जसपाको नेतृत्वमा विकास र समृद्धिको सम्भावना

658
Shares

यति बेला देशको अवस्था अस्थिर छ । जताततै अराजकता छ । त्यसैले आम जनतालाई देशको अवस्थाप्रति चित्त बुझेको छैन । देश चलाउन नजान्ने, देशको माया नभएका, जनताको माया नभएकाको हातमा देश पर्न गएकोले देश चिन्ताजनक अवस्थामा छ । देशका होनाहार युवालाई विदेशिन बाध्य पारेर केही दलले शासन सञ्चालन गरिरहेका छन् ।

देशमा उद्योगधन्दा, व्यापार, व्यवसायमा मन्दी आएको छ । मुलुकमा आम्दानीका स्रोतहरु सुक्दै गएको अवस्था छ । देशका शिक्षित वर्गले अनुभव र पढेर सिकेका विषय विदेशमा प्रयोग गरिरहेका छन् । उनीहरुको श्रम र सीप आफ्नो मुुलुकका लागि उपयोग हुन सकेको छैन । यस्तो अवस्थाप्रति ठूला भनिएका राजनीतिक दलहरुको ध्यान जान सकेको छैन ।

देशमा कुनै कलकारखाना, उद्योगधन्दा नभएकाले शिक्षित जनशक्तिले आफूले सिकेका सीप स्वदेशमा प्रयोग गर्न पाएनन् । राजनीतिक नेताहरु विदेशीको इशारामा चलिरहेका छन् । वैदेशिक नीति समान देखिँदैन । दुई देशको तरुलको रुपमा बसेको सानो देशलाई ठूला देशले थिचोमिचो गरेको अवस्था छ । राजनीतिक दलका प्रमुख नेताहरु देशको माया नगरी विदेशी दलाली गरेर पैसा आर्जन गर्ने धन्दामा लागेको देखिन्छ ।

विभिन्न सामाजिक संघसंस्था, अदालत, प्रहरी प्रशासन, विभिन्न कार्यालयहरुलाई मुठ्ठीमा राखेर आफू अनुकूल निर्णय गराइरहेका छन् । आफ्नो हैकम चलाइरहेका छन् । वडादेखि केन्द्रसम्मका जनतालाई विभिन्न प्रलोभनमा पारेर भोट बटुलिरहेका छन् । त्यसैले गरिब जनता बाँच्न सक्ने अवस्थै देखिँदैन । राज्यका विभिन्न क्षेत्रहरु बिचौलियाको हातबाट चलिरहेका छन् । न्याय पाउने ठाउँमा न्यायका लागि अनुरोध गर्न जाँदासम्म आर्थिक चलखेल भइरहेको अवस्था छ । त्यसैले गरिब जनता न्यायिक क्षेत्रबाट समेत विमुख हुनुपर्ने अवस्था आएको छ ।

त्यसैले देशको समग्र स्थिति दयनीय र चिन्ताजनक अवस्थामा पुगेको छ । देश सामाजिकरुपमा विकृत बन्दै गएको छ । यदि नेपाल देशले राम्रो अवस्था पाएको भए यो स्वीट्जरल्यान्ड बन्ने थियो । खालि ठूला दलहरुले प्रजातन्त्रको नाममा जनतालाई ठगे । अहिले पनि ठगिरहेका छन् । देशका युवाशक्तिलाई यहाँ काम गरेर नबसी विदेश जाने वातावरण निर्माण गरिरहेका छन् अनि यहाँ बसेका सोझा र निमुखा जनतालाई झुक्याएर भ्रष्टाचार गरिरहेका छन् ।

कलकारखाना बेचे, जताततै अराजकता निम्त्याए । सरसर्ती भन्नुपर्दा प्रमुख दलकै कारण देश असफलता उन्मुख छ । हरेक क्षेत्रमा प्रमुख दलका नेताहरुले जनता झुक्याएर लुटिरहेका छन् । त्यसैले प्रमुख दलका नेताले लुटेको सम्पत्ति जफत गर्नुपर्छ । सो सम्पत्तिलाई देश विकासमा लगाउनुपर्छ । प्रमुख दलका नेताहरु सत्तामा आउँदा सीमित उनका नेता कार्यकर्ता रमाए होलान् तर आम जनता खुशी भएको अवस्था छैन ।

प्रमुख दलका नेताहरुले गरेको काण्डको बेलिविस्तार लगाएर साध्य छैन । कसरी सत्तामा जाने र देश लुट्ने भन्ने मनसायमा मात्र ठूला दलका नेता लागका देखिन्छन् । यो अवस्थामा भन्ने हो भने, जनता समाजवादी पार्टी (जसपा) नेपाल सोझाहरुले भरिएको पार्टी हो । साथै देशभक्तहरुले भरिएको पार्टी हो । उपेन्द्र यादवजस्ता देशभक्त, जनभक्त नेता यही पार्टीमा रहनुभएको छ । त्यसो त जसपा नेपाल जन्मेदेखि नै राष्ट्रवादी पार्टी हो ।

अरु ओइलिएका पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने बुझेर नै यो पार्टीप्रति जनआकर्षण बढेको हो । अब देश जसपा नेपालको हातमा आउँदै छ भन्ने मलाई लागेको छ । देश र जनताको माया गर्ने, शिक्षित व्यक्ति, अनुभवले भरिपूर्ण भएको, स्थानीय जनताको समस्या बुझेको, निःस्वार्थ भावनाले देश चलाउनुपर्छ भन्ने असल भावना बोकेको व्यक्ति देशलाई आवश्यक छ । जसपा नेपालका नेताहरु यसमा पर्नुहुन्छ भन्न सकिन्छ । त्यसो त गाउँका गरिब जनताले दुई छाक खान पाएका छैनन् । नून पाएका छैनन्, तेल पाएका छैनन्, चामल पाएका छैनन् ।

गरिब जनताको सेवा गर्छु भनेर राजनीतिमा आएकाहरुले महल ठड्याए । उता चप्पल पड्काएर हिँड्ने नेताहरु पजेरोमा हिँड्छन् । यस्तो अवस्थामा वैकल्पिक पार्टीको आवश्यकता भएको महसुस धेरैले गरेका हुन सक्छन् । त्यसैले अबको विकल्प भनेको जसपा नेपाल हुन सक्ने देखिन्छ ।

नयाँ बजेट आउँछ । धनीलाई पोस्छन् । गरिब जनतालाई करमाथि कर थोपरिन्छ । कर्मचारीको तलब बढाइँदैन । हुँदा–हुँदा वृद्ध भत्ता पाउने उमेर पनि बढाए । त्यही वृद्ध भत्ताबाट गुजारा चलाइरहेका गरिब जनताले के गर्ने ? यसरी हेर्दा यस वर्षको बजेट पनि हरेक कोणबाट असफल देखिन्छ । यसको मार पर्ने भनेको गरिब–निमुखा जनतालाई नै हो ।

त्यसो त काग्रेस–कम्युनिस्टले जनता झुक्याएर जितेका छन् । जसपा नेपालप्रति जनताको सद्भाव र समर्थन हुँदाहुँदै पनि जनता कांग्रेस–कम्युनिस्टको सस्ता नारामा फसे । अब जसपा नेपाल जुनसुकै चुनावमा हार्नेछैन । यसको मिसन सफल हुँदै जानेछ । यस पार्टीका नेताहरुलाई मन्त्री, प्रधानमन्त्री बन्नुभन्दा पनि जनताको माया छ । जसपा नेपाल जन्मजात इमानदार, जनवादी पार्टी हो भन्ने धेरैलाई लागेको अवस्था छ । अब यो पार्टी कुनै पनि धम्कीबाट डराउनेवाला छैन ।

अब देशव्यापीरुपमा यस पार्टीको सङ्गठन बढ्दै छ, मजबुत हुँदै गइरहेको छ । अबका कुनै पनि चुनावमा यस पार्टीको जीत हुनेमा विश्वास गर्न सकिन्छ । वागमतीमा धेरै पानी बगिसक्यो । जसपाप्रति जनआकर्षण बढ्दै गएको छ । सडकमा नउत्रे पनि घरमै बसेर पनि यस पार्टीको आन्दोलन र कार्यक्रमहरुमा जनसमर्थन रहेको स्पष्ट छ ।

कुनै पनि बेला जसपा नेपालको समर्थनमा जनता मैदानमा उत्रनेछन् । त्यसैले अबको अवस्थामा यस पार्टीको आन्दोलन हरेक किसिमले सान्दर्भिक हुने देखिन्छ । यतिखेर यो पार्टी आन्दोलन गर्ने चरणमा छ । जसपाको संगठन पनि झन्–झन् बढ्दै छ । यसलाई अझ बढाउने अभियानमा यो पार्टी अघि बढिरहेको छ । यो पार्टीले सबै तह र तप्काका जनतालाई साथ दिन अपिल गरेको छ ।

(लेखक गुरुङ जसपा नेपालका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य हुनुहुन्छ ।)