गायिका कविता अर्यालको तीज गीत श्रीमानज्यू राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
नारी सशक्तिकरणको भाव बोकेको गीत प्रमूख अतिथी गायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीलगायतले सार्वजनिक गरेका हुन्। रायमाझीले पछिल्लो समय तीजका अवसरमा भड्कीला गीतले चर्चा कमाइरहेको समयमा मौलिक गीत सार्वजनिक भएको भन्दै खुशी व्यक्त गरे।
‘कुनै एक व्यक्ति वा संस्थाले मात्र सांगीतिक क्षेत्रमा भएको बिकृति हटाउन सक्दैन। त्यसको लागि प्रत्येक कलाकारले आफैंलाई सेन्सर गर्नु पर्छ’ उनको भनाई थियो। लोकप्रिय लोकगायक पशुपति शर्माले आजका श्रीमतीलाई घरमा मात्र सीमित बनाउन नहुने चर्चा गर्दै नारीको इच्छा बुझेर करिअर निर्माणका लागि श्रीमानहरुले पनि उत्प्रेरित गर्नु पर्नेमा जोड दिए।
अर्का लोकगायक बद्री पंगेनीेले गीत संगीतमा देखिएको विकृतिले सांगीतिक क्षेत्रलाई धुमिल बनाउने भएकाले फिल्ममा जस्तै सेन्सरसिपको आवश्यकता भएको धेरै अगाडिदेखि महसुस गरेको बताए। सार्वजनिक गीतका निर्देशक शंकर बिसीले गीतमा मौलिकता सम्बद्र्धन गर्नको लागि कुनै संस्थाको मात्र नभई सबैको दायित्व भएको जिकिर गरे।
गायिका कविता अर्यालले मौलिकतामा ध्यान दिएर सिर्जनाहरु सार्वजनिक गर्ने बताइन्। कार्यक्रमका सभापति तथा आयोजक संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले पहिले चेलीका वेदना तीजका गीतमा आउने गरेको तर अहिले उत्ताउला, उट्पट्याङ गीतलाई तीज गीतको नाम दिने गरिएको भन्दै त्यस्ता काम नगर्न अनुरोध गरे।
गीत गायिकाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। कविता अर्यालको स्वर रहेको गीतमा रमेश परियारको शब्द र संगीत तथा कृष्ण केसीको संगीत संयोजन रहेको छ। शंकर बिसीको निर्देशन र कोरियोग्राफीमा तयार भएको भिडियोमा लोसिना लामिछानेले कम्मर मर्काएकी छिन्। दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई नविन घर्तीले सम्पादन गरेका छन्।











प्रतिक्रिया