नेपालमा स्ट्रोक शिखर सम्मेलन : नेपाली चिकित्सकका लागि नयाँ आयामका बारेमा सिक्ने अवसर


काठमाडौं ।

नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक समिट आयोजना भएको छ । नेपाल पक्षघात संघले नेपाल स्ट्रोक प्रोजेक्टसँगको सहकार्यमा दुईदिने सम्मेलनको आयोजना गरेको हो ।

पहिलो दिनको वैज्ञानिक सत्रको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यस्तो सम्मेलनले नेपाल र नेपाली चिकित्सकहरुका लागि नयाँ आयामका बारेमा सिक्ने अवसर प्रदान गर्ने बताउनुभयो ।

सोही अवसरमा प्रोटोकल बुक प्रमुख अतिथि पौडल लगायतका सहभागीले संयुक्त रूपमा बिमोचन गर्नुभएको थियो । सोही अवसरमा विश्व स्ट्रोक एसोसियसनका अध्यक्ष जयराज पाण्डिआनले अर्बान एरियामा २९ प्रतिशत स्ट्रोकका बिरामी रहेको बताउनुभयो ।

नेपाल पक्षघात संघका अध्यक्ष एवम् वरिष्ठ न्युरोलोजिस्ट डा. राजु पौडेलले नेपाल स्ट्रोक एसोसियसनको गतिविधिका बारेमा जानकारी गराउनुभयो । उहाँले सरकारी अस्पतालमा स्ट्रोकको निःशुल्क उपचार हुनुपर्छ अनि मात्र बिरामी घटाउन सकिन्छ भन्नुभयो । हरेक प्रदेशमा एउटा स्ट्रोकको उपचार हुने अस्पताल, जनशक्ति, उपकरण हुनुपर्नेमा उहाँले जोड दिँदै एसोसियसनले एड्भान्स सेन्टर राख्न सल्लाह दिनुभयो ।

सहभागीले विज्ञले नेपालले गरेको कामको प्रसंसा गरेका थिए । सम्मेलनको पहिलो दिनको वैज्ञानिक सत्रमा २८ जना अन्तर्राष्ट्रिय र ३२ जना राष्ट्रिय विज्ञहरुले प्रस्तुति दिएको डा. पौडेलले बताउनुभयो । उहाँका अनुसार क्लिनिकल प्रगति, अनुसन्धान अद्यावधिक तथा नीतिगत दिशा–निर्देशनलगायतका कुराहरु समेटिएको छ ।

त्यस्तै, दोस्रो दिन भने सीपमा आधारित तालिम तथा कार्यशालाहरू हुने जनाइएको छ । जसमा एनआइएच स्ट्रोक स्केल (एनआइएचएसएस) स्ट्रोक अनुसन्धान विधि, थ्रोम्बोलाइसिस, मेकानिकल थ्रोम्बेक्टोमी, बोटोक्स थेरापीका साथै मौखिक र पोस्टरको प्रस्तुतिकरण हुने प्रस्तुतिसमेत हुनेछन् ।

नेपालको स्ट्रोकको वास्तविक अवस्थालाई प्रस्तुत गर्न र यससम्बन्धी चासोलाई उजागर गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको डा. पौडेलले जानकारी गराउनुभयो ।