्ष प्रभुराज वैद्यको संयोजनमा सम्पन्न सो कोर्षमा प्रशिक्षक रितिका लोहिया र शरद भेषवाकरले स्वास्थ्य पत्रकारहरुलाई प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा बोल्दै वैद्यले जस्तै शरीरलाई स्वस्थ राख्न व्यायाम आवश्यक हुन्छ, त्यस्तै मस्तिष्कलाई सन्तुलित राख्न ध्यान अपरिहार्य हुने भन्दै सञ्चारकर्मीको तनावपूर्ण जीवनलाई व्यवस्थित बनाउन यो तालिम निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।

प्रशिक्षक लोहियाले श्री श्री रवि शंकरले प्रतिपादन गरेको सुदर्शन क्रियाले जीवनमा नयाँ दृष्टिकोण ल्याउने बताइन् । उनका अनुसार यो अभ्यासले सोच, व्यवहार र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएर व्यक्तिलाई आत्मविश्वासी र सृजनशील बनाउन सहयोग गर्दछ । नियमित अभ्यासले तनाव, थकान, निराशा लगायत नकारात्मक भावनाबाट मुक्त गराउने र शारीरिक तथा मानसिक दुवै किसिमले ऊर्जावान बनाउने अनुभव हुने उनको भनाइ थियो ।

कोर्षमा सहभागी पत्रकारहरुले समेत ध्यान अभ्यासपछि आएको परिवर्तनबारे आफ्ना अनुभव सुनाएका थिए । पत्रकार रामप्रसाद न्यौपानेले छोटो अवधिमा नै तालिमले सोचमा सकारात्मक प्रभाव पारेको भन्दै खुशी व्यक्त गरे । त्यस्तै भगवती तिमल्सिना, डीबी खड्का, सरोज ढुंगेल, बुद्धि कटेल, विष्णु नेपाल, यसिमा महत, सञ्जीता खनाल, शरद पोखरेल, विना न्यौपाने, नमराज भट्टलगायतले सुदर्शन क्रियाबाट पाएको नयाँ अनुभवबारे साझा गरे ।

यतिकेम तर्फबाट दिनेशराज पौडेलले समन्वय गरेको उक्त कोर्षमा २५ जना स्वास्थ्य पत्रकार सहभागी भएका थिए ।